असार १३, काठमाडौं ।
मरेर गए इश्वरको बरदान
बाचुञ्जेल नहोस् केही कमी
आजको मिलन भोलीको छुटन
सम्झना रहिरहोस् नौ जुनी
पंक्षी नामक एल्वममा केही वर्ष अघि आफैले गाएका यी गितका शब्द जस्तैै मिठो स्वरका धनी सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठक दुई दिनको मिलन र विछोड जस्तै जुनि–जुनि सम्झनामा रहने गरी अल्पायुमै यस धर्तीबाट टाढा भएका छन् ।
चितवन जिल्ला स्थित शिवनगरमा २०४१ सालमा जन्मिएका पाठक २०६४ साल असार ६ गते सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी निरीक्षक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका थिए । सानै उमेर देखि गित संगीतमा रम्न चाहने दुर्गाबाबु पाठक २०६०–०६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राईजिङ्ग स्टारमा उकृष्ट दश भित्र समेत पर्न सफल भएका थिए । यस्तै चितवन मै सम्पन्न आठौं कालिका म्युजिक अवार्डमा वेष्ट आर्टिस्टको उपाधी समेत हात पारेका थिए ।
गत बैशाख २८ गते चितवनबाट काठमाडौं आउने क्रममा धादिङ्गको मलेखु स्थित पृथ्वीराजमार्गमा भएको अकल्पनीय सडक दुर्घटनमा परी पाठकको निधन भएको हो । विगत लामो समयदेखि गित संगीतको क्षेत्रमा विशेष गरी आधुनिक संगीततर्फ आफ्नो नाम चम्काउदै गरेका पाठक गायक, संगीतकार तथा रचनाकार समेत थिए । आफै गित लेख्ने संगीत भर्ने र त्यसलाई मिठो स्वर दिने क्षमता उनमा थियो ।
आधुनिक संगीततर्फ विशेष रुचि राख्ने पाठक प्राय सबै प्रकारका गित गाउने दक्षता राख्दथे । उनले यसअघि ‘पंक्षी’ र ‘निद्रा लाग्दैन’ गरी दुईवटा एल्वम बजारमा ल्याईसकेका छन् । जसमा उनले चर्चित गाइका अन्जु पन्तसँग सयुंक्त स्वर दिएका छन् भने म्युजिक भिडियोमा चर्चित नाइका केकी अधिकारी तथा निता ढुंगानालाई देख्न सकिन्छ । उनले गायका हजुरको देशमा, पलपल तिम्रो यादले, निद्रा लाग्दैन आदि गीतका म्युजिक भिडियो यु–ट्युबमा समेत हेर्न सकिन्छ ।
२०६४ सालबाट सशस्त्र प्रहरी अधिकृत बनेका उनी आफ्ना साथीभाई माझ समेत उत्तीकै लोकप्रिय मानिन्थे । अत्यन्तै सरल स्वभाब, कर्तव्य निष्ठ, अत्यन्तै मिलनसार, सांगठनिक रुपमा क्षमता र दक्षता भएका प्रिय व्यक्तिको रुपमा सधैंभरी सम्झीरहने बताउछन् उनी सँग अत्यन्तै मिल्ने एकै व्याजका सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापा । उनको दुःखद निधन सँगै थापाले आफ्ना फेसबुक पेजमा दुर्गालाई सम्झदै लेखेका मर्मस्पर्शी शब्दले पनि यस्तै कुरा जनाउथ्यो । कडा प्रकृतिका तालिममा पनि आफ्नो दुःख र थकानका बाबजुत थकित साथीहरुलाई मिठो गित गाएर उर्जा थप्ने कार्यमा पाठक कहिल्यै पछि परेनन् ।
संगठनमा समेत अत्यान्तै अनुशासित, कर्तव्यनिष्ठ, पेशागत रुपमा दक्ष र जिम्मेवार अधिकृतका रुपमा गनिन्थे सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठक यसका साथै संगठनमा भविष्य बोकेका सहयोगी एवं सह«दयी अधिकृतका रुपमा समेत परिचित थिए । फुटबल तथा क्रिकेटका समेत राम्रो खेलाडी उनी क्यारीकेचर गर्न, गितार बजाउन तथा अन्य क्रियाकलापमा समेत अब्बल मानिन्थे । पढाइमा समेत अब्बल उनी अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा समेत एल.एल.बी. सम्मको अध्ययन पुरा गरिसकेका थिए । उनले पंक्षी एल्वमा गायका शब्द जस्तै आफ्ना साथीभाई माझ भने मिठो सम्झना छोडेर गएका छन् । यि गितका हरफ जस्तै………
हजुरको देशमा हजुरकै मर्जी
म त हजुरको दुई दिनको पाहुना
( दैनिक नेपालबाट)


0 comments
प्रतिक्रिया दिनुहोस्...