-->
तिमीलाई प्रेम गर्न त फुर्सदै भएन रे ? तर, मलाई प्रेमको रोजगारी फलदायी भएको छ

लभर नम्बर एकलाई भनिदिनुस् कि तिम्रो प्रेम विना बाँच्ने हिम्मत भएन । त्यसैले छिट्टै तिम्रै बन्न आउँदैछु है भनेर । तिमीलाई प्रेम गर्न त फुर्सदै भएन रे ? तर, मलाई प्रेमको रोजगारी फलदायी भएको छ । नाफा थेग्नै नसक्ने गरी धौ धौ भएको छ ।
संसार सीमित र असीमित दुवै हो ! जीवन अन्त र अनन्त दुबै हो ! मात्र भोग्न जान्नुपर्छ.। अलिकति हिम्मतले । अलिकति रहरले… ! कहिलेकाही बाध्यता आइपर्दा सहर्ष स्वीकार गर्छु म । तर, अलि फरक प्रसङ्गबाट हेर्दा म दावाका साथ भन्छु, संसारमा दुई ओटा मात्र शक्तिहरुको साम्राज्य कायम छ । एउटा प्रेम र अर्को भोक ।
रोग र शोक भनेका त भुसुना हुन । जसको ओखती पनि मानव आफै हो भने भाइरस पनि स्वयम आफै । शरीरको सम्पूर्ण भाग पानीले भरिएको हुन्छ । तर, कही कतै काटियो भने रगत आउँछ । कस्तो अचम्म मुटु रगतले भरिएको हुन्छ । दुख्यो भने आँखाबाट आँशु झर्छ ।
तपाईले अनुभव गर्नुभएको होला, त्यही रगत र पानी एक बाल्टिनमा वा एकै ठाउँमा राख्ने हो भने नितान्त फरक हुन्छ त्यसको स्वरुप । पानी एकातिर रगत एकातिर । अझ पानी माथिको ओभानो भएर बस्छ रगत ।
आम मानिसको मन अस्थिर हुन्छ । त्यो त थाहा थियो । तर, एउटी पत्नी वा प्रेमिका हुँदाहुँदै अर्की पत्नी वा प्रेमिका खोजिरहन्छन केही महापुरुषहरु । हो, दुःखको कारण नै त्यही हो ।
‘मन’, जसले पलमै हसाउँछ त पलमै रुवाउँछ । आफ्नो मन वशमा राख्न नसक्नेहरुले अर्काको मन दुख्छ है भनेर किन बुझुन र ? हो, आजकाल मैले हाँसोहरू किन्न थालेको छु । पीडाको ओखती मुस्कान रैछ भन्ने बुझेर । यहाँ पैसा र वैशको खेलमा मात्तिएकाहरु भनेर कसैले नभन्लान भन्न सकिन्न ।
मलाई कुरा काट्नेहरुप्रति रिस उठ्दैन दया लाग्छ–उनीहरुको त्यो विचरा स्वभाव देखेर । हिम्मत हुनेले खुलेआम युद्ध आह्वान गर्छ र पो लड्न मज्जा लाउछ । भलै युद्धको तयारी गर्न नपाए पनि पछुतो छैन । तर, मित्र बनेर अंकमाल गरी गरी पेटमा छुरा रोप्न खोज्नेहरु पो विचरा हुन ।
जसको आफ्नो भन्ने तन र मन पनि हुँदैन । उनीहरुका त शरिरका अङ्ग प्रत्यङ्गहरुकोे अग्रिम भुक्तानी भइसकेको हुन्छ क्यारे । त्यसैले त प्रमाण विनाका गल्ती लिएर कुरौटेको अदालतमा बयान दिन जान्छन कायरहरु । जब कसैले तिमीलाई चोट पुर्याउँछ नि, तब मात्र अनुभूती गर्छौ ।
कि तिमी कति बलियो छौ भनेर । तिम्रा पाखुरीको मोल मोलाई तब मात्र थाहा हुन्छ । ‘चर्को घामले माछापुच्छ्रे पग्लेर फेवाताल बन्यो रे’ भन्छन भन्नेले त । तर, त्यो सगरमाथाको शिर कहिल्यै झुकेको देखेको छ र कसैले ? अहँ पटक्कै छैन । सत्य त यही हो घाम ।
चाहे जतिसुकै चर्को किन नलागोस त्यसको रापले हिमाल पग्लेर कहिल्यै सकिदैन । त्यो कुरा सुर्यको तातो रापको कहिले बुझ्ने खै ? अरुको घातबाट निथ्रुक्क गलेर पानी पानी हुन मैले जानिन । सायद कसैले नसिकाएरै होला । तर, ‘खुशी’ के हो ? सायद वचपनमा मागेको कुरा पाउँदा महशुस गरियो ।
आजकल त ‘हाँसे’ भने पनि … वश त्यो त मुखाकृतिमा आउने ‘परीवर्तन’ मात्र हो जस्तो लाग्छ । मान्छेका आशाहरु पनि कस्ता कस्ता । आफै पलाउने । आफै मौलाउने अनि ओइलाउने । आशाहरु तबसम्म जीवित रहन्छन्, जबसम्म त्यसमा विश्वास अनि माया सिचाई भइरहन्छ । जब जीवनमा मायाको खडेरी सुरु हुन्छ, तब भरोसाको बिऊ सुकेर सोत्तर बन्छ ।
स्वाद् थाहा भएर पनि बताउन नसकिने वेस्वादे अनुभूती हो प्रेम । ओकल्न मन लागेर गला अबरुद्ध बन्दा समेत अभिव्यक्त गर्न सकिदैन त्यो । तर, उनले मलाई गर्ने प्रेम त उनको आँखाबाटै छचल्किरहेको हुन्छ घरी घरी ।
म सम्हाल्ने कोशिस गरिरहन्छु । फेरि ओठबाट पोखिन्छ र मेरो जीउभरि भिज्न पुग्छ । ‘मेरो खुुसीको हत्यामा ईश्वरको संलग्नता देखियो सरकार ! मलाइ न्याय दे…’ भन्दै न्यायको भिख माग्दै आएका थिए उनी ।
त्यो दिन जुन दिन मैले मेरो आत्मस्वाभीमानको युद्ध लड्दै थिए । कहिल्यै कुनै फूलले पनि नछोइदिए हुन्थ्यो भनेर सोच्ने उनी, युद्धमा एसएलआर बोकेर म हिँडेको देख्दा मन त पक्कै काप्दो हो ।
‘प्रेम भनेको पानी जस्तै स्वच्छ र निर्मल हुनुपर्छ…’ भन्थे । पौडिन सजिलो हुन्छ भनेरै होला सायद ! सपना मात्र होइन मेरो… । आँखा पनि उनै हुन जस्तो लाग्न थालेको छ आजभोलि । जता जता उनी डुल्छन उनको सुगन्ध कस्तुरीको विना जस्तै त्यता त्यतै बहकिन्छ …।
तासको भाषामा भन्दा अचेल माया पिरतीमा त्रैयल बाहेक अरु केही लागेको छैन । किन नमुर्मुरिउन त हरुवाहरु ? हाहाहा…! आनन्दको पनि सीमा हुन्छ नि । प्रेममा तड्पिनु र बलेको आगोमा हात हाल्नु एउटै हो भन्छन नि धोका खानेहरु । प्रेमले मन जल्छ । आगोले तन जल्छ ।
जल्न त जल्छ नै । तर, यहाँ न तन जल्छ, न त मन जल्छ । मात्र इर्षा र रिसले अरु कसैको आत्मा जल्छ । देशको के कुरा गर्छौ साथी, अथाह आन्दोलन त आफ्नै मनमा चर्किरा’छ । दुई चार सपना त आफ्नै हठले शिकार बनाईसक्यो । थाहा छैन अझै कति सपना सहिद हुने हुन ।
सलामी र मलामीहरु आउलान या नआउलान त्यसको त मलाई वालै भएन । जीवन बुझ्न प्रेमका बक्ररेखा नाघ्दै हिँड्न सक्नुपर्छ । नाक, आँखा र मुहारको बनावट हेरेर यो मान्छे फलानो हो भनेजस्तो सजिलो छैन नि जीवन बुझ्न । यहाँ मैले केही नरनारीहरुलाई जीवनको पाठ घोकिरहेको देख्छु ।
अनि त्यही घोकाईले अर्कामाथि लाद्न खोजिरहेको पनि देख्छु । फेरि दया लाग्छ एक पटक उसको तुच्छ र अव्यवहारिक शैलीप्रति । आखिर प्रेम नै जीवन हो । जीवन नै प्रेम हो, किनकि म प्रेममा विश्वास गर्छु ।
हो, त्यसैले फेरि आज उनै लभर नम्बर एकलाई मिस गरे । जसले मलाई माया गर्न सिकायो । जीवनमा संघर्ष र इस्पात बन्न सिकायो । लाग्छ विश्वमै उनी मेरो एक अशल प्रेमी छन्, जसकारण उनी लभर नम्बर एक हुन् ।
source online pana


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.