-->
अतिक्रमित सरकारी जमिन खाली गर्दा प्रहरीमाथि स्थानीयले आक्रमण, एसपीसहित १४ को मृत्यु

भारत उत्तर प्रदेशको मथुरामा अतिक्रमित सरकारी जमिन खाली गराउन परिचालित प्रहरीमाथि स्थानीयले आक्रमण गर्दा एक एसपीसहित १४ जनाको मृत्यु भएको छ ।
बिहीबार राति बस्ती हटाउन प्रहरीको टोली मथुराको जवाहरवाग पुगेको थियो । प्रहरी र स्थानीयबीच झडप भइरहेका बेला एक्कासी गोली चल्यो । गोली लागेर एसपी मुकुल द्विवेदी, सन्तोषकुमार यादवसहित १४ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मुख्यमन्त्री अखिलेश यादवले मृतक प्रहरीलाई सहिद घोषणा गर्दै २० लाख रुपैयाँ राहत दिने बताएका छन् ।
स्थानीय प्रशासनका अनुसार जवाहरबाग क्षेत्रको सरकारी जग्गा अतिक्रमण गरेको बसेको बस्तीमा ‘आजाद भारत विधिक बैचारिक सत्याग्रही’ नामको संगठनको प्रभाव छ । उच्च अदालतको आदेशअनुसार स्थानीय प्रशासन विगत दुई महिनादेखि जमिन खाली गराउने प्रयासमा थियो । सोहि तयारी अनुसार गएराति ११ बजे प्रहरी र सरकारी अधिकारीहरुको टोली जवाहरबाग पुगेको थियो ।
‘तर, प्रहरीले अकल्पनीय घटनाको सामना गर्नुपर्यो,’ उत्तरप्रदेशका एडीजी कानुन व्यवस्था दलजीत सिंह चौधरीले भनेका छन्, ‘अवैध कब्जा हटाउन गएका प्रहरीहरुमाथि सुरुगामा ढुंगामुढा भयो र केहि व्यक्तिहरुले गोली प्रहार गरे ।’ उनका अनुसार घटनाको छानबिन सुरु गरिएको छ ।
प्रहरीले अतिक्रमणमा परेको २ सय एकडा जग्गा खाली गराएको र सर्च अपरेशन गर्दा हतियारको भण्डारसमेत फेला परेको दाबी स्थानीय प्रशासनले गरेको छ ।
जमिन कब्जा गरेको सत्याग्रही संगठनले राष्ट्रपति र प्रधानमन्त्रीको चुनाव रद्द गर्न, एक रुपैयाँमा पेट्रोल ६० लिटर र डिजेल ४० लिटर बिक्री गर्न माग गर्दै आएको छ । सो संगठनले आफ्ना माग सम्बोधन गराउन दबाव दिने उद्देश्यले सन् २०१४ जनवरी ११ तारिखदेखि जवाहरबागमा धर्ना दिइरहेको थियो ।news24nepal


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.