काठमाण्डु, २३ जेठ– एमाओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमालेसँगको भद्र सहमतिबारे अनावश्यक चर्चा गरिएको भन्दै पार्टीभित्र तीव्र असहमति जनाएका छन् ।
श्रेष्ठले भद्र सहमति भनेकै बाहिर चर्चा र छलफल नगर्नका लागि हुने भन्दै नेताहरुले अनुशासन तोडेर भद्र सहमतिबारे बोल्दै हिंडेको आरोप लगाएका छन् । लाजिम्पाट उच्च स्रोतका अनुसार त्यसबारे श्रेष्ठले अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ लाई भेटेरै असन्तुष्टि जनाएका छन् । ‘भद्र सहमति भनेकै बाहिर छलफल, बहस र वादविवाद नगर्ने भन्ने हो’, श्रेष्ठले काठमाण्डु टुडेसँग भने, ‘भद्र सहमतिबारे सार्वजनिक रुपमा बोल्नु र हल्ला गर्दै हिंड्नु भनेको अनुशासन तोड्नु हो ।’ श्रेष्ठले भद्र सहमति कार्यान्यवनको समय नआउँदै बहसमा ल्याइएकाले सहमति धरापमा परेको टिप्पणीसमेत गरेका छन् । श्रेष्ठले सहमतिबारे छिट्टै सार्वजनिक बहस भएकाले प्रधानमन्त्री केपी शर्मा ओली भड्किएकोपनि नेताहरुसँग बताउने गरेका छन् ।
उनले नेताहरुले ‘भद्र’ शब्दको अर्थ नै नबुझेर सार्वजनिक टिप्पणी गरेको आरोप लगाए । ‘एकअर्काबारे टिकाटिप्पणी वा आरोप प्रत्यारोप गर्ने भए भद्र सहमति नै हुँदैन’, श्रेष्ठले काठमाण्डु टुडेसँग टेलिफोनमा भने, ‘यो बारेमा नचाहिँदो बहस भयो, म त्यसको पक्षमा छैन ।’ श्रेष्ठले सहमति भएकै थिएन भन्ने दाबीमा पनि सत्यता नरहेको बताए । ‘हाम्रो केही साथीहरुले समेत सार्वजनिक रुपमै सहमति भएको थिएन भन्नुभयो रे भन्ने सुनेको छु’, श्रेष्ठले भने, ‘सहमति भएको हल्ला गर्दै हिंड्ने र सहमति भएकै होइन भन्ने दुवै गलत हो ।’
यद्यपि एमाले तयार भए आफ्ना अध्यक्ष प्रचण्ड राष्ट्रिय सरकारको नेतृत्व लिन तयार रहेको उनले प्रष्ट्याए । एमाले र तत्कालिन एमाओवादी ९हालको माओवादी केन्द्र० बीच गत २४ वैशाखमा नौ बुँदे लिखित सहमति भएको थियो । उक्त सहमतिसँगै बजेटपछि सरकारको नेतृत्व एमाओवादीलाई दिने सहमति दुई दलबीच भएको समाचार बाहिर आएको थियो । बजेटपछि माओवादी केन्द्रले भद्र सहमतिअनुसार नयाँ सरकार गठनका लागि बाटो खोल्न ओलीलाई आग्रह गरेको थियो । तर, ओलीले त्यस्तो सहमति कहिल्यै नभएको दाबी गरेका छन् । सोही विषयले प्रमुख दुई सत्तारुढ घटकबीच सम्बन्ध चिसिँदै गएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...