काठमाडौं । माओवादीहरु फुट्ने र जुटने खबर नौलो होइन । कहिले थाहै नपाई फुट्ने त कहिले जुट्ने खबर यसअघि पनि नआएको होइन । सत्तोसराप गरी सार्वजनिक रुपमै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एमाओवादी समाप्त हुने ठोकुवा गरेका नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा (बादल) पार्टी अध्यक्ष मोहन वैद्यलाई धोका दिँदै एमाओवादीसँग एकतामा जाने निश्चित भएपछि सबैको ध्यान माओवादी एकतामा जोडिएको जनप्रहार साप्ताहिकमा प्रकाशित छ ।
‘कुखुराको पखेटा चपाउँदै, महलमा बसेर जनतालाई हजारौँ सपना बाँड्दै अर्बपति बन्न खोज्नेसँग अब एकता हुन सक्दैन’ भन्दै प्रचण्डमाथी आक्रमक हुँदै छुटिएका बादलले एकताको नाममा एमाओवादीसँग आत्मसमर्पण गर्छन् भन्ने कुराको त वैद्यले कल्पना समेत गरेको थिएन । ०६९ असारमा पार्टी विभाजन हुँदा प्रचण्डलाई वैद्यले त्यति धेरै गाली गरेनन्, जति बादलले गरे । बादल एकतामा जान नसक्ने अड्कलबाजी गर्दै बसेका वैद्य पार्टीभित्रका केही नेताहरुको लहै लहैमा लाग्दा बिचल्लीमा परेका छन् । माओवादी आन्दोलनलाई सशक्त बनाउन भन्दै बादलले जेठ १ गते एकतामा जाने निर्णय गरेसँगै वैद्यलाई पार्टीबाट हटाई आफैँ अध्यक्ष बनेपछि वैद्यको दाँतबाट पसिना छुटेको छ ।
आफ्नै पार्टीका नेताहरुले पदबाट हटाएर पार्टीको पुर्नगठन गरेपछि वैद्यले आफूलाई धोका दिनेहरुको सुची नै तयार पारेका छन् । बहुमत केन्द्रीय सदस्यले छाडेर गएपछि छाँगाबाट खसेझैँ भएका वैद्यले आफूलाई छाडेर एमाओवादीसँग एकतामा गएका बादलसहितका धोकेवाजहरुको मात्रै होइन, एकतामा जानु हुन्न भन्दै फकाएर बिचल्लीमा पार्नेहरुको समेत सूची तयार पारेका छन् ।
‘बादलजीले अध्यक्ष नै हटाएर एकतामा जाने निर्णय गर्छ भन्ने कुराको हामीले कल्पना समेत गरेको थिएन’ वैद्य निकट एक नेताले भने, ‘बादलजीहरुले गर्नुभएको निर्णयपछि वैद्यजी निकै निरास हुनुहुन्छ ? सायद त्यति धेरै निरास मुद्रामा मैले उहाँलाई अहिलेसम्म देखेको छैन ।’
बादलसहितका टोलीको निर्णयको केही समयसम्म बन्द कोठाभित्र एक्लै बसेका वैद्यले एक घण्टापछि ६ पेज लामो विज्ञप्ति निकालेका थिए । विज्ञप्तिसहित उनले आफूलाई धोका दिने र बिचल्लीमा पारेका नेताहरुको समेत नाम तयार पारेका छन् ।
वैद्यलाई जनवादी क्रान्तिको नाममा उचाल्दै नराम्रोसँग भुईमा पछारेर बिचल्लीमा पारेका पहिलो नेताको सूचीमा भने पार्टी उपाध्याक्ष सिपी गजुरेल पर्छन् । जनयुद्धकालमा धेरै समय अन्तर्राष्टिय विभाग सम्हालेका गजुरेलको विदेश सम्बन्ध निकै राम्रो भएको मानिन्छ । विदेशी इशारामा चल्दै वैद्यलाई विभिन्न आश्वसन दिई एकतामा जान रोकेका गजुरेल वैद्यलाई एकताबाट छुटाई बिचल्लीमा पर्ने मध्येका नायक हुन् ।
बादलले निर्णय लिनुपूर्व दिनको ५ पटक वैद्य निवासमै पुगेर सिपीले एकतामा जानुभन्दा राजनीतिबाटै सन्यास लिन उचित हुने सुझाव दिएको स्रोतको दावी छ । ‘षड्यन्त्रपूर्ण ढंगले सिपीलगायतका एउटा टोलीले फकाई–फकाई वैद्यजीलाई बिचल्लीमा पार्न खोज्नुभयो, तिनीहरु सबैलाई वैद्यले चिनिसकेका छन्’ स्रोतले भन्यो ।
प्रचण्डसँग मिल्न नहुने भन्दै वैद्यलाई फकाउनेमा जनयुद्धकालमा माओवादीको विरोध गर्दै बसेका परि थापा पनि पर्छन् । सिपीसँगै सहायक पात्रका रुपमा देखिएका परिसँग केही महिनाअघि मात्रै वैद्य माओवादीको एकता भएको थियो । परिले पनि वैद्यलाई एकतामा जान नहुने भन्दै बरु सानो संगठन भए पनि चलाएर बस्नुपर्ने बताएका थिए ।
अर्को नेता इन्द्रमणि अधिकारी पनि सिपी र परिसँगै देखिएका पात्र हुन् । उनी त झन् डबल रोलमा देखिन्थ्यो । एक दिन एकतामा नगए जनयुद्धको सबै उपलब्धि सखाप हुने सम्भावना बढेर गएको छ भन्दै वैद्यकै अगाडि क्वाँ क्वाँ रोएका अधिकारी अर्को दिन एकतामा गए वैद्यको अस्तित्व समाप्त हुने बताउँथे । यसरी डबल रोलमा देखिएका सहायक पात्र अधिकारीलाई पनि वैद्यले आफ्नो सूचीमा राखेका छन् ।
त्यसैगरी हरिभक्त कँडेल पनि वैद्यलाई दिनदिनै फकाई बिचल्लीमा पार्नेमध्येका एक पात्र हुन् । प्रचण्ड प्रवृत्तिको राम्रोसँग व्याख्या गर्ने कँडेलले वैद्यलाई एकतामा जान नहुने कारणसहित बिफ्रिङ्ग गरेपछि वैद्य पनि दंग पर्थे । कुनै समय एकतामा जाने मनसायमा रहेका वैद्यलाई फकाई फुलाई बिचल्लीमा पार्ने उनीहरु मात्रै होइनन् अरु दर्जनौ नेताहरु छन् ।
त्यसैगरी चन्द्रप्रसाद गजुरेल, इन्द्रमोहन सिग्देल, रामसिंह श्रीष, सीताराम तामाङ, केबी गुरुङ, प्रेमनाथ सुवेदी, हर्कबहादुर शाही, दिनेश शर्मा, चन्द्रहरि सुवेदी, श्रीनाथ अधिकारी, कृष्णदेवसिंह दनुवार, पवनमान श्रेष्ठ, राम आचार्य, कमल चौधरी, डाचाराज वाग्ले, केशबहादुर परियार, नगेन्द्र राई, धनजित शाही, धनेश्वर पोखरेल, हरिबहादुर चुमाल, मोहनहरि पौडेल, बुद्धिराम गुरुङ, अशोक लम्साल, सुरेश श्रेष्ठ, लक्ष्मी मुडभरी, शोभा कट्टेल, मदन तामाङ, रोशन जनकपुरी, रसिद अन्सारी, शिवराम यादव, ईश्वरचन्द्र ज्ञवाली, कुमार साह, जगदीशचन्द्र भण्डारी, हीरामणि दुस्खी, बद्री बजगाईं, चक्रपाणि शर्मा, हस्तबहादुर केसी, पीताम्बर शर्मा लगायतका छुट्टै टोलीले वैद्यलाई बारम्बार एकतामा जान नहुने भन्दै फकाउँदै आएको बताइन्छ । कुल १ सय ९९ केन्द्रीय सदस्यमध्ये १ सय ३० भन्दा बढी सदस्य बादलसँगै एमाओवादीसँग एकता गर्न तयार भएका छन् । अहिले वैद्यसँग झण्डै ५० जनाभन्दा बढी सदस्य छैनन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...