-->
आँखाबाट आँसु रसाउने एक जोडी सारौको कथाः जसलाई काठमाण्डुको भीडमा धेरैले देखेनन्

प्राय चराहरुले आफ्ना बचेराहरुलाई निकै स्याहार, सुसार गरेर पाल्छन् । अझ भन्ने हो भने एउटा बच्चालाई उसको आमाबुबाले जसरी पालेको हुन्छ, जुन जिम्मेवारी निभाएको हुन्छ त्यसैगरी चराले पनि आफ्ना बचेराहरुलाई हुर्काउने गर्छन् ।
कतिपयले यसरी चराले बचेरालाई हुर्काएको आफ्नै आँखाले पनि देख्नुभएको होला तर नदेखेकालाई भने यहाँ प्रस्तुत गरिएका तस्बिर निकै मर्मस्पर्शी लाग्नेछन् ।
गुँडका लागि ठाउ रोज्न, गुण बनाउन, बचेराको पालनपोषण गर्न चराहरु निकै मेहनत गर्छन् । राजधानीमा काठमाण्डु टुडेका फोटो पत्रकार चन्द्रबहादुर आलेले पनि यस्तै दृश्य देखे र आफ्नो क्यामेरामा कैद गरे ।
धेरैदिनदेखि उनीहरुको दैनिकीलाई नजिकबाट नियालेका पत्रकार आलेले धेरै दिन लगाएर ती तस्बिरहरु क्यामेरामा कैद गरे । आले भन्छन्, ‘चराको जोडीले आफ्ना बचेराप्रति गरेको प्रेमले मेरो मन नै छोयो । म निकै भावुक पनि भएँ । हामीले यी दृश्यलाई केवल तस्बिर मात्र सम्झिएर हेर्ने हो भने त्यसको कुनै महत्व नहोला तर, हामीले त्यसलाई महसुस गर्न सक्छौँ भने त्यहाँबाट जीवन र संघर्षका बारेमा केही न केही कुरा पक्कै सिक्छौँ ।’
तस्बिरमा हामी सारौको जोडी भाले, पोथी बच्चाका लागि आहारा लिन गएको, आहारा ल्याएर आएपछि बचेराहरुलाई खुवाइदिएको र आपसमा माया, प्रेम साटासाट गरेको देख्न सक्छौँ ।
धूलो, धुवा र प्रदुषणको सहर भनेर चिनिने राजधानी काठमाण्डुको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारदेखि करिब २०० मिटर पर एउटा बिग्रिएको पुरानो सडक बत्ती भेटिन्छ । त्यही बत्तीको माथिल्लो लाइट बल्ने भागमा सारौ चराको एक जोडी र तिनीहरुको ४ बचेराहरु देखिन्छन् ।
हाल मानव सम्बन्धहरु कमजोर बन्दै गइरहेको अवस्थामा चराको प्रेमले पक्कै पनि हामीलाई केही सिकाएको महसुस हामी गर्न सक्छौँ । सबै आफ्नै धुन र तालमा हराउने काठमाण्डु सहरको एक छेउमा यसरी आफ्ना बचेराको भोक र तिर्खा मेटाउन सारौ जोडीले गरेको संघर्षले पक्कै पनि हामीलाई कुनै न कुनै प्रेरणा दिएकै हुनुपर्छ ।
भनिन्छ नि शब्दमा वर्णन गर्न सकिएका कुराहरु तस्बिरमा बोलिरहेका हुन्छन् । त्यसैले यहाँ वर्णन गर्न नसकिएका कुरा तस्बिर हेरेर बुझ्ने प्रयास गर्नुहोला ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.