-->
सुशीला कार्कीले यति ठूलो गल्ती किन गरिन् ? कारबाही होला ?

काठमाडौं, २७ जेठ । सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकी ऐन र न्यायालयको आचारसंहिताविपरित मुद्दा हेरेर आदेश दिएको खुलासा भएको छ ।
कार्की र साझा यातायात समितिका अध्यक्ष कनकमणि दीक्षितपत्नी शान्ता बस्नेतबीच हाडनाता सम्बन्ध छ । कार्की फुपु र शान्ता भदै हुन् । शान्ताले दायर गरेको बन्दी प्रत्यशीकरणको रिटमा कार्कीले सुनुवाइ गरेकी थिइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सुशीला र दीक्षित पत्नी शान्ताको पुस्तौली थलो धनकुटाको लेगुवा हो ।
स्रोतका अनुसार सुशीला र शान्ता अर्जुनवीर बस्नेतका सन्तती हुन् । अर्जुनका तीन छोरा थिए– नरवीर, चन्द्रवीर र तिलविक्रम बस्नेत । सुशीला तिलविक्रमको पनातिनी हुन् भने शान्ता नरवीरकी खनातिनी हुन् ।
यो नाताले उनीहरु फुपु–भदै पर्छन् । शान्ताको ललितपुर निवासी कनकमणि दीक्षितसँग प्रेम विवाह भएको थियो ।
भ्रष्टाचार र अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसनधान आयोगले दीक्षितलार्ए पक्राउ गरेपछि उनकी पत्नी शान्ताले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
१५ वैशाख २०७३ मा दायर सो मुद्दाको कामु प्रधानन्यायाधीश कार्कीले सुनुवाइ गरेकी थिइन् ।
मुलुकी ऐन अदालती बन्दोबस्तको ३० नम्बर महलमा नातासम्बन्धभित्रको मुद्दा कुनै पनि न्यायाधीशले हेर्न नमिल्ने उल्लेख छ ।
अदालती बन्दोबस्तको ३० नम्बरमा भनिएको छ, ‘आफ्ना हाडमा अपुताली परे खान पाउने नाता र मामा, माइजु, सानी ठूलीआमा, सानो ठूलोबाबु, सासु ससुरा, फुपु फुवाजु, जेठु, साला, मीत, आफ्ना दिदीबहिनी, छोरी र यिनै दिएका ज्वाइँ, भानिज, भान्जी, भान्दी बुहारी, आमाका बाबुआमा, मन्त्र सुनाउने गुरु–गुरुमा, मन्त्र सुनाएका शिष्य शिष्यनी, आफूले लेनदेन कारोबार गरेका, नोकर चाकर र लेखिएका मानिसको एकाघरसंंग बसेका जहानको र झगडिया मानिसको मुद्दा पर्न आएमा आफूले हेर्न हुँदैन ।’
मुलुकी एेनको अपुताली महलको १ नम्बरले हकवाला भनेको सम्बन्धित व्यक्तिको सात पुस्तासम्मको सबैभन्दा नजिकको अंसियार हुन्छ भनेको छ ।
dainiknepal


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.