-->
प्रचण्डलाई प्रधानमन्त्री दिने सहमति भएकै हो, बेइमानी गर्न मिल्दैन:खनाल

एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री छन् । अर्थमन्त्री विष्णु पौडेलले संसदमा नयाँ बजेट प्रस्तुत गरेसँगै ओली सरकारको दिनगन्ती सुरु भएको छ । दुई प्रमुख सत्ता साझेदार एमाले तथा नेकपा (माओवादी केन्द्र) बीच केही समयअघि नौ बुँदे सहमति भएको थियो । नौ बुँदेसँगै बजेटपछि वर्तमान गठबन्धन कायमै राखेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन गर्ने ‘भद्र सहमति’ भएको समाचारहरु आएका थिए । बजेटसँगै माओवादीले सहमतिअनुसार ठाउँ खाली गर्न एमाले र प्रधानमन्त्री ओलीलाई दबाब दिन थालेको छ । एमाले र प्रधानमन्त्री स्वयंले सरकारबारे कुनै सहमति नभएको भन्ने दाबी गरेपछि दुई पार्टीबीचको सम्बन्धमा फाटो आउन सुरु गरेको ठानिएको छ ।

तर, एमालेभित्रको एउटा पक्षले भने प्रचण्डलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको र सहमति पालना गर्ने समय आएको बताउन थालेको छ । प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल क्रुद्ध छन् । केही दिनअघि ओलीविरुद्ध खनाल–नेपाल पक्षले ‘मदन भण्डारी अध्ययन केन्द्र’ को ब्यानरमा गुटगत भेला गरेको थियो । भेलालगत्तै उक्त पक्षले ओलीको विकल्पको खोज्न थालेको छ । एमाले र माओवादीबीच भएको भनिएको भद्र सहमतिमा के थियो ? अब सरकार परिवर्तन हुन्छ कि हुँदैन ? कसरी र कहिले हुन्छ ? आदि विषयमा काठमाण्डु टुडेका लागि डीएन भट्टले एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग कुराकानी गरेका छन् ।
खनालसँगको कुराकानीको सम्पादित अंशः–

यति पाको राजनीतिज्ञ भएर पनि सरकार बारम्बार सरकार परिवर्तन गर्ने कुराले मुलुकमा अस्थिरता बढ्छ भन्ने ज्ञान तपाईंमा रहेन छ होइन ?

हामी संसदीय प्रणालीको अभ्यासमा छौ । संसदीय प्रणालीमा पनि हामीले जुन प्रकारको निर्वाचन प्रणाली अबलम्बन गरेका छौं । त्यसअन्तर्गत संसदमा कुनै पनि पार्टीको एकल बहुमत छैन । बहुमतको अभावमा स्थिर सरकार बन्दैन । यस्तो बेलामा विभिन्न पार्टीबीच गठबन्धन गरेर सरकार बनाउने हो । अहिले नेकपा (माओवादी केन्द्र), राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, जनमोर्चासहितको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । गठबन्धनको कुनै पनि मुख्य घटकले अलग हुन्छु भनेका दिन सरकार ढल्छ । सरकारमा परिवर्तन आउँछ । हाम्रो सिस्टम नै त्यस्तो छ भने सरकारमा आउने परिवर्तनालाई ठूलो रुपमा लिनु हुँदैन । आगामी दिनमा पनि संविधानअनुसार यस्ता घटनाक्रम हुँदै जानेछन् । यो कुनै अस्वाभाविक विषय होइन ।

सरकार परिवर्तनबारे एमाले र माओवादीबीच सहमति भएकै हो ?

केही समयअघि तत्कालिन एनेकपा माओवादीले गठबन्धन कायमै राखेर प्रचण्डजीको नेतृत्वमा सरकार बनाउने कुरा अगाडि ल्यायो । काँग्रेसले समेत हामीलाई समर्थन गरेको हुनाले राष्ट्रिय सहमतिमा हाम्रो नेतृत्वमा सरकार बनाऔं भन्ने प्रस्ताव उताबाट आयो । हामीले बजेट ल्याउने बेलामा सरकार परिवर्तनको एजेण्डामा जाँदा मुलुकलाई घाटा पुग्छ । अस्थिरता हुन्ँछ, त्यसैले तत्कालका लागि यही सरकार कायम गरेर जाँदा राम्रो होला भन्यौं । त्यही स्प्रिटमा दुई पार्टीबीच नौ बुँदे सहमति भएर तत्कालका लागि समस्या टरेको हो । नौ बुँदेसँगै अरु पनि केही ‘भद्र सहमति’ भएका थिए । अहिले ‘भद्र सहमति’ कार्यान्यवनको समय आएको छ । सरकार परिवर्तनबारे प्रधानमन्त्री र माओवादी नेताहरुको मत बाझिएको छ । तपाईं सहमतिकर्ता मध्येको एकजना हुनुहुन्छ ।

बालुवाटारमा भएको सहमति चाहिं के थियो ?

नौ बुँदे सहमति राजनीतिक सम्झौता थियो । नौ बुँदेमार्फत नै सरकार र गठबन्धनका अगाडि आएको तत्कालिन संकट टार्ने काम गरियो । आफ्नो संकट टरेर गयो भन्दैमा भएको सहमति भएकै थिएन भन्न मिल्दैन । बजेटपछि उपयुक्त समयमा गठबन्धन कायमै राखेर बाहिर रहेका शक्तिहरुको समेत साथ र समर्थनमा प्रचण्डजीलाई प्रधानमन्त्री बनाउने ‘भद्र सहमति’ भएको हो । अहिले आएर सहमति भएकै थिएन भन्नु राजनीतिक बेइमानी हुनजान्छ । दुई पार्टीका हामी धेरै नेता त्यहाँ थियौं । भएको सहमतिलाई भएको होइन भनन मिल्दैन । भद्र सहमतिको पोको नखुलिसकेको भएर पनि केही ‘कन्फ्युजन’ रहन गएका होलान् । समय आएपछि पोको खुल्छ र बास्तविकता सबैलाई ज्ञात हुन्छ ।
पहिलो संविधानसभामा एमाले तेश्रो हैसियतमा रहेका बेला तपाईं प्रचण्डकै बलमा प्रधानमन्त्री बन्नुभएको थियो । माधव नेपाल प्रधानमन्त्री बन्नुमा पनि प्रचण्डकै हात रहेको मानिन्छ ।

अहिले तपाईंहरु दुवैजना मिलेर त्यो गुण तिर्न लाग्नुभएको हो ?

हामीहरु सहकार्य नगरी अघि बढ्न सक्ने अवस्थामै छैनौं । मुलुकको परिस्थितिले नै सहकार्यका साथ अघि बढ्नुपर्ने बाध्यता सिर्जना गरिदिएको छ । पहिलो संविधानसभाका बेलामा पनि सहकार्य जरुरी थियो । अहिले पनि त्यही अवस्था छ । माओवादी र हामीबीच त्यतिबेला र अहिले पनि कतिपय विषयमा असहमति र मतभेदहरु छन् । त्यस बेलादेखि नै माओवादीसँग नामिलेका विषयमा मतभेद राखेर मिलेका विषयमा सहकार्य गरेर जानुपर्छ भन्ने धारणा हो । त्यही धारणलाई अभ्यासमा बदल्ने क्रममा म प्रधानमन्त्री भएको हुँ । अहिले पनि त्यसैमा अडिग छु । पार्टीभित्र मेरो विचारमा मतभेद राख्ने कतिपय साथीहरु अहिले मैरै अभ्यास पछ्याउँने ठाउँमा पुग्नुभएको छ । माओवादीलाई हेर्ने मेरै लाइन अगाडि बढ्दै जाँदा अहिले पनि हामी एउटै गठबन्धनमा छौं । अहिले पनि दुई पार्टीका बीचमा मतभेद सकिएको छैन । कतिपय सैद्धान्तिक, दार्शनिक र विचारधारात्मक मतभेदहरुलाई कायमै राखेर हामीले सहकार्य गरिरहेका छौं ।

अब बन्ने सरकार बहुमतीय कि सहमतीय ?

बहुमतीय सरकारले मुलुकका अगाडि उत्पन्न समस्या समाधान गर्न सक्ने भए अहिलेकै सरकार ठीक थियो । सरकार बदल्नुपर्ने कारण नै थिएन । हामी संविधान कार्यान्यवनको चरणमा छौं । १२ बुँदे समझदारीदेखि यता हामीले सबै कुराको छिनोफानो मुख्य दलहरुबीचको सहकार्य र सहमतिमै गर्दै आएका छौं । ०६२/६३ को जनक्रान्ति, संविधानसभाको गठन, राजतन्त्रको उन्मुलन र संविधान निर्माण हामीबीचकै सहमतिमा भएको हो । हामी सबै मिलेर ल्याएको संविधान कार्यान्यवनका लागि पनि एकताका साथ अघि बढ्नुको विकल्प छैन । संविधान कार्यान्यवनका निम्ति प्रमुख दलहरुबीच राम्रो र एकरुप सहमति आवश्यक पर्छ । संसदमा कोही पक्ष र कोही प्रतिपक्षका रुपमा रहने हो भने पनि त्यो सहमतिमा हुनुपर्छ । संविधान कार्यान्यवनपछि दलहरुबीच जस्तो सुकै प्रतिस्पर्धा भए पनि केही फरक पर्दैन । त्यसपछि हामी जनताका बीचमा आ–आफ्ना एजेण्डका साथ प्रतिस्पर्धामा जाऔंला । तर, अहिलेको समय एकता र समझदारीका साथ अघि बढ्नुपर्ने समय हो ।

त्यसो भए प्रचण्ड कहिलेसम्ममा सहमतीय सरकारको प्रधानमन्त्री ?

त्यो सहमतिमा हुने कुरा हो । समय आएपछि सबै कुरा हुन्छ । अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । उहाँको अवधि सकिएर अर्को सरकार गठनको कुरा उठेको अवस्था होइन । हामीबीचमा छलफलहरु चल्दैछन् । छलफल चल्दै जाँदा नयाँ सरकार कहिले र कसरी निर्माण गर्ने भन्ने कुरा आउँछ । सत्ता गठबन्धनका दुई महत्वपूर्ण घटक राप्रपा नेपाल र फोरम लोकतान्त्रिकबिना दुई दलले मात्रै गठबन्धन कायमै राखेर प्रधानमन्त्री फेर्ने सहमति गर्नुभएको हो ।

उनीहरु त्यो सहमति मान्न बाध्य नरहेको अवस्थामा गठबन्धन कसरी बचाउन सक्नुहुन्छ ?

पहिला दुई दल, तीन दल हुँदै सबैका बीचमा सहमति हुने हो । अब सहमति गर्ने हो । त्यसैले त सबैका बीचमा छलफल र विचार विशर्म गरेर राष्ट्रिय सहमति जुटाउनुपर्छ भनेको । गणतन्त्र स्थापनापछि तपाईंसहित एमालेका तीन जना नेता प्रधानमन्त्री बन्नुभयो । तीनैजना माओवादी र त्यसका अध्यक्ष प्रचण्डका कारण प्रधानमन्त्री बन्नुभयो । दुई वटा सरकार एमाले आफ्नै कारणले ढल्यो । तपाईंहरु तातिएपछि यो सरकार पनि एमालेकै कारण ढल्ने करिब निश्चित भयो ।

यसलाई इतिहासको नियति वा तपाईंले भनेजस्तो हामीले अबलम्बन गरेको राजनीति प्रणालीको कारण मान्ने ?

यसका बाह्य कारण पनि छन्, भित्री कारण पनि छन् । यो एमालेको आन्तरिक घर झगडाले होइन । जतिबेलाको राजनीतिक परिस्थितिले जे माग गर्छ, त्यही गर्दा यस्तो भएको हो । एमाले कुशलतापूर्वक मुलुक हाँक्न सक्ने र स्पष्ट भिजन भएको जिम्मेवार राजनीतिक शक्ति हो । त्यसका सबै नेता मुलुकलाई आवश्यक पर्दा नेतृत्वदायी भूमिका निर्वाह गर्न र जुनसुकै त्याग र तपश्या गर्न तयार छन् भन्ने कुराको यो एउटा राम्रो उदाहरण हो । मुलुकलाई संकट र अप्ठेरो परेका बेला हामी ‘एक पाइला पछाडि हटेर दुई पाइला अगाडि’ पुग्ने गरेका छौं । परिस्थितिको मागअनुसार अगाडि र पछाडि दुवैतिर पाइला सार्न सक्नु नै सक्षम राजनीतिक दलको पचिहान हो । यस्ता कुराले एमाले कमजोर र विभाजित होइन, थप बलियो र सुदुढ हुँर्दै जान्छ । इतिहासमा एक दिन एमाले एक्लैले सरकार बनाउने वा परिवर्तन गर्नसक्ने दिन आउँछ भन्ने विश्वास मलाई छ । त्यतिबेला एमालेले पूरै म्याण्डेट रहेसम्म सरकारको नेतृत्व गर्नेछ ।

तपाईंले जे–जे भने पनि पछिल्लो समय भएका गुटगत भेला र भेलामा दुवै पक्षले एकअर्काप्रति गरेको कटाक्ष सुन्दा त तपाईंको दाबीमा विश्वास गर्नसक्ने आधार एकदमै कमजोर देखिन्छ ?

बाहिरबाट झट्ट हेर्दा मानिसहरुलाई त्यस्तो लाग्न सक्ला । तर, यथार्थ त्यस्तो होइन । हामीले नेकपा एमालेभित्र धेरै अभ्यास गरिसकेका छौं । अभ्यास कति सही र कति गलत होला त्यो इहितसले निक्र्यौल गर्दै जानेछ । हामी अझै सुदृढ राष्ट्रव्यापी र जनप्रिय नेकपा एमाले बनाउने अभियानमा छौं । म त्यो अभियानमा छु । के कुरा साँचो हो भने पार्टीमा अहिले देखिएका केही प्रवृत्ति घातक छन् । त्यसलाई समयमै सच्याउने तदारुकता देखाउनुपर्छ । पार्टीमा चित्त नबुझेका कुरामा बहस र छलफल हुन्छ । बहस र छलफल हुँदैमा कोही पनि आत्तिनु हुँदैन । मदन भण्डारी फाउण्डेशन र अध्ययन केन्द्रका नाममा भएका भेला सरकार फेर्ने कुरासँग सम्बन्धित छैन । यद्यपि प्रकारान्तरले भने त्यस्ता कुरा सरकारसँग जोडिन सक्छन् । सरकार फेर्ने बहस र भेलालाई अलगअलग सन्दर्भका रुपमा बुझ्नुपर्छ ।
इतिहासमै तपाईंको सरकारलाई नेपालीहरुको आफ्नै बुद्धि, विवेक र बुतामा बनाइएको भनिन्थ्यो ।

त्यस्तो सरकारको प्रधानमन्त्री अहिले दिल्लीको चाहना पूरा हुने गरी किन सरकार फेर्ने दौडमा हिंड्नुभएको ?

नेपाल उताबाट होइन, यतैबाट चल्दै आएको छ र यतैबाट चलिरहन्छ । यो कुरा साँचो हो कि उताबाट प्रभावित भएर यताको राजनीतिलाई प्रभाव पार्न सक्रिय व्यक्ति र तत्वहरु नेपालमा छन् । केहीलाई जनताले चिनिसकेका छन् । केहीको भविश्यमा पटाक्षेप हुँदै जाला । त्यस्ता व्यक्ति र प्रवृत्तिले बेलाबेलामा मुन्टो उठाउँने र चलखेल गर्ने परम्परा नयाँ होइन । उनीहरुका त्यसप्रकारका गलत हर्कतहरुसँग जुध्दै हामीले नेपाललाई यतैबाट चलाउनुपर्छ । नेपाल यतैबाट चल्छ र चलाउनुपर्छ भन्ने स्पिरिटका साथ हामीले पछिल्लोपटक संविधान जारी गरेका हौं । यतैबाट चल्ने नेपाललाई सुदृढ बनाउने कुरामा हामी छौं । संसदको पहिलो शक्ति नेपाली काँग्रेसको भूमिकालाई कमजोर पारेर तेश्रो दलका नेतालाई प्रधानमन्त्री बनाउन खोज्दै हुनुहुन्छ ।

सरकारको नेतृत्व काँग्रेसले गर्दा तपाईंले माथि उठान गरेका समस्याको समाधान सहज हुने थियो होइन र ?

मुलुकप्रतिको जिम्मेवारी हामै सबैको हो । काँग्रेस मुलुकको सबैभन्दा ठूलो पार्टी हो । ठूलो पार्टीले सबैभन्दा बढी जिम्मेवारी लिनुपर्छ । अहिले हामी जुन विषयको बहसमा छौं, यो हाम्रो चाहनाले सिर्जना गरेको कुरा होइन । मुलुकको अवस्था र जनआकांक्षाको प्रतिफल हो । त्यो कुरालाई महसुस गरेर सबै पार्टी एकताबद्ध रुपमा अघि बढ्नुपर्छ । सबै सत्तामै बस्दा मात्र संकट समाधान गर्न सजिलो हुने होइन । सत्ता र प्रतिपक्ष जहाँ बसे पनि संविधान कार्यान्यवनको एजेण्डामा भने सबै एकढिक्का हुनैपर्छ । यो हाम्रो अहिलेको सबैभन्दा महत्वपूर्ण राष्ट्रिय कार्यभार हो । पार्टी सानो वा ठूलो होस्, उसले मुलुकप्रतिको दायित्व पूरा गर्नुपर्छ ।

काँग्रेसले आफ्नो नेतृत्वबिना राष्ट्रिय सरकार सम्भव छैन भनिदियो भने के गर्ने त ?

हामीलाई अहिने चाहिएको राष्ट्रिय सहमतिकै सरकार हो । बहुमतीय सरकारले हुने भए अहिलेकै सरकार टिकाए भइहाल्थ्यो । मेरो विचारमा राष्ट्रिय सहमति हुने वातावरण बनेको अवस्थामा नेतृत्व कसले गर्ने भन्ने विषयले त्यति महत्व राख्दैन । छलफल गर्दै जाँदा के हुन्छ कहिल्यै भन्न सकिँदैन । कसैले पनि ‘मेरो गोरुको बाह्रैटक्का’ भनेर समस्या समाधान हुँदैन । source – kathmandu today


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.