‘नेपाली जनता भेडा हुन् भारतसँग माफी माग्नु पर्छ’ यो वाक्य म गगन थापाले राजधानीमा आयोजित एक कार्यक्रममा बोलेको भनेर यो हप्ता यसलाई भाइरल बनाइयो । सुरुमै म स्पष्ट पार्न चाहन्छु कि मैले मंगलबार भाग लिएको संसद बैठक मात्रै हो । अरु कार्यक्रममा भाग लिएको र बोलेको छैन ।
‘जहाँसम्म मैले नेपाली जनता भेडा हुन् र भारतसँग माफी माग्नु पर्छ’ भन्ने कुरा छ यो मेरो विचार र धारणासँग नै नमिल्ने कुरा हो । भारतले नाकाबन्दी लगाउँदा यो नाकाबन्दी नै हो, कांग्रेस खुट्टा कमाउन हुँदैन, बैठकबाट नाकाबन्दी पास गरेर भारतको दादागिरीविरुद्ध लड्नुपर्छ भनेर निरन्तर आवाज उठाएँ । नेपालको आन्तरिक राजनीतिमा भारत होस् या चीन यीनीहरुलाई एक इञ्च पनि जमिन दिनु हुँदैन, यिनीहरुको हस्तक्षेप स्वीकार गर्न सकिँदैन भन्ने मेरो अविचलित धारणा थियो, हो र रहिरनेछ । भारतको नाकाबन्दी कहिल्यै विर्सन हुँदैन, यस घटनाबाट पाठ सिकेर आत्मसम्मानपूर्वक बाँच्ने विधि हामी नेपालीले खोज्नु पर्छ भन्ने मेरो लाइन हो ।
दोस्रो नम्बर कुरा, जब मेरो छवि नै ड्यामेज गर्ने नियतले अनलाईन मिडियामार्फत यस्तो भ्रामक समाचार बाहिर आयो, त्यसपछि मैले सम्बन्धित अनलाईनमा फोन गरेँ । अरु सामान्य कुरा भएको भए म कल गर्ने नै थिइनँ । तर हुँदै नभएको र बोल्दै नबोलेको गम्भीर विषय आउँदा त्यसपछिको भ्रम चिर्नुपर्ने हुँदो रहेछ । मैले सम्बन्धित अनलाइनमा फोन गर्दा त्यहाँको सम्पादकले भन्नुभयो कि, ‘दाई, यो समाचार कसैले फोनबाट टिपाएको थियो, त्यही आधारमा समाचार बनाएको हो । यसलाई हामी फेरि बुझ्ने काम गर्छौं ।’ नभन्दै उहाँहरुले त्यो विषयमा बुझ्नु भएछ र मलाई फोन गर्नुभयो । र समाचार गलत भएको स्वीकार गर्नुभयो । उहाँहरुले समाचार हटाएर खण्डन राख्नु भयो । तर जसले त्यो अनलाईनको खबरलाई साभार गरेका थिए, उनीहरु कसैले पनि पछिल्लो डेभलपमेन्टबारे समाचार लेखेनन् । यसबाट मेरो बारेमा भ्रम फैलियो, अझै फैलिरहेको छ ।
तेस्रो नम्बर, मैले यसपटकको यो समाचार चाहिँ नियोजित ढंगले आएको ठहर गरेको छु । मेरो फोटो राखेर त्यसमाथि ‘टेक्स्ट’मा नेपाली जनता भेडा हुन्, भारतसँग माफी माग्नु पर्छ भन्ने लेखेर प्रचार गरिएको छ । यदि नियोजित होइन भने मैले गर्दै नगरेको अपराधमा सजाय किन दिँदैछ ? एक स्वतन्त्र नेपाली जनताको मनमा समेत मेरो छबि धुमिल पार्ने प्रयासमा कोही किन लागेको छ ? यसको सरल र सिधा जवाफ हो यो नियोजित कार्यक्रम हो । यसैको सिकार भए म यसपटक ।
चौथो कुरा, जब जब म कुनै विशेष काम गर्न लाग्छु, कुनै ठूलो योजनामा हात हाल्न खोज्छु, त्यो बेला यसैगरी मेरो बारेमा भ्रम फैल्याइन्छ । महाधिवेशनका बेलामा पनि यस्तै भएको थियो । नेपाली युवाहरुले ममाथि विश्वास गर्नुभएको छ । त्यो मलाई थाहा छ । जो माथि विश्वास गरिन्छ, त्यसले अलिकति दायाँबायाँ गर्न खोज्यो, वा शंकास्पद व्यवहार देखाउन खोज्यो भने उ माथि आक्रोश पनि धेरै उत्पन्न हुन्छ । मैले कतै भारतसँग जोडिएको वा मान्छे झुक्किने खालको धारणा कतै व्यक्त गरेको भए समाचार तोडमोड भएर आएछ भनेर चित्त बुझाउने ठाउँ हुन्थ्यो । तर हुँदै नभएको विषयमा मलाई सिकार बनाइयो । नेपाली युवाहरुले म माथि विश्वास गर्नुभएको छ । मेरो नाम जोडिएर यस्ता विषय आउँदा उहाँहरुलाई रिस उठ्नु स्वभाविक हो । तर म भन्छु, मैले यस्तो बोलेको छैन, बोल्ने पनि छैन । किनभने मेरो मालिक नेपाली जनता हुन्, भारत होइन ।
पाँचौ कुरा मेरो यो प्रकरणमा स्वतन्त्र प्रेसको दुरुपयोग गरियो । मेरो छवि धमिल्याउन मिडिया उपयोग भयो । कसैले उपयोग गर्यो । प्रेस जिम्मेवार भएन भने प्रेसमाथिको विश्वास घट्छ । यो मामिलामा त मैले म माथि अपराध भएको महशुस गरेको छु । यसकारण यो अपराध हो भन्ने मेरो ठहर छ ।(कुराकानीमा आधारित)


0 comments
प्रतिक्रिया दिनुहोस्...