काठमाडौँ, २ असार । आर्दश पब्लिक स्कुल, भरतपुर चितवनकी अर्चना थापा यस वर्षको प्रवेशिका परीक्षामा आफूले प्राप्त गरेको श्रेणीबारे अन्योलमा परिन् । सरकारले अक्षराङ्कन प्रणाली लागू गरेपछि अर्चनाजस्ता धेरै विद्यार्थी अहिले आफू कुन श्रेणीमा पास भएँ भनेर अन्योलमा परेका छन् । आज प्रकाशित नतिजाअनुसार अर्चनाले ‘ए’ श्रेणी प्रप्ताङ्क ल्याउनुभएको छ । त्यो भनेको कति हो ? उहाँले प्राप्त गरेको श्रेणीलाई परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका ३.२ देखि ३.६ सम्मको स्तरीयकृत अङ्क भनी परिभाषित गरेको छ । जसमा ८० देखि ८९ नम्बरसम्म नम्बर ल्याउने ‘ए’ मा पर्दछन् तर अर्चनाले आफूले प्राप्त गरेको प्राप्ताङ्क ८०–८५ प्रतिशत बताउनुभयो ।
‘नतिजा यसपटक अक्षराङ्कन प्रणालीमा भएकाले कुन श्रेणीमा कति नं पाए भनेर बुझ्न गाह्रो भयो”– उहाँले भन्नुभयो, “स्कुलका शिक्षकले अक्षराङ्कन प्रणालीका बारेमा फरक–फरक सिकाउनुभयो । त्यसैले नतिजा बुझ्न समस्या भयो ।”
पहिलो पटक सुरु गरिएको अक्षराङ्कन प्रणाली अभिमुखीकरण नभएकाले विद्यार्थी तथा अभिभावकमा नतिजाबारे अन्यौलता भएको हो । विद्यार्थीको प्राप्ताङ्कलाई श्रेणी र नम्बर नदिएका कारणले उनीहरुलाई नतिजाबारे अन्योल भएको हो ।
ललितपुरस्थित लिटिल एन्जल्स स्कुलका मनिष चापागार्इंले भने आफूले प्राप्त गरेको नजितामा कुन श्रेणी र कति प्रतिशत अङ्क ल्याएँ भनेर सहजै अनुमान गरे । ‘ए’ प्लस प्राप्ताङ्क गरेका उनले ९० देखि १०० सम्म प्रतिशत आफूले पाएको बताए । उनले सेन्टअप परीक्षामा पनि अक्षराङ्कन प्रणालीमा नजिता प्रकाशन गरेकाले एसएलसीको नतिजा पनि बुझ्न सजिलो भयो । स्कुलका शिक्षकले नतिजाबारे सिकाएकाले उनले आफूले कुन र कतिसम्म प्राप्त गरेँ भनेर थाहा पाए ।
अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले अक्षराङ्कन नतिजाबारे अभिमुखीकरण नभएर विद्यार्थी र अभिभावक कुन नतिजा कति प्राप्त गरेर भनेर अन्योल भएको बताउनुभयो । “अक्षराङ्कन प्रणालीबारे अभिमुखीकरण गरिएन”–उहाँले भन्नुभयो, “त्यसैले नजिताबारे विद्यार्थी र अभिभावकमा अन्योल छाएको छ ।”
पनिकाले ९० देखि १०० प्रतिशत ‘ए’ प्लस, ८० देखि ८९ प्रतिशत ए, ७० देखि ७९ प्रतिशत ‘बी’ प्लस, ६० देखि ६९ प्रतिशत ‘बी’, ५० देखि ५९ प्रतिशत ‘सि’ प्लस, ४० देखि ४९ प्रतिशत ‘सी’, ३० देखि ३९ प्रतिशत ‘डी’ प्लस, २० देखि २९ प्रतिशत ‘डी’ र १० देखि १९ प्रतिशतसम्म ‘इ’ गरी नौ श्रेणीमा विभाजन गरिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...