-->
लमजुङका सरकारी कार्यालयबाट ९२ प्रतिशत सेवाग्राही सन्तुष्ट !

बेसीशहर, १६ जेठ । जिल्लामा रहेका सरकारी कार्यालयहरुको सेवा तथा भौतिक सुविधाबाट ९२ प्रतिशत सेवाग्रही सन्तुष्ट गरेको सर्वेक्षणले देखाएको छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङले जिल्लाका सरकारी कार्यालयहरुमा गरेको सेवाग्राही सन्तुष्टी सर्वेक्षणमा ९२ प्रतिशत सेवाग्राही सन्तुष्ट रहेको देखाएको हो ।
सर्वेक्षणले ८ प्रतिशत सेवाग्राही कार्यालयमा नागरिक बडापत्र नहुनु, भौतिक सुविधा, सेवाशुल्कको विषयमा असन्तुष्ट रहेको देखाएको छ ।
यस्तै जिल्लाका सरकारी कार्यालयहरुको व्यस्थापन परिक्षण स्
तर ८४.१९ प्रतिशत देखिएको सर्वेक्षणले देखाएको छ । कार्यालय व्यवस्थापन परिक्षणमा सबै भन्दा राम्रो जिल्ला प्रहरी कार्यालय र सिञ्चाई डिभिजनको ९६ प्रतिशत छ भने केही सुधार गुर्नपर्नेमा जिल्ला सरकारी वकिल र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको रहेको छ । उनीहरुकोे व्यवस्थापन परिक्षण स्तर ६५ प्रतिशत रहेको छ । कार्यालयले प्रदान गर्ने सेवा सुविधाबारे जिल्लामा पहिलो पटक सेवाग्राहीसँग मत लिइएको हो ।
प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जिल्लामा सुशासन कायम गर्न र कार्यालयले दिने सेवा सुविधाबारे सेवाग्राहीको मत बुझ्न यस्तो सर्वेक्षण सुरु गरिएको बताउनुभयो । ‘सरकारी कार्यालयले सेवाग्राहीलाई सन्तुष्टी दिने हो । त्यसो हुन सकेको छ की छैन विश्लेषण गर्न सुरुवात गरिएको हो ।’, प्रजिअ जिसीले भन्नुभयो, ‘यो पहिलो प्रयास हो । यसलाई अझ प्रभावकारी बनाउन सबैको सहयोग चाहिन्छ ।’ उहाँले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज सबैलाई सरकारी कार्यालयको सेवा प्रवाह प्रभावकारी बनाउन झकझाउन सुझाव दिनुभयो ।
जिल्लामा ४५ वटा सरकारी कार्यालयहरु रहेपनि १२ वटाले मात्र सर्वेक्षण फर्म भरेर पठाएका थिए । प्रजिअ जिसीले एक महिना अघि सबै कार्यालयलाई सर्वेक्षण फारम सहित पत्र पठाइएपनि १२ वटा कार्यालयले मात्र समयमै भरेर पठाएको बताउनुभयो ।
कार्यालयले भरेर पठाएका सेवाग्राही सन्तुष्टी फारमलाई स्टाफ कलेजमा अधिकृत तहको सेवाकालिन तालिम लिइरहेका कर्मचारीहरु पवन गुप्ता, गणेश घिमिरे, सन्तोष पौडेल र गोपाल श्रेष्ठले विश्लेषण गरेका थिए ।
सर्वेक्षण फारममा कार्यालयबाट सम्पादन हुने काम, लाग्ने समय, दस्तुर, प्रक्रिया, नागरिक बडापत्र अध्ययनबारे सेवाग्राहीको मत लिइएको थियो । यस्तै कार्यालयको भौतिक पूर्वाधार, शौचालय, परिसर, क्यान्टिन, कर्मचारीको सेवाग्राहीप्रतिको व्यवहार, कर्मचारीको पहिचान खुल्ने पोशाक, परिचयपत्र लगाए÷नलगाएको, गुनासो सुनुवाईको व्यवस्था, कार्यालयको समग्र काम कारबाही, सेवाप्रवाह, कार्यालयको कामको स्तर निर्धारणबारे मत लिइएको थियो ।
यस्तै कार्यालय व्यवस्थापन परिक्षण तर्फ कर्मचारी विवरण, सार्वजनिक सुनुवाई गरे नगरेको, सफ्टवयरको प्रयोग, सामाग्रीको लिलाम प्रक्रिया, गुनासो सुनुवाई प्रक्रिया, कर्मचारीलाई कार्यविवरण दिए÷नदिएको आदि विषयमा मत लिइएको थियो ।
सर्वेक्षण विश्लेषण गरेका कर्मचारीहरुले स्पष्ट मापदण्ड तथा सुचक नहुँदा हरेक प्रश्नलाई बराबर अंक निर्धारण गरी सेवाग्राहीको सुन्तुष्टीको विश्लेषण गरिएको बताएका छन ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वेक्षण प्रस्तुतिकरण कार्यक्रममा नेपाली काँग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल, नेकपा एमाले लमजुङका अध्यक्ष धनञ्जय दवाडी, नेकपा माओवादी केन्द्र लमजुङका संयोजक पारशमणि पौडेल, राप्रपा अध्यक्ष बालचन्द्र श्रेष्ठ, स्थानीय विकास अधिकारी शेखर पौड्याल लगायत विभिन्न सरकारी कार्यालय, गैसस, सुरक्षा निकाय, सञ्चारकर्मी आदिको उपस्थिति थियो ।
तपाईंको प्रतिकृया जनाउनुहोस्


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.