-->
हिरो बन्ने अवसर यसरी गुमाए ओलीले

काठमाण्डु, ६ साउन– संविधान जारी भएदेखि सरकारको नेतत्व सम्हालेसम्म राजनीति जीवनमा आफूले प्राप्त गरेका सम्पूर्ण उपलब्धि गुमाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने भएको छ ।
आफ्नै कारण ओलीले यो अवसर गुमाएका हुन्। आफू प्रधानमन्त्री नरहने भएपछि त्यसलाई कम क्षति गराउनुभन्दा पनि उनले सम्पूर्णरुपमा मुठभेडको स्थितिमा राजनीतिलाई धेकेले । यो परिस्थितिले सबैभन्दा खुसी तिनैलाई तुल्याएको छ, जो संविधान र पछिल्ला परिवर्तनप्रति खुसी थिएनन् ।
त्यतिमात्र होइन, संविधानको पूर्ण कार्यान्वयनका निम्ति कांग्रेस, एमाले र माओवादी केन्द्रबीच हुनु पर्ने सहमतिको वातावरण पनि सम्पूर्ण रुपमा धुमिल भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालदेखि बामदेव गौतमसम्मलाई राम्रैसँग थाहा छ– बजेट ल्याएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको जिम्मेवारी दिने भद्र सहमति भएको थियो ।
गौतमले त सार्वजनिक रुपमै यसबारे बोलेका थिए। पछिल्लोपटक प्रचण्डसँग प्रधानमन्त्री छाड्ने विषयमा सहमति हुँदा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, एमाले नेता नेपाल समेत थिए । अझ गौतमले त प्रधानमन्त्री छाड्ने विषयमा कागज नै तयार पारेर ल्याएका बेला ओली रिसाएको समेत नेताहरुले बिर्सेका छैनन् । पछि आपसमा भएको भद्र ‘सहमति’ का आधारमा बजेटपछि दाहाललाई छाड्ने निश्चित भएको थियो ।
ओलीले त्यो सहमति पालना गरेका भए एमालेलाई अहिले सबैभन्दा कम क्षति हुने थियो । एमालेले गुमाउने भनेको प्रधानमन्त्री पद मात्र हुन्थ्यो तर सरकारका प्रभावशाली मन्त्रालयको जिम्मा लिएर सरकारमा रहिरहन सक्ने थियो । अझ ओलीले प्रधानमन्त्रीका रुपमा चीनसँग गरेका सम्झौता कार्यान्यवन र भारतसँग सम्बन्धमा राखेका अडानमा पनि नयाँ प्रधानमन्त्री दाहाललाई निरन्तर दबाब दिइरहन सक्ने थिए ।
काँग्रेस जहिल्यै शालीन प्रतिपक्षका रुपमा रहन सक्छ । दाहाल नेतृत्वमा एमालेसहितका दल सरकारमा भए पनि काममा काँग्रेसले खासै दबाब दिन सक्ने थिएन । यो स्थितिमा दलहरुबीच नमीठो वातावरण बन्ने थिएन । माओवादी केन्द्रका अध्यक्ष दाहाल नयाँ बजेट आएपछि त्यसलाई पारित हुने बेलासम्म प्रतीक्षा गरिरहेका थिए । तर, ओलीबाट सरकारको नेतृत्व हस्तान्तरण नहुने देखेपछि अप्रिय निर्णय लिन बाध्य भएको देखिन्छ ।
नागरिक दैनिकबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.