एजेन्सी / नेपालबाट निकै टाढाको देश बेलायत । थुप्रै समुद्री यात्रा पार गरेर पुगिने यो देशमा नेपालीहरुका लागि भने बाँच्नु कम्ती चूनौतीपूर्ण छैन । धन सम्पति कमाउन र अध्ययन–अध्यापनका लागि भनेर बेलायत पुग्ने नेपालीहरु निकै छन् ।
उनीहरुको पहिलो उद्धेश्य त्यहाँ धेरैभन्दा धेरै सम्पति कमाउनु र जति सकिन्छ अध्ययन गर्नु नै हुने गर्छ तर पछिल्लो समयमा एक नेपाली मूलका नागरिकले सो दुरादेशमा यी सबै कर्महरुलाई ओझेल पार्दै एउटा ऐतिहासिक रेकर्ड तोडिदिएका छन् ।
गुल्मी जिल्लामा जन्मेर बेलायत पुगी सो ऐतिहासिक रेकर्ड तोड्ने नेपाली हुन्, शंकर गैरे, जो भर्खरै बेलायतको ‘मिनी सत्ता’ भनेर चिनिने मेयर पदमा निर्वाचित भएका छन् ।
बुधबार भएको निर्वाचनमा गैरे स्वान्ली टाउन काउन्सिल केन्टका लागि मेयर निर्वाचित भएका हुन् ।सन् १९९४ मा नेपालबाट बेलायत प्रवेश गरेका गैरे बेलायतकै इतिहासमा मेयर बनेर मिनी सत्ताको नेतृत्व गर्ने पहिलो नेपाली हुन् । अब उनले सो मेयर पदमा रहेर सो काउन्सीलको एक वर्षको नेतृत्व गर्नेछन् ।
सन् २०१५ मा सत्तारुढ कन्जरभेटिभ पार्टीबाट क्राइष्ट चर्च वार्डको काउन्सिलर बनेका उनी सोही साल उपमेयर पदमा निर्वाचित हुन सफल भएका थिए । त्यसको लगत्तै उनी अहिले मेयर बनेका हुन् ।
बेलायतमा ट्याक्सी व्यावसाय गरेर बसेका गैरे राजनीतिका अतिरिक्त नेपाली प्रवासी संघ–संस्थाहरुमा समेत क्रियाशील रहेका थिए । अब उनले सो क्षेत्रका करिब २० हजार अंग्रेजहरुलाई कुशल नेतृत्व दिनुपर्नेछ । गैरेलाई काउन्सिलर जोन बार्नेस्ले जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
काठमाण्डु टुडेबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...