-->
डेढ सय प्रदर्शनकारीलाई पाँच वर्षे काराबास

कायरो– इजिप्टको कायरोस्थित दुई अदालतले गएको महिनामा सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका १५२ जना प्रदर्शनकारीलाई दुईदेखि पाँच वर्षको काराबास सजाय तोकेका छन् । इजिप्टको सन् २०१३ मा बनेको एक विवादित कानुनको आडमा उनीहरूलाई काराबासको सजाय तोकिएको हो ।
सन् २०१३ मा निर्माण गरिएको उक्त कानुनले सडक प्रदर्शनमाथि रोक लगाएको थियो । सडक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका १५२ जनामध्ये ७९ जनालाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर जरिवानासहित पाँच वर्षको काराबासको सजाय तोकिएको हो ।
सरकारविरुद्धको प्रदर्शनमा गएको अप्रिल २५ मा प्रदर्शन गर्न विभिन्न ठाउँबाट इजिप्टको राजधानी कायरो आएका प्रदर्शनकारीमध्ये उक्त दिन करिब एक हजार २ सयलाई पक्राउ गरिएको थियो । उनीहरूमध्ये धेरैजसोलाई अनुसन्धानपछि रिहा गरिए पनि करिब ३०० प्रदर्शनकारीलाई कानुनको बर्खिलाप गरी सडकमा उत्रिएको आरोपमा मुद्दा चलाइएको थियो ।
इजिप्टको अदालतद्वारा सडकमा शान्तिपूर्ण प्रदर्शन गर्न उपस्थित भएका नागरिकमाथि जेल सजाय तोक्नु नागरिकले सरकारले गरेका काम कारबाहीप्रति असहमति जनाउन पाउने अधिकारप्रति शून्य सहनशीलताविरोधी गतिविधि भएको आन्दोलनरत पक्षले बताएको छ ।
यता इजिप्टका राष्ट्रपति अब्देल फताह अलसिसीले सरकारविरद्धको आन्दोलनका नाममा इस्लामिक स्टेट (आइएस) लडाकुद्वारा सिनाइ लगायतका स्थानमा गरेको आक्रमणलाई नियन्त्रण गर्न तथा राष्ट्रको अर्थतन्त्रलाई बिग्रन नदिन सरकारले आन्दोलन पक्षधर समूहमाथि कडा नीति लिनु परेको बताएका छन् ।
उनले इजिप्टको मानव अधिकारका घटना पश्चिमी मुलुकको मापदण्डअनुरुप बन्न नसक्ने बताउँदै देशमा अमनचैन कायम गर्न आफ्नै कानुनबमोजिम सरकार चल्ने बताएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.