काठमाडौं— दशकयता दूरसञ्चार सेवाप्रदायक कम्पनीका सिमकार्ड प्रयोग गरी १३ अर्ब रुपैयाँभन्दा बढीको 'कल बाइपास' भएको प्रहरीले जनाएको छ । कानुनी प्रक्रिया पूरा गरी झिकिएका २२ हजार सिमकार्ड अवैध कारोबारमा लगाइएको पाइएको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २०६४ देखि गत जेठ १८ सम्म देशका विभिन्न ९१ स्थानमा गरेको अनुसन्धानपछि १३ अर्ब ४९ करोड रुपैयाँबराबर कल बाइपास भएको बिगो दाबीसहित मुद्दा दर्ता गरेको छ । मुद्दामा १ सय ५ नेपाली र ३६ विदेशी नागरिकलाई विपक्षी बनाइएको छ ।
देशका दूरसञ्चार सेवाप्रदायक कम्पनीमार्फत कारोबार हुनुपर्ने अन्तर्राष्ट्रिय फोन–कल 'बाइपास' गरी ठगी गर्नेविरुद्ध थालिएको 'अप्रेसन भ्वाइस फक्स' क्रममा बर्सेनि डेढ अर्ब रुपैयाँ हाराहारी नोक्सानी भइरहेको पत्ता लागेको सिआइबीले जनाएको छ । सिआइबी प्रमुख डिआइजी नवराज सिलवाल भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भिओआइपी) प्रयोग गर्दै अर्बौं राजस्व घाटा पु¥याउने समूहको संख्यामा कमी आए पनि क्षति परिमाण भने बढेको बताउँछन् । उनका अनुसार नेपालमा बंगलादेशी समूहले सुरु गरेको भिओआइपी शृंखलामा कमी आएको देखिए पनि अवैध कलको मात्रा भने बढेको छ ।
'अत्याधुनिक उपकरण र अपराधशैली परिवर्तन गर्दै कल बाइपास जारी राखेको पाइयो, यसमा अन्तरदेशीय र संगठित गिरोह छन्,' डिआइजी सिलवालले भने । नेपाली युवालाई कामदार बनाई संगठित गिरोह नै कल बाइपासमा सक्रिय रहेको उनको भनाइ छ ।
बंगलादेश बसेर नेपालमा सञ्चालन
सिआइबी टोलीले जेठ १८ गते काठमाडौं, टोखाबाट पक्राउ गरेका बागलुङका दिलबहादुर बोहरा थापालाई कल बाइपासमा सघाएबापत बंगलादेशबाट पैसा प्राप्त हुने गरेको अनुसन्धानमा भेटियो । प्रारम्भिक बयानमा बोहराले आफ्नो कोठामा बंगलादेशीले अत्याधुनिक उपकरणसहित भिओआइपी जडान गरेको बताएका छन् । ब्युरो अधिकारीका अनुसार बोहरालाई बंगलादेशी गिरोहले मासिक तलब नै दिएर राखेको थियो ।
अन्तर्राष्ट्रिय गिरोहले नेपाली युवालाई कल बाइपास गर्ने उपकरण हेरचाह र सिम रिचार्जकर्ताका रूपमा 'जागिरै' दिएर राख्ने गरेको पक्राउ परेकाहरूबाट पत्ता लागेको ब्युरोका एसपी दिवेश लोहनीले बताए । 'टोखाको घटनामा गिरोहले बंगलादेशमा बसेर नेपालमा अपरेट गर्ने गरेका थिए, नेपाली युवालाई त उपकरणका ब्याट्री, सिमकार्ड र रिचार्जका लागि प्रयोग गर्ने गरेको देखियो,' उनले भने ।
भारतीय, बंगलादेशी र चिनियाँ
सिआइबीले नेपाल टेलिकमकै उपकरण प्रयोग गर्दै पहिलोपटक २०६४ वैशाख २० गते कल बाइपास गर्ने सञ्जय गिरीलाई सानेपाबाट पक्राउ गरेको थियो । त्यसको केही दिनमा टुसालबाट बंगलादेशी नागरिक मोज्जाम मोहम्मद पक्राउ परेपछि अन्तर्राष्ट्रिय समूहको पहिचान भएको हो । त्यसयता सिआइबीले ९१ वटा भन्दा बढी अप्रेसनमा बंगलादेशी, भारतीय र चिनियाँ नागरिकसम्मलाई पक्राउ गरेको छ ।
सिआइबीका अनुसार पछिल्लो समय काठमाडौंसँगै पोखरा, हेटौंडा, वीरगन्जजस्ता सहर र ठूला अपार्टमेन्टका आलिसान कोठाबाट कल बाइपासको अवैध धन्दा चल्ने गरेको छ । 'अहिले त ठूला र आलिसान घर, अपार्टमेन्टबाटै अत्याधुनिक उपकरणमार्फत कारोबार भइरहेको छ, विकसित प्रविधिसँगै बाहिर बसेर रिमोटबाटै खोल्न र बन्द गर्न सक्ने भएकाले चुनौती थपिएको छ,' एसपी लोहनीले भने ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सबैभन्दा बढी बंगलादेशी छन् । त्यसपछि भारतीय र चिनियाँ छन् । चिनियाँ र भारतीय गिरोहले नेपालमा बेचबिखन नहुने उपकरण कम्प्युटरका 'पाटर््स' भन्दै भिœयाउने र जडान गरी फर्कने गरेको हो ।
बंगलादेशी नागरिक बकेएम फैजाल, मोहम्मद हसन र नयनले नेपालबाट कल बाइपास सञ्चालनको अन्तर्राष्ट्रिय सञ्जाल चलाएको प्रहरीले जनाएको छ । गिरोहलाई केही व्यापारी र इन्टरनेट सेवाप्रदायक कम्पनीको समेत सहयोग रहे पनि प्रमाण जुटाउन नसकेकाले कारबाही हुन नसकेको सिआइबीको दाबी छ ।
यसरी हुन्छ कारोबार
नेपालमा विदेशबाट आउने र यहाँबाट विदेश गरिने कलमा नेपालका मुख्य दूरसञ्चार सेवाप्रदायकले उपलब्ध गराउने बाटो परिवर्तन गरी आफूखुसी चलाउने कारोबारलाई कल बाइपास भनिन्छ । गिरोहले अन्तर्राष्ट्रिय दूरसञ्चार कम्पनी र गेटवे भएका गिरोहसँग मिलेमतोमा कल बाइपास गर्ने गरेका हुन् ।
'सोझो बाटो छाडेर अर्को बाटोमा लैजाने प्रक्रिया नै कल बाइपास हो, त्यसबापत गिरोहले अर्बौं रकम लैजाने गरेको छ,' एसपी लोहनीले प्रस्ट्याए ।
सिमदाता समेतलाई कारबाही तयारी
प्रहरीले यस आर्थिक वर्षको सुरुआतदेखि कल बाइपास प्रकरणमा बरामद हुने सिमकार्डका हकवालालाई समेत कारबाही दायरामा ल्याउने तयारी गरेको छ । सिमदातालाई कुनै कारबाही नहुँदा सिम दुरुपयोग हुन सक्नेबारे सर्वसाधारणमा चेतना नआएको सिआइबीले जनाएको छ ।
दस वर्षको अवधिमा प्रहरीले कल बाइपासमा प्रयोग भएका करिब २२ हजार सिमकार्ड बरामद गरेको छ । नेपाल टेलिकम, एनसेल, स्मार्ट र युटिएलबाट जारी ती सिमकार्डमध्ये कतिपय यस्तो व्यक्तिका नाममा छन्, जसको घटनामा कुनै सरोकार छैन । निश्चित कमिसन लिएर नागरिकता र फोटो टाँसेकै भरमा सिम उपलब्ध गराउने गिरोहसमेत सक्रिय रहेको सिआइबीको निष्कर्ष छ ।
'सेवाप्रदायककै साँठगाँठ'
दूरसञ्चार सेवाप्रदायक कम्पनीको नियमन र अनुगमन गर्दै आएको नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायकको लोभका कारण कल बाइपास फस्टाएको जनाएको छ । प्राधिकरण निर्देशक पुरुषोत्तम खनालले सेवाप्रदायक कम्पनीले इन्टरनेसनल टर्मिनल चार्ज घटाउने प्राधिकरणको प्रस्ताव नमान्दा समस्या गहिरिएको बताए । टर्मिनल शुल्क घटाएर कल बाइपास रोक्ने प्राधिकरणको योजनामा मुख्य सेवाप्रदायकले नै साथ नदिएको उनको आरोप छ ।
'प्रहरी कारबाहीले मात्र भिओआइपी रोक्न सम्भव छैन, प्राधिकरणले केही उपाय प्रस्ताव गरे पनि सेवाप्रदायकले मानेनन् अनि कसरी रोकिन्छ,' उनले भने । कल बाइपास गिरोहसँग इन्टरनेट सेवाप्रदायक कम्पनीको समेत साँठगाँठ रहेको निर्देशक खनालले आरोप लगाए ।
अब नयाँ अपरेसन
केन्द्रीय अनुसन्धान ब्युरोले स्थापनाकालदेखि कल बाइपासविरुद्ध सञ्चालन गर्दै आएको 'अप्रेसन भ्वाइस फक्स' अब बन्द गर्ने भएको छ । अन्तर्राष्ट्रिय गिरोहले अत्याधुनिक उपकरण र प्रविधि प्रयोग गर्न थालेको सन्दर्भमा प्रहरीका केही सदस्य कल बाइपास खोज्दै हिँड्नुपर्ने अवस्था सुधार गर्न अप्रेसन बन्द गर्न लागिएको ब्युरोले जनाएको छ ।
अब पुनःसंरचनासँगै नयाँ नाम, उपकरण र अधिकारीसहित प्रभावकारी अपरेसन सञ्चालनमा ल्याउने ब्युरोको योजना छ । सम्भवतः साउन १ गतेदेखि अप्रेसन भ्वाइस फक्स अन्त्य गरी नयाँ अपरेसन थालिने डिआइजी सिलवालले बताए ।
'१० वर्षमा प्राप्त उपलब्धि र कमजोरी समीक्षासँगै कल बाइपासबिरुद्ध नयाँ ढंगले अपरेसन सञ्चालनमा आउनेछ,' उनले भने, 'हामीमा केही परिमार्जन आवश्यक देखियो, अपराधी दिनदिनै हाइटेक बन्दै गएकाले पुरानो बन्द गरी नयाँ ल्याउने तयारी गरिएको हो ।'
प्रहरीले दूरसञ्चार प्राधिकरण र सेवाप्रदायक कम्पनीसँग सहकार्यमा दूरसञ्चार ऐन २०५३ को दफा ४७ उपदफा ५ अनुसारको अपराधविरुद्ध अपरेसन सञ्चालनमा ल्याएको हो । कानुनअनुसार व्यक्तिले दूरसञ्चार लाइन, दूरसञ्चार प्रणाली वा त्यससँग सम्बन्धित अन्य कुनै संरचना वा उपकरणमा प्रतिकूल असर पर्ने गरी कुनै काम गरे, बिगारे वा हानी–नोक्सानि पुर्याए अपराध गरेको ठहर्छ । यस्तो कसुरमा हानि–नोक्सानीको बिगोबमोजिम जरिवाना, ५ वर्ष कैद वा दुवै हुन सक्ने व्यवस्था छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...