आदिवासी जनजातिहरु जाँड खाएर पछि परेको भन्ने गरिन्छ । यो पहिल्यैदेखि भन्दै आएको कुरा पनि हो । तर मचाहिँ एउटा उदाहरण दिन चाहन्छु । नेपालमा सबभन्दा महँगो रक्सी खाने धनी मान्छेहरु हुन् । पहिला राणाहरुले यो देशमा लामो समय शासन गरे । तिनीहरु सबैभन्दा धेरै रक्सी खान्थे । रक्सी खाएर मान्छे बिग्रिने वा बन्ने भन्ने हुँदैन । यो इतिहासले कसरी बनायो, कसरी बिगार्यो भन्ने कुरा हेर्नुपर्ने हुन्छ । नेपालमा लामो समयदेखि शासन कसरी चल्यो भनेर हेर्नुभयो भने पृथ्वीनारायण शाहले यो मुलुकमा साना साना राज्य रजौटालाई जितिसकेपछि नेपाल भन्ने देश उसलाई जित्न मन लाग्यो । र नेपाल जितिसकेपछि उनले सुरुमै महसुस गरेको कुरा के हो भने यहाँ विभिन्न किसिमका जातजाति जनजातिहरु छन्, आदिवासीहरु छन्, मधेसीहरु छन् । विभिन्न किसिमका मानिसहरुको बसोबास भएको देश हो यो भन्ने कुरा उनले पनि बुझेका थिए । उनले आफ्नो राज्यको शासन सञ्चालन गर्ने सुरुवातको दिनमै पूर्वमा लिम्बूहरुको किपटलगायत किपटहरुको अधिकार समुदायलाई दिएका थिए ।
किनभने त्यसो नगरेसम्म शासन चलाउन सकिँदैन भन्ने उनीहरुलाई थाहा थियो । त्यसपछि यता बनेको इतिहास हेर्ने हो भने लगातार विभिन्न जाति जनजातिहरुको भाषा, संस्कृति र जीवनशैलीमाथि आक्रमण भएको छ । त्यसलाई समाप्त पार्न कोसिस गरिएको छ । र त्यसको सबैभन्दा ठूलो ‘प्रोजेक्ट’चाहिँ पञ्चायतकालमा चलेको थियो, जतिबेला एकै भाषा एकै नीतिअन्तर्गत देशभरिको स्कुलमा एउटै भाषाबाट पढाउनुपर्ने व्यवस्था गरियो । सँगसँगै नेपाल आधुनिकतामा प्रवेश गरेको भनेर ठूलो डंका पिटिएको थियो । त्यहाँदेखि यहाँसम्म आउँदा पनि नेपाल संसारकै सबभन्दा गरिब देश बन्यो, चाहे त्यो ‘ह्युमन डेभ्लपमेन्ट इन्डेक्स’मा हेर्नुहोस् वा जतिसुकै कोणबाट हेर्नुहोस् संसारको सबभन्दा तलको देश हो नेपाल । भनेको हामी संसारको सबैभन्दा कम विकसित, कम धनसम्पति भएको, कम बुद्धि भएका मान्छेहरु हौं, जनजातिमात्रै हैन सबै नेपालीहरु । यसरी बुझ्नुपर्छ विश्वको ‘ल्याडर’मा हेर्दाखेरी ।
त्यस्तो हामी भयौं किन ? यो विषयमा मैले अध्ययन गर्दै जाँदाखेरी केही समयदेखि लगातार के देखिरहेको छु भने जनजातिहरु, भाषाभाषीहरु, मधेसीहरु, दलितलगायतका समुदाय जो नेपालको कुल जनसंख्याको सबभन्दा ठूलो हिस्सा हो, त्यो जनसंख्यालाई राज्यसत्ताले आफ्नो मूलधारभन्दा बाहिर राखेको हो । भाषाको अधिकार नदिइएपछि बच्चाबच्चीहरुले पढ्न सकेनन् । धेरै बच्चाबच्चीहरु सानै उमेरमा स्कुल छाड्नुपर्ने बाध्यतामा परे । आजको दिनमा पनि यो समस्या कायम छ । नेपाली भाषा अनिवार्य रुपमा लाद्दाखेरीको समस्या हो यो ।
जनजातिहरुका अधिकार र भाषाभाषीहरुका अधिकार स्थापित गरिएको हुन्थ्यो भने सायद यो मुलुक ५०–६० वर्षकै अवधिमा पनि निकै अगाडि बढिसकेको हुन्थ्यो । तर त्यस्तो भएन र अहिले आजको दिनमा पनि हामीले त्यही चिजको लडाइँ लडिराखेका छौं जुन चिजको लडाइँ धेरै पहिलादेखि मन्दमन्द रुपमा चलिरहेको थियो । अहिले राम्रोसँग यो लडाइँ अघि बढिरहेको छ । तर यो लडाइँमा नयाँ संविधान बनाएर टुंगोमा पुर्याउने बेला फेरि समस्या खडा भएको छ । अहिले आएर फेरि पुराना सत्ताका मान्छेहरु, जसले जातको नाममा, भाषाको नाममा र मात्रै पुरुष लिंगको नाममा यो सबै राज्य सत्ताको हक अधिकार, स्रोत साधन, सम्पति सबै पुरुष बाहुन–क्षेत्री र विषेश गरेर त्यसको पनि सबभन्दा माथिल्लो पुरानो खानदानी धनीमानीहरुको हातमा जम्मा गरे, तिनले नेपाली समाजलाई कहिल्यै अगाडि बढ्न दिएनन् अनि गरिबी र पिछडापनलाई टिकाइराखे ।
हामी सम्पूर्ण सर्वसाधारण जनताका अगाडि बढ्ने बाटाहरु छेकिए । आजसम्म अभ्यास गरिएका यी तरिकाले समाज अगाडि बढ्दैन । यो कुरा लामो बहसपछि प्रमाणित पनि भइसक्यो । सबै मान्छेले बुझिसके । जसले नबुझेजस्तो गर्छन्, उनीहरुले त नाटक गरेका हुन् । र, बाँकी जो मान्छेले नबुझिराखेका छन् उनीहरुलाई नाटक गर्नेहरुले भ्रममा पारिदिएको भएर, अल्झाइदिएको भएर अहिले मान्छेहरुले नबुझेको जस्तो भएको हो ।
अहिले म यहाँ कार्यक्रममा आउँदै गर्दा हिन्दु राज्य हुनुपर्छ भन्ने हिन्दुवादीहरुको जुलुस थियो । त्यो जुलुसले बाटो जाम भएको हुनाले म यहाँ आउन ढिलो भयो । यसलाई तपाईंहरुले संकेतको रुपमा बुझ्नुभयो भने सजिलो हुन्छ । धर्ममा राजनीति गर्न चाहनेहरुले बाटो छेके । त्यो पनि हिन्दु धर्मले, जसले लामो समय नेपालमा भेदभाव संस्थागत गर्यो, केही मान्छेलाई माथि र धेरै मान्छेलाई तल राख्यो, त्यो धर्म भन्ने चिजलाई राजनीति गर्न चाहनेहरुले बाटो छेके र म आउन ढिला भयो ।
सांकेतिक रुपमा बुझ्नुभयो भने त्यो बाटो छेक्ने काम अहिले संविधानसभामा भइरहेको छ । त्यहाँ बाटो छेक्न खोजिँदैछ । सबैलाई बराबर अधिकार दिएर समाजलाई अगाडि लैजानुपर्ने बेलामा समुदायका अधिकारहरु, दलितका अधिकारहरु महिलाका, मधेसीका र आदिवासी जनजातिका अधिकारहरु खोस्ने प्रपञ्च संविधानसभामा भइरहेको छ ।
मलाई के लाग्छ भने यतिबेला हामीले फेरि पनि एकपटक जोडले बोल्नुपर्ने बेला हो । यतिबेला फेरि जोडले आवाज उठाउनुपर्ने बेला हो । र यतिबेला हामीले संविधानसभाभित्र रहेका नयाँ एजेन्डाहरुलाई मान्ने, नेपाललाई अगाडि बढाउने कुरामा मद्दत गर्न चाहने जति पनि सभासद्हरु हुनुहुन्छ, उहाँहरु पनि एक ठाउँमा आउने बेला हो । यतिबेला हामी चुक्यौ भने नेपाली समाज फेरि एकपटक पछाडि पर्नेवाला छ । मैले त एक दुई ठाउँमा लेखें पनि, यो संविधानसभाभित्र जस्तो संविधान बनाउने प्रपञ्च रचिएको छ र जस्तो संविधान मस्यौदाले देखाइरहेको छ त्यो संविधान बन्यो भने नेपालमा फेरि एकपटक असफल पुस्ताको जन्म हुँदैछ । तर यस्तो असफल पुस्ता, जसले नेपाललाई अर्को २५–३० वर्षसम्म असफल बनाउने छ ।
त्यो असफल पुस्ताको हिस्सा हामी हुने कि नहुने ? हाम्रो प्रश्न यो हो । यदि हामी त्यो असफल पुस्ताको हिस्सा हुन चाहन्छौं भने हुन सक्छ, हामी मरेर गइसकेपछि पनि पछिल्लो पुस्ताले हामीलाई त्यसैगरी प्रश्न उब्जाउने छ, जसरी अहिले हामीले अघिल्लो पुस्तालाई प्रश्न उठाइरहेका छौं ।
नेपालको यो हालत हुनुको पछाडि यो भन्दा अघिल्लो पुस्ताको हात छ । अर्थात् योभन्दा अघिल्लो समय नेपालको राज्यसत्ता चलाउने शासकहरुको हात छ । हामी यतिबेला असफल भयौ भने फेरि तिनै मान्छेको हातमा सत्ता पुग्नेछ र फेरि भ्रष्टाचार, चलिआएकै नातावाद र कृपावाद, जसको हात माथि छ उनीहरुले नै खाइरहने र बाँकी जनता पाखा पर्ने जस्ताको तस्तै इतिहास दोहोरिनेवाला छ । त्यसकारण एकपटक फेरि सबै जाति जनजाति, मधेसी, महिला, दलित सबैले सँगसँगै आवाज उठाउन जरुरी छ । र यो आवाजलाई हामीले यो कार्यक्रमको माध्यमबाट पनि बुलन्द गरौं र यसलाई देशभरि फैलाउन कोसिस गरौं ।
प्रस्तुति : विजय चाम्लिङ
(किरात राई यायोक्खाको २८औं स्थापना दिवसको अवसरमा साउन २२ गते आयोजित समारोहमा व्यक्त विचारको सम्पादित अंश)


0 comments
प्रतिक्रिया दिनुहोस्...