-->
बेलायती सेनाको उच्च तहमा पुगे गुल्मीका राना

फडिन्द्र भट्टराई
लण्डन, मङ्सिर २८ । नेपालको गुल्मी घर भएका यम बहादुर राना प्रकृयागत पदोन्नति मार्फत बेलायति सेनाको उच्च पदस्थ अधिकारी लेफ्टिनेन्ट कर्णेल मा बढुवा भएका छन । ब्रिटिश आर्मीको बढुवा समितिले यहि साता उनलाई पदोन्नति गर्ने निर्णय गरेको हो । हाल सम्म यो पदमा अरु दुई जना नेपाली पुगी सकेको भए पनि सेकेन्ड लेफ्टिनेन्टको कोर्स बिनै यो पदमा पुग्ने उनी पहिलो नेपाली हुन ।
बेलायती सेनाको ब्रिगेड अफ गोर्खाजको मुख्यालयमा काम गरि रहेका रानाको मातहतमा अब एउटा छुट्टै बटालियन रहने छ। सेनाको सिपाहीबाट शुरु गरेर ब्रिटिश आर्मीको यो तह सम्म पुगेर उनले बेलायती गोर्खाली माझ ईतिहांस रचेका छन । प्रतिस्पर्धामा थुप्रै गोराहरुलाई पछाडी पार्दै उच्च पदस्थ बनेका रानाले कठोर परिश्रम र दृढता नै सफलताको कारक बताएका छन ।
गुल्मीको लिम्घा बाटै प्रार्थमिक शिक्षा लीएका रानाको बुवा र हजुर बुवा पनि लाहुरे पृष्ठभूमिका नै थिए । चिकित्सक बन्ने सोचले काठमान्डूको महाराजगंजमा मेडिकल कलेज पढदा पढ्दै परिवारको जोडले बेलायती सेनामा भर्ति भएका रानाले सेवा अवधिमै बेलायतको बोर्नमाउथ युनिभर्सिटीबाट बिएससी अनर्स र मास्टर्स गरेका थिए ।उनको यो अध्ययनको निरन्तरताले पनि यहा सम्म पुग्न मद्दत गरेको उनको बुझाई छ । बेलायति सेनामा कार्यरत गोर्खाली सैनिकहरुलाई पक्षपात पूर्ण व्यवहार हुने आरोपहरुका बीच रानाको उच्च तहमा भएको पदोन्नतिले सेवामा रहेका भावी पुस्तालाई समेत सम्भावनाको ढोका खोलि दिएको छ ।
ईतिहासलाई फर्केर हेर्दा सन् १८१४ को नेपाल – अंग्रेज युद्दमा नेपाललाई कब्जा गर्न नसके पछी बहादुर गोर्खाली सैन्यलाई आफ्नो टुकडीमा भर्ति गर्ने अंग्रेजको नीति अनुरुप शुरु भएको गोर्खा भर्तीले दुई शताब्दि पुरा गरि सकेको छ । पूर्वी नेपालका राई लिम्बु तथा मध्य पश्चिमका गुरुङ मगरहरुको बाहुल्यता रहेको बेलायतको गोर्खा ब्रिगेडमा भर्ति हुने आकर्षण भने सामुदायिक रुपमा अझै पनि उत्तिकै रहेको छ ।
गोर्खालीहरुको बेलायति सेनामा भर्ति शुरु भएको दुई सय वर्षको ईतिहास बन्दै गर्दा बेलायतले भने नेपालबाट सेनामा नया भर्ना लिने संख्यामा उल्लेख्य कटौती गर्दै आईरहेको छ । हाल बेलायति सेनामा झन्डै चार हजार गोर्खाली सैनिकहरु कार्यरत छन । सेना बाट अवकास प्राप्त हजारौ गोर्खाली परिवारहरु बेलायतमा बसोबास गर्दै आएका छन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.