शनिबार २५ सय ६० औं बुद्ध जयन्ती धुमधामका साथ मनाइँदैछ । बुद्धको जन्मस्थल लुम्बिनीदेखि संयुक्त राष्ट्रसंघ र भगवान बुद्धलाई मान्ने धेरै देशहरुमा आज बुद्ध जयन्ती मनाइँदै छ । आजकै दिन बुद्धले बुद्धत्व प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि प्राप्त गरेका थिए ।
भगवान बुद्धले बुद्धत्व प्राप्त गरेको र उनको जन्मस्थानको विषयलाई लिएर संसारभर विभिन्न बहसहरु समेत हुने गरेका छन् । त्यसर्थ, नेपाल सरकारको आयोजनामा आजकै दिन भगवान बुद्धको जन्मस्थल, उनले प्राप्त गरेको बुद्धत्व लगायतका विषयहरुलाई छर्लङ पार्ने उद्धेश्य र लुम्बिनी अर्थात नेपाललाई विश्वभर स्थापित गर्ने उद्धेश्यका साथ अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन समेत भैरहेको छ ।
वास्तवमा आजभन्दा पच्चिस सय वर्षअगाडि अर्थात ईपू ५६३ वैशाख पूर्णिमाका दिन कपिलवस्तुमा शाक्य वंशको कोखमा जन्मिएका सिद्धार्थ गौतम (भगवान) बुद्ध) र उनको विषयलाई लिएर संसारभर विभिन्न बहसहरु भइरहेता पनि यो विषयमा इतिहासविदहरुको एउटै निश्कर्ष छ, ‘भगवान बुद्धको जन्म नेपालको कपिलवस्तुमै भएको हो ।’
यसै,सन्दर्भमा इतिहासकारहरुले दाबी गरेका भगवान बुद्ध र उनको राज्यकालमा जोडिएका केही रोचक प्रसंगलाई हामीले यहाँ प्रस्तुत गरेका छौ ।
गौतम बुद्धको जन्म कपिलवस्तुका शाक्यवंशी परिवारमा भएको थियो । गौतम बुद्ध २९ वर्षसम्म आफ्नो दरबारमा बिताएर शान्तिका लागि दरबारबाट बाहिरिएका थिए ।
त्यसपछि उनले पहिलो उपदेश सारनाथमा पुगेर दिएका थिए । त्यहीबाट सुरु हुन्छ उनको अन्तरध्यानमय यात्राको सुरुवात । त्यसबेला उनले पाँचजना गृहत्यागी भिक्षुहरुलाई उपदेश दिएका थिए । भगवान बुद्धबाट उपदेश लिने पहिलो भिक्षु कौडन्य थिए, जो कपिलवस्तुकै थिए । त्यस्तै, उनको जीवनसँग जोडिएकी पत्नी यशोधरानै पहिलो महिला भिक्षुनी थिइन् ।
कपिलवस्तुका राजा शुद्धोदन र रानी मायादेवीको कोखबाट जन्मिएको सिद्धार्थ गौतमलाई हुर्काउने काम भने राजाकी कान्छी रानी प्रजापतिबाट भएको बताइन्छ । बुद्धत्व प्राप्त गर्न दरबारबाट बाहिर निस्केका सिद्धार्थ दोश्रो वर्षावासमा कपिलवस्त पुगेका थिए ।
युद्धमा हारेका बुद्ध
त्यसबेला छिमेकी कोशल राज्यका प्रसेनजितले कपिलवस्तुकी शाक्य वंशकी कन्या विवाह गर्ने इच्छा जाहेर गरेर त्यहाँ पुग्दा एउटा डरलाग्दो घटनाको सुरुवात भएको थियो ।
कपिलवस्तुका शाक्य राजाहरुको मिलेमत्तोमा प्रसेनजितलाई ल्याईतेपट्टिकी महिलाबाट जन्मेकी छोरीसँग षडयन्त्रपूर्वक विवाह गरियो । सो विवाह पछि उनीहरुबाट एक बालकको जन्म भयो, जसको नाम विरुद्धक थियो ।
उनी एक दिन मावली जाँदा कपिलवस्तुका शाक्यहरुले ठूलो अपमान गरे । त्यसपछि उनले मावलीविरुद्ध त्यसको बदला लिएरै छाड्ने अठोट गरे । त्यसको लगत्तै रोहीणी नदीको पानी बाँडफाँडको विषयलाई लिएर ठूलो झगडा पर्यो ।
तीनपटक सम्म त उक्त झगडा गौतम बुद्धले मिलाएका थिए । चौथो पटकको युद्धमा भने गौतम बुद्धले हार खाए । झगडा मिलाउन सकेनन् । मावलीको इखले भएको सो लडाईमा विरुद्धकले कपिलवस्तुका करिब ७७ हजार मानिस मारेको इतिहासमा उल्लेख छ ।
त्यसपछि शाक्य र कोलीहरु भागेर काठमाण्डु उपत्यकामा प्रवेश गरेको प्रसंग प्रध्यापक डा.रामप्रसाद उपाध्यायले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
बुद्धको जन्म र त्यसको भ्रम
बुद्धको महापरिनिर्वाण अघि उनका बारेमा कुनै ग्रन्थहरु लेखिएनन् । उनको जीवनीमा आधारित पहिलो ग्रन्थ कविताको शैलीमा महाकवि अश्वघोषले उतारेका थिए । महाकवि अश्वघोषनै भगवान बुद्धको जीवनी उतार्ने पहिलो विद्धान हुन् ।
त्यसपछि लुम्बिनी भ्रमणमा आएका चिनियाँ भिक्षुहरु फाइयान र युवान चाङ लगायतले बुद्धको जन्मस्थल र उनको जीवनीबारे विश्वभर प्रचारप्रसार गराउन सहयोग पुर्याएका थिए । हिन्दुस्तान (भारत)बाट आएका प्रियदर्शी सम्राट अशोकले समेत भगवान बुद्धको बारेमा स्पष्ट विचार राखेका स्तम्भहरु भेटिएका छन् ।
सम्राट अशोक भगवान बुद्धले महानिर्वाण प्राप्त गरेको २९४ वर्षपछि अर्थात इपू २४९ मा आफ्ना गुरु उपगुप्तका साथ नेपालको लुम्बिनी भ्रमणमा आएका थिए र उनले त्यसबेला कपिलवस्तु भ्रमण गरेर एक लाख सुनका सिक्का दान गरेको इतिहासमा उल्लेख छ । सोही बेला उनले आफ्नो नाममा अशोक स्तम्भ खडा गरेका थिए ।
अशोक स्तम्भ खडा गर्दै उनले लेख्न लगाएका पंक्ति यस्ता छन्, ‘राज्याभिषेक भएको बीस बर्ष पुगेका(२५० इपू) देवताहरुका प्रिय, प्रियदर्शी राजाले स्वयं यहाँ आएर पुजा गरे । यहाँ शाक्यमूनि बुद्ध जन्मेका थिए भनी ढुंगाको ठूलो पर्खाल बनाइयो र शिलास्तम्भ खडा गरियो । यहाँ भगवान जन्मेका थिए भनी लुम्बिनी वलि र अष्ट भाग क्षमा गरियो ।’ सम्राट अशोकले आफ्नो स्तम्भमा लेख्न लगाएका उल्लेखित पंक्तिले पनि भगवान बुद्धको जन्मस्थलबारे चलेका संसारभरका भ्रमहरुलाई खारेज गरिदिन्छ ।
गौतम बुद्धको पालाको लडाई र जीवनपछि कपिलवस्तु विस्तारै उजाड बन्दै गएको बताइन्छ । भारतमा मुसलमान र हिन्दुहरुको शक्ति संघर्षले यो पवित्र भूमि थुप्रै सय वर्ष उजाड बनेको थियो ।
पछिल्ला करिब ५ सय वर्षयता सो क्षेत्रको बारेमा विशेष खोज तथा अनुसन्धानका लागि नेपाल र भारतले विशेष चासो दिएको देखिन्छ । लुम्बिनीको पूरातात्विक विकासमा पहिलोपटक ध्यान दिने नेपाली व्यक्तित्व केशर शम्शेर जवरा हुन्, जसले लुम्बिनीको खोज तथा अनुसन्धान यात्राको पहिलो पाइला चालेका थिए ।
यसबेला नेपालमा भगवान बुद्धले दिएको दर्शन र उनको विश्वभर चम्किएको व्यक्तित्वलाई थप उजागर गर्ने उद्धेश्यका साथ अन्तर्राष्ट्रिय बुद्ध सम्मेलन जारी छ । त्यसमा संसारभरका दर्जनौ संस्कृतिमन्त्री, भगवान बुद्ध र उनको दर्शनसँग विशेष दख्खल राख्ने अध्ययेताहरु, विभिन्न देशका भिक्षुहरु लगायतले भगवान बुद्धको जन्मस्थल भरिभराउ छ ।
सम्मेलनले भगवान बुद्ध, उनको दर्शन र विश्वदृष्टिकोणबारे नयाँ घोषणापत्र समेत जारी गर्नेछ । यो सम्मेलनले युगौदेखि भगवान बुद्धबारे रहेका भ्रमहरु समेत खारेज गरिदिने आयोजकहरुको दाबी छ ।
प्रस्तूति–रंगलाल रिमाल


0 comments
प्रतिक्रिया दिनुहोस्...