तस्बिर : आश गुरुङ लमजुङ
जेष्ठ १५, २०७३- नवौं गणतन्त्र दिवसको दिन यहाँका गुरुङ समुदाय सडकमा निस्किएका छन् । बिहानदेखि परिरहेको झरीको वास्ता नगरी उनीहरुले बेसीशहर बजार परिक्रमा गरे ।
मौलिक पोशाक गुन्योचोली, भोटोकछाड, ढाकाटोपी लगाएर निस्किएका गुरुङ समुदायले सडकमै नाचे । उनीहरुका साथ गुरुङ पुरोहित घ्याब्रे, पच्यु, बोन लम लगायतले झाँकी देखाए ।
तमु प्ये ल्हु संघ लमजुङको पहिलो वार्षिकउत्सव तथा अधिवेशनको अवसर पारेर गुरुङ समुदाय सडकमा निस्किएका हुन् । ‘गणतन्त्र दिवसकै दिन गुरुङ समुदायलाई सडकमा ल्याएर भाषा, कला, संस्कृति र पहिचानबारे बुझाउन कार्यक्रम गरेका हौं,’ तमु प्ये ल्हु संघ लमजुङका अध्यक्ष क्या. मिलबहादुर गुरुङले भने ।
शनिबार दिउँसो झरिका समय छाता ओडेर सडकमा निस्कएका उनीहरु शान्तिटोल तमू आमा समूहको भवनमा जम्मा भए । प्लेकार्डसहित सडकमा निस्किएका उनीहरुले पहिचानसहितको संघीयता माग गरे । उनीहरुले पहिचानविना जातीय अस्तित्व नरहने जिकिर गरे ।
भाषा, कला र संस्कार संस्कृतिको संरक्षण र सम्वद्र्धनमा राज्यले चासो नदिएकाले संकटमा परेको उनीहरुले आरोप लगाए । जातीय अस्तित्व कायम राख्न सबैभन्दा पहिले संस्कृति जोगाउनुपर्ने उनीहरुको धारणा थियो ।
कार्यक्रममा गाउँगाउँ, विदेश, पोखरा, काठमाडौं लगायत ठाउँबाट समेत गुरुङ समुदायका व्यक्तित्व आएका छन् । तमु प्ये ल्हुसंघका केन्द्रीय अध्यक्ष रुपबहादुर गुरुङ, नेपाल प्रहरीका पूर्व आइजीपी हेमबहादुर गुरुङ, तमु प्ये ल्हु संघ युएईका अध्यक्ष मुक्ति गुरुङ, सांस्कृतिक संयोजक महेश गुरुङ, संघका कतार अध्यक्ष युद्धजंग गुरुङ, कास्की अध्यक्ष भीमबहादुर गुरुङ लगायत गुरुङसँग अवाद्ध विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको तमु प्ये ल्हु संघ लमजुङका सचिव मनमाया गुरुङले बताइन्


0 comments
प्रतिक्रिया दिनुहोस्...