जेठ २०
यी रोए पनि दुःख लाग्छ, यिनले सम्झे कि आमा भनी।
यी हाँसे पनि सुख छैन, यिनले बिर्से कि आमा भनी।
राष्ट्रकवि माधव घिमिरेद्वारा रचित गौरी शोककाव्यबाट साभार गरी माथिको अंश क्याप्सनसहितको राजधानी दैनिकमा छापिएको एउटा फोटो २०५९ सालमा निकै चर्चित भयो।
राजधानीका तत्कालीन सम्पादक जीवेन्द्र सिम्खडाका अनुसार नारायणहिटी दरबार हत्याकान्डमा मारिएकी अधिराजकुमारी श्रुति र बाँच्न सफल कुमार गोरखशमशेर राणा आफ्ना दुई छोरीहरुको हात समात्दै हिँडिरहेको यो फोटो चन्द्रमान महर्जनले खिचेका हुन्।
श्रुतिको हत्या हुँदा उनकी जेठी छोरी गीर्वाणी राणा तीन वर्षकी र कान्छी सुरंगना केही महिनाकी मात्र थिइन्।
अर्को फोटो भाइरल भयो २०६९ सालमा। आमाको फोटो हेरेर गीर्वाणीको आँखाबाट आँसु बग्दै गरेको फोटो फेसबुकमा धेरैले सेयर गरे।
आर्ट काउन्सिलमा आयोजित शाही चिकित्सक खगेन्द्र श्रेष्ठले खिचेका पूर्वराजपरिवारको तस्बिर प्रदर्शनी हेर्न बाबु गोरखशमशेरसित गएकी उनले सबै तस्बिरहरू हेर्न सकेकी थिइनन्। आमा श्रुतिको तस्बिर हेर्दाहेर्दै भक्कानिएर रोएकी थिइन्। त्यतिबेला उनी १४ वर्षकी थिइन्।
गीर्वाणी आफ्नी बहिनी सुरङ्गनासहित काठमाडौँको सार्वजनिक कार्यक्रममा पुनः देखिइन् बुधबार। ठाउँ थियो एक जमानामा आफ्नी आमा जन्मे हुर्केको ठाउँ नारायणहिटी राजदरबार। पिङ्क कुर्तामा सजिएकी गीर्वाणी ठ्याक्कै आमा श्रुतिजस्तै देखिएकी थिइन्। उनकी बहिनी सुरङ्गना भने बाबु गोरखशमशेरको अनुहारसित मिल्छ।
कजन सिस्टर ब्रदर (पारसकी छोरीहरु र छोरा)सँग आएका उनीहरुले संग्रहालयमा परिणत भइसकेको नारायणहिटी दरबारको गेटमा राखिएको दिवंगत राजपरिवारको फोटोमुनि मैनबत्ती बाले, पुष्पगुच्छा चढाए। अनि गाए राष्ट्रिय गान। सयौँ थुङ्गा हैन, पुरानै श्रीमान् गम्भीर नेपाली…।
हिमानी ट्रस्टसितको सहकार्यमा सि नेपाल नामको संस्थाले आयोजना गरेको कार्यक्रम मुकुन्डो लगाएर नगरपरिक्रमा गरी नारायणहिटीको गेटमा समापन भएको थियो।
गीर्वाणी र सुरङ्गनाका पिता गोरखशमशेर स्टान्डर्ड चार्टर्ड बैँकको एक्जेक्युटिभ कमिटीमा कमर्सियल बैँकिङ एन्ड इन्टरनेसनल कर्पोरेट्सका हेड छन्।
बिहे गरेको केही वर्षसम्म यत्तिकै रहे पनि पछि उनले लोकेन्द्रबहादुर चन्दको भाइकी छोरीसँग बिहे गरे। सौतिनी आमाका तर्फबाट गीर्वाणी र सुरङ्गनाकी एक बहिनी पनि छिन्।
गीर्वाणी र सुरङ्गनालाई पिता गोरखले भारतको सिमलामा अध्ययनका लागि पठाएका थिए। उनीहरु कहिलेकाहीँ भने विदा मनाउन काठमाडौँ आउने गर्छन्।
उति सारो सार्वजनिक कार्यक्रममा नदेखिने उनीहरु यस पटक भने नारायणहिटी दरबारमै आयोजित कार्यक्रममा पारसका छोराछोरीहरुसँगै देखिए।दैनिक हेडलाइनबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...