-->
बेंसीसहर–चामे मार्ग पहरा खोपेर बनाइएका जोखिमपूर्ण बाटो!!

जेष्ठ २१, २०७३- वर्षा सुरु हुनै लाग्दा जिप लिएर मनाङ जाने चालकलाई यतिखेर भ्याइनभ्याई छ । लमजुङ बेंसीसहरबाट सदरमुकाम चामे हुँदै अन्तिम गाविस खाङसारसम्म पुग्ने जिपको लर्को छ ।
बाँदर लड्ने भीर–पहरामा गाडी चलाउनुपरे पनि चालकहरू खुसी छन् । किनकि, कमाइ मनग्य छ । जाँदा दैनिक उपभोग्य वस्तु र अन्य सामान लैजान्छन् भने फर्कंदा विदेशी पर्यटक पाउँछन् ।
भीरको बाटोमा मोटर जाने भयो रे…
गैरी गाउँको सामान बोकेर लाने भयो रे…
यस्तै गीत घन्काउँदै चालकहरू दिनरात भीरको बाटो गाडी कुदाइरहेछन् । हतारो र भ्याइनभ्याई यस कारण पनि छ कि, केही दिनमा वर्षा लागेपछि यो बाटो गाडी गुड्न सक्दैन ।
र, मनाङमा गाडी चल्दैन । त्यसबेला कच्ची सडक बिग्रने भएकाले लमजुङको सांगेसम्म मात्रै हो, यातायातका साधन चल्ने । हुन त, बेलाबेलामा हिमपातका कारणले पनि सडक अवरुद्ध हुन्छ ।
बेंसीसहर–चामे सडकमा दैनिक ६० देखि सय हाराहारीमा साना सवारी आवतजावत गर्छन् । सडकमा पर्ने तिमाङ, म्यादी र क्याम्पे जस्ता खतरनाक पहरा काटेर बनाएको सडकमा गाडी गुडाउने आँटिला चालकको कमाइ पनि राम्रै भइरहेको छ ।
‘जति कठिन अवस्था हुन्छ, त्यति नै बढी रकम कमाइ हुन्छ,’ मनाङका सडकमा तीन वर्षयता जिप चलाउँदै आएका लमजुङ भुलभुले निवासी ग१ज ४३५९ का चालक चक्र गुरुङले भने ।
अरू ढुवानीका साधन ट्रयाक्टर र ट्रकमा सुविधाजनक यात्रा नहुने भएकाले मनाङमा व्यापारीको रोजाइ जिप नै हो । यात्रुलाई पनि हुने र सामान ओसार्न पनि मिल्ले भएकाले केही व्यापारीले जिप किनेका छन् ।
आर्थिक वर्षको अन्त्य हुन लागेकाले विकास आयोजनाका निर्माण सामग्री ढुवानी गर्न पनि उपभोक्ता समिति र ठेकेदारलाई चटारो छ ।
दैनिक उपभोग्य सामानका साथै निर्माण सामग्रीको ढुवानीले जिपले राम्रो कमाइ गरिरहेका छन् । बेंसीसहरबाट चामेसम्मको ६३ किलोमिटर सडकमा एक यात्रुको भाडा हजार रुपैयाँ र चामेबाट खाङसारसम्मको हजार रुपैयाँ लिइन्छ ।
एउटा जिपले एकैखेपमा ४० हजार रुयैयाँ कमाउँछ । २०६९ चैत महिनामा नेपाली सेनाले निर्माण गरेको सडक सञ्जालले छोएपछि ढुवानी सहज भएको हो ।
मनाङ सबैभन्दा कम जनसंख्या भएको जिल्ला हो । पर्यटनले उकासिएको यो जिल्लाको १३ गाविसमा जम्माजम्मी साढे ६ हजार जनसंख्या भए पनि वर्षभरि बसोबास गर्ने जनसंख्या आधा पनि छैन । घ्यारु गाविसभरिमा बसोबास गर्नेको संख्या ५० पनि छैन ।
धान नफल्ने हिमालपारिको जिल्ला मनाङमा सम्पूर्ण खाद्यान्न, तरकारीलगायत अन्य वस्तुका लागि छिमेकी लमजुङ र अन्य जिल्लाको भर पर्नुपरेको पिसाङस्थित होटलका सञ्चालक पशुपति अधिकारीले बताए । जिल्लामा उवा, फापर, आलु, जौ, स्याउ र तल्लो भेगमा मकैबाहेक अरू उत्पादन हुँदैन ।
‘हरेक होटलमा बास्नादार मसिनो चामल र पर्यटककै मागबमोजिमका परिकार बनाउनुपर्ने भएकाले खाद्य संस्थानको चामल विकास निर्माणमा आएका अन्य मजदुरले मात्रै प्रयोग गर्छन्,’ जिल्लास्थित उद्योग वाणिज्य संघका अध्यक्ष राजन श्रेष्ठले भने, संस्थानका प्रमुख रामचन्द्र खनालका अनुसार जिल्लामा आएको ३ हजार क्विन्टलमध्ये सदरमुकाममा ४ सय र जिल्लाका अन्य डिपोहरूमा ६ सय गरी हजार क्विन्टल चामल बिक्री भएको छैन ।
‘काठमाडौंको ठमेल र पोखराको लेकसाइडमा जे–जे प्रकारका खानाका परिकार पाइन्छ मनाङमा पनि त्यही पाइन्छ, पर्यटक उनै हुन्,’ अध्यक्ष श्रेष्ठले भने ।@कान्तिपुरमा


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.