-->
‘अब विप्लवलाई जिन्दगीभर समर्थन हुँदैन’

काठमाडौं, जेठ २७ – ‘अबदेखि जिन्दगीभर विप्लवलाई समर्थन गर्दिन, मेरो एक वर्ष गुम्ने भयो । नागरिकलाई सुख दिन नसके दुःख चाँही नदिनु नि !’ बिहान १२ बजेको मध्ये घाममा आफ्नो गन्तव्यतर्फ लम्कँदै गरेका किरण शाहले बन्दको आक्रोस पोख्नुभयो ।
उहाँको बिहीबार अर्थात विप्लव माओवादीले गरको नेपाल बन्दको दिन परीक्षा छ । शाह विएसी तेस्रो वर्षको परीक्षा दिन कीर्तिपुरबाट लैनचौरमा रहेको सरस्वती क्यापसतर्फ जाँदै हुनुहुन्थ्यो । उहाँको १ बजे परीक्षा छ, समयमै पुग्छु, पुग्दिन उहाँलाई पनि थाहा छैन । वर्ष दिनभरिको कमाइ एक दिनको बन्दले स्वाहा पार्ने चिन्ता उहाँलाई छ ।
‘गएको वर्ष एउटा विषयको तयारी पूरा नभएर परीक्षा दिइन । आज विप्लवको बन्दले गर्दा परीक्षा नै छुट्ने भयो । पहिलाको बन्दमा ट्याक्सी त चल्थे, आज त ट्याक्सी पनि चल्दैनन्’ हातमा नोट कपी लिएर घोक्दै फटाफट लम्केका शाहले निराश मुद्रामा आफ्नो दुखेसो पोख्नुभयो । बन्दले गर्दा शाह जस्ता धेरै नागरिकलाई हैरानी पारेको छ । बन्द नहुँदा तीन किलोमिटर पनि नहिड्ने उपत्यकाबासी बन्दको लामो बाटो पनि हिडेरै पुग्ने आशामा हिँडेका छन् ।
गिरफ्तार गरिएका आफ्ना नेता, कार्यकता तथा भ्रष्टाचार र महँगीको विरुद्ध भन्दै विप्लव माओवादीले आह्वान गरेको बन्दले राजधानीलगायत विभिन्न ठाउँमा बन्दको प्रभाव परेको छ । सडकमा बन्दकर्ता नदेखिएपनि फाट्टफुट्ट रुपमा मात्र निजी गाडी चलेका छन् । सार्वजनिक गाडी नचल्दा उपत्यकाबासी हिँडेरै आफ्नो गन्तव्यतर्फ लम्कदैं छन् । यसरी जेठको मध्य घाममा यात्रुहरु बन्दकर्तालाई सराप्दै, विरोध गर्दै गन्तव्यतर्फ हिँडेका छन् ।
विप्लव माओवादीले गरेको बन्द भनेपनि कतिपयलाई कसले बन्द गरेको थाहै छैन । उनीहरु जसले बन्द गरेको भएपनि यस्ता बन्द नभए हुन्थ्यो भन्नेमा छन् । कालिमाटीदेखि हिँड्दै धोवीघाट पुग्नुभएका गणेश बजगाइँ बन्दले गाडी मात्र बन्द होइन जिन्दगीका ढोका सबै बन्द हुने बताउनुहुन्छ । बन्द भएपछि विद्यार्थीले स्कुल जान नपाउने, व्यापार व्यावसाय बन्द हुने र लाखौँ घाटा हुने भएकाले बन्द सधैँका लागि बन्द गर्नु पर्ने उहाँले बताउनुभयो ।
बन्दका बेला मध्ये घाम पनि नभनी विद्यार्थीहरु फुटबल, क्रिकेट खेल्नमा व्यस्त छन् । अघिपछि स्कुल कलेजमा बित्ने दिनहरु बन्दको बेलामा आफ्ना साथीहरुसँग खेल्दै आनन्दले बितेका छन् ।
बन्दको बेला कीर्तिपुरका फुटबल खेलिरहेका नरेन्द्र आरसीलाई भने कहिले काँही हुने बन्दले मजा आउँछ । ‘कहिले काँही त बन्द हुनुपर्छ, बाटोले पनि थकाइ मार्छ, हामी पनि खेल्न पाउछौं ।’ राजनीतिमा चासो नराख्ने उहाँ जसले जे माग राखेर बन्द गरेपनि बन्द शान्तीपूर्ण हुने पर्ने बताउनुहुन्छ ।
यसरी नागरिकले बन्दका कारण दुःख पाउँदा बन्दकर्ता चाही के भन्छन् त ? बन्द गर्दै हिँडेका ललित विक भन्नुहुन्छ, ‘सडकमा हेर्नुस् बन्दकर्ता एक दुई जना मात्रै छन् । बन्दमा सबै नागरिकको समर्थन छ । हामीले दबाब नदिकन नागरिक आफैले बन्द गरेका छन् । जनताले बुझेका छन् । यो बन्द हाम्रै लागि हो ।’
बन्द गर्ने बन्दकर्ताका आफ्नै तर्क छन् । नागरिकका आफ्नै गुनासा छन् । जे भएपनि बन्दले कसैलाई फाइदा पुग्ने देखिँदैन । नागरिक पनि जसले गरेको बन्द भएपनि बन्द सधैँका लागि बन्द हुनु पर्ने माग छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.