नुवाकोट, २२ जेठ । स्थानीय गाउँलेहरु मिलेर गोरु काटिरहेको समयमा पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि नै नुवाकोटमा आक्रमण भएको छ । मासु खानका लागि गोरु काटिरहेको सूचनाको आधारमा सामरी गाविसमा पक्राउका लागि पुगेको प्रहरी टोलीमाथि त्यसमा संलग्न व्यक्तिहरुले घरेलु हातहतियार प्रहार गरेका हुन् ।
प्रहरीलाई घरेलु हतियार प्रहार गर्न खोज्ने सामरी–५ पुरानोपानी बस्ने ४३ वर्षीय सोभेर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङ समुदायको बसोवास रहेको सामरी–५ पनेरा र पुरानोपानी भन्ने स्थानमा स्थानियबासीले गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ बुधबार राति प्रहरी चौकी सामरीबाट ४ जनाको टोली उक्त स्थानमा जाँदा २५र३० जनाको संख्यामा रहेका व्यक्तिहरुले प्रहरीलाई देख्नासाथ घरेलु हतियारले आक्रमण गरेका थिए ।
त्यसलगत्तै प्रहरीले आत्मरक्षाको लागि २ राउण्ड हवाई फायर गरी तामाङलाई नियन्त्रणमा लिएको थियो । घरेलु हतियारको प्रहारबाट प्रहरीलाई भने सामान्यबाहेक कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रहरीले भने साम्प्रदायिकता भड्किने र गाईगोरुको मासु खाने उनीहरुको चलनलाई हस्तक्षेत्र तथा कुण्ठित पार्न खोजेको आरोप लाग्न सक्ने भन्दै ४ दिनअघिको यो घटनालाई अहिलेसम्म गुपचुप नै राखेको थियो । ‘गाइगोरु खाने तामाङहरुको पहिल्यैदेखिको चलन र संविधानमै देश धर्मनिरपेक्ष भइसकेपछि उनीहरुलाई हस्तक्षेप गर्दा राज्यले दमन गरेजस्तो सन्देश बाहिर जाने भएर नै हामीले घटनालाई बाहिर ल्याएनौं’, नुवाकोट प्रहरीका डिएसपी ऋषिराम कँडेलले भने ।
तर, देश हिन्दू राज्यको रुपमा विगतमा त्यही संस्कारबाट आएकोले गाई त राष्ट्रिय जनावर नै भइहाल्यो । गोरुको पनि पुजा गरिने भएकोले हामीले यसलाई दण्डनिय नै मानेका छौँ अहिलेसम्म, उनले भने, ‘कानुनी रुपमा पनि यो गैरकानुनी नै मानिन्छ ।’ त्यसकारण यसलाई राक्न खोजेको डिएसपी कँडेलले घटनाबारे थप प्रस्ट्याए ।
स्रोत:रातोपाटीबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...