आगामी ४ र ५ असार हुने सातौं कोरियन भाषा परीक्षाका लागि राजधानीलगायत मुलुकभरका सबै स्थानमा परीक्षा केन्द्र तोकिएको छ । दक्षिण कोरिया र नेपालबीच रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली कामदार कोरिया पठाउनका लागि लिइने सो परीक्षाका लागि ईपीएस कोरिया शाखाले आवेदन दिएका परीक्षार्थीको सिम्बोल नम्बरअनुसार राजधानीलगायत देशका विभिन्न स्थानमा २१ वटा परीक्षा केन्द्र तोकिएको जनाएको छ ।
सो शाखाका अनुसार काठमाडौंमा १८ वटा केन्द्र तोकिएका छन् । यसैगरी, पोखरामा तीन वटा केन्द्र राखिएका छन् । परीक्षा सञ्चालनको अवलोकन गर्न कोरियाबाट ५० जना सरकारी उच्च अधिकारी नेपाल आउनेछन् । उनीहरूले विभिन्न परीक्षा केन्द्रमा पुगेर अनुगमन गर्नेछन् । सबै केन्द्रमा दुवैदिन परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछन् । पहिलो सिफ्टका लागि बिहान साढे ८ बजे र दोस्रो सिफ्टका लागि दिनको साढे १२ बजेसम्म परीक्षा हलभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको सो शाखाले जनाएको छ ।
शाखाका प्रमुख डिल्लीराम बास्तोलाले अहिले परीक्षाको सबै तयारी पूरा भएको बताए । पूर्वनिर्धारित समयभित्र परीक्षा केन्द्रमा प्रवेश नगर्ने परीक्षार्थीलाई आगामी परीक्षामा सामेल नगराइने ईपीएस शाखाले जनाएको छ । कुनै पनि बहानामा आवेदकलाई तोकिएका परीक्षा केन्द्र, मिति र समयभन्दा बाहेक परीक्षामा समावेश नगराइने शाखाका प्रमुख बास्तोलाको भनाइ छ ।
परीक्षा सुरु हुने समयभन्दा एक घण्टा अगावै आफ्ना स्थानमा बसिनसकेका कारण विगतका वर्षमा ठूलो संख्यामा परीक्षार्थी परीक्षा दिनबाट बञ्चित भएका थिए भन्दै उनले यसपालि त्यस्तो नगर्न परिक्षार्थीलाई सुझाव दिएका छन् । परीक्षाका लागि परीक्षार्थीको नाम, रजिस्ट्रेसन नम्बर उल्लिखित प्रश्नपत्र र उत्तरपुस्तिका उपलब्ध गराइनेछ । परीक्षार्थीको नाम र रजिस्ट्रेसन नम्बर फरक परी कुनै त्रुटी हुन गएमा त्यसको जिम्मेवारी परीक्षार्थी आफैंले लिनुपर्ने व्यवस्था गरिएको सो शाखाले जनाएको छ । सो शाखाका अनुसार एकजना आवेदकलाई एउटामात्र उत्तरपुस्तिका उपलब्ध गराइनेछ भने त्यसलाई साट्न वा सँच्याउन पाइने÷नपाइने पनि शाखाले जनाएको छ । उत्तरपुस्तिकामा कुनै उत्तर टिपेक्स वा टेपको प्रयोग गरी सँच्याएको पाइएमा उत्तर गलत ठहरिने व्यवस्था छ ।
परीक्षार्थीले उत्तरपुस्तिकामा सिसाकलम वा अन्य रंग प्रयोग गरेमा परीक्षा रद्द हुने बताइएको छ । परीक्षाका लागि आवेदन दर्ता गर्दा पेस गरेको राहदानीको र प्रवेशपत्रको सक्कल लिई परीक्षा हलमा पुग्नुपर्नेछ । यी सक्कल कागजातविना परीक्षामा समावेश नगराइने सो शाखाले जानकारी दिएको छ । परीक्षा अवधिभर आवेदक परिक्षार्थीलाई शौचालय जान तथा परीक्षा सिध्याए पनि परीक्षा हल छाड्न अनुमति नदिइने शाखाले जनाएको छ ।
परीक्षामा सहभागी हुँदा मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण वा पुस्तक, चिट आदि नलिई जान अनुरोध गरेको छ । यसैगरी, परीक्षामा अनुचित कार्य गर्नेलाई निष्कासनसम्म गरिने सो शाखाले जनाएको छ


0 comments
प्रतिक्रिया दिनुहोस्...