नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामाले अहिलेको समय स्वार्थीहरूका लागि मात्र फलिफाप भएको गुनासो गरेका छन् ।
सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम दिनप्रतिदिन घाटामा गइरहनु, तर निजी क्षेत्रका एयरलाइन्स नाफामा जानु र सेवा पनि विस्तार गर्दै गएपछि उनले आफ्नो असन्तुष्टि फेसबुकमार्फत पोखेका हुन् ।
त्यति मात्र होइन, जुनसुकै सरकारी कार्यालयमा लथालिंगको अवस्था देखिएपछि विजय लामाले नेपाललाई कसको आँखा लाग्यो होला भनेर प्रश्नसमेत गरेका छन् । लामा नेपाली चलचित्रका सफल नायक पनि मानिन्छन् ।
क्याप्टेन विजय लामाले भने– के बस्नु यस्तो देशमा, धिक्कार्छु आफ्नो कर्मलाई
मुलुकमै केही गर्नुपर्ने सोचका साथ आफूले सेवा गरिरहेको बताउने क्याप्टेन लामाले यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा निजी विमान (हिमालयन एयरलाएन्स) प्रयोग गरेकामा आक्रोश पोखेका थिए ।
यस्तो छ विजयको नजरमा नेपालको अवस्था
० के भयो हाम्रो देशलाई, कसको आँखा लाग्यो ? कैलेसम्म नेपालीहरूले सहनुपर्छ दुःख पीडाहरू ? जो आए पनि कान चिरेको जोगी भन्ने उखान ठीक्क लागेको छ ।
० यहाँ त गफ गरेर, ठगेर खानेको मात्र जगजगी छ । सही कामको कदर नै छैन र कुनै मूल्यांकन पनि गरिँदैन ।
० स्वार्थीहरूको मात्र फलिफाप भएको छ्… निस्वार्थीहरूको कुनै स्थान छैन कतै पनि । नारदमुनी स्वभावहरूलाई मात्र बढावा दिइन्छ, तर सत्य बोल्नेहरू को कुनै महत्व नै छैन ।
० जता हेऱ्यो त्यतै लथालिंग (मात्र) पाइन्छ, तर सम्हाल्न कोही छैनन्, चाहे त्यो सरकारी अड्डा होस् या कुनै पनि निजी कार्यालय ।
० दिइएको काम नगरेर अर्काको कामको टिप्पणी उठाएर बस्नुसिवाय अरु कुनै काम छैन ।
० १० बजे कार्यालय सुरु हुने समय भए पनि प्रायःजसो ११ बजेपछ मात्र प्रवेश गर्ने र ५ बजेबजेभन्दा अगाडि नै निक्लिसकेका हुन्छन्, हाकिम र कर्मचारीहरू । यसको लेखाजोखा कसले गर्ने ?
० दलालहरूको बिगबिगी पाइन्छ…सरकारी अड्डाहरूको बाहिर… ती निमुखा गरीबहरूलाई ठग्न ।
० फास्ट ट्रयाकको नाममा धेरै पैसा लिएर काम गर्ने, जरिमाना उठाएबापत कमिसन दिने जस्ता कामले त हरेश नै पारिसक्यो सबैलाई ।
० अस्पतालमा उपचार गर्नु जाँदा होस् या कुनै निजी कार्यालयमा जाँदा पार्किङ शुल्क तिर्नुपर्ने कस्तो हो यो देश ?
० इमान्दारीपूर्वक र लगनशील भएर काम गर्नेहरूलाई खोइ स्थान ? उल्टै धोका मात्र पाइन्छ ।
० रगतपसिना बगाएर कमाको पैसामा भरमार कर लगाएर कुनै सुविधा दिन नसक्ने कस्तो चलन हो यो ?
० छलकपट गरेर अकुत सम्पत्ति जोडेर राख्नेहरूलाई माफी ? हैट यस्तो पनि हुन्छ र ?
० के हामी जनता नै दोषी हौ त ? के यो देशमा राम्रोका लाग कुनै स्थान नहुने त ? के हामी सधैं सहेर मात्रै बस्ने त ? के हामी भेडा बाख्रा जस्तै त्यही गफमा भुलाउने नेताहरूको बेफ्वाके कुरालाई बिश्वास गर्ने ?
० जो घरवादी, टोलवादी, संस्थावादी नै छैनन्, तिनै राष्ट्रवादी ?


0 comments
प्रतिक्रिया दिनुहोस्...