-->
संखुवासभामा श्रृङखलाबद्ध चाेरी : हराएकाे सुन चाेरकाे पेटभित्र भेटीयाे

सङखुवासभा । हरेक सनिबार खाँदबारीको टुडिखेलमा लाग्ने हटियामा किनबेचको लागि आएका तीन महिलाले गलामा लगाएको सुन एकाएक हरायो । ति मध्ये एक जनाले आफ्नो गलामा लगाएको सुन हराएपछि रोईकराई गरे, त्यसपछि अरुले पनि आफ्ले लगाएको सुन छाम्दा दुई जनाको पनि उसै गरी हराएको पत्ताे पाए ।
उक्त घटनापछि प्रहरीले तिब्र खोजी कार्य अघि बढाएसंगै विभिन्न ठाउँबाट चोरीमा संलग्नलाई पक्राउ गरेको छ । हटियामा किनमेल गर्न आएकाहरुको सुन चोरेर भागेका पर्सा जिल्ला बिरगञ्ज उपमहानगरपालिका २३ का २४ बर्षीय रमेश राय यादब, बारा जितपुर–१९ का ४५ बर्षीय राजकुमार यादब, पर्सा हरपत गञ्ज–९ का १७ बर्षीय अमित राय यादब र सुनसरी ईटहरी–८ का ४५ बर्षीय जगनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
बजारमा हल्ला भएपछि अभियुक्तहरु भाग्ने क्रममा प्रहरीले रमेश राय यादब र राजकुमार यादबलाई खाँदबारी कै नयाँबजार छेउमा पक्राउ गरेको थियो । बाँकी अमित राय यादब र जगनारायण चौधरीलाई भने चैनपुर नगरपालिका स्थित खराङबाट पक्राउ गरेको थियो । उनीहरु भाग्ने क्रममा सोहि दिन भोजपुर पुगेको र साँझ पख जङ्गलको बाटो भएर तुम्लीङटारबाट खराङ हुँदै भाग्ने क्रममा पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डिएस्पी गौतमकुमार केशीले बताउनुभयो ।
उनीहरु पेशेवर तरिकाले चोर्दै हिड्ने गरेको खुल्न आएको डिएसपी केशीको भनाई छ । यस अघि भारतको विभिन्न ठाउँमा चोर्ने र लुट्ने गरेको अभियुक्तहरुले बताएको केशीले बताउनुभयो । खाँदबारीमा चोर्न र लुट्नकै लागि ईटहरीदेखि को १ ज २६५७ नम्बरको रातो रंगको बोलेरो गाडी २३ हजार रुपैयाँमा रिजर्भ गरि रातारात खाँदबारी आएको अभियुक्तहरुलाई उद्रिढ गर्दै डिएसपी केशीले बताउनुभयो ।
उनीहरले हाटमा तरकारी किन्न आएका खाँदबारी–१ का दिलकुमारी श्रेष्ठले गलामा लगाएको पाँच तोलाको लकेट, खाँदबारी–१ कै संगिता श्रेष्ठले गलामा लगाएको दुई तोला दुई आनाको सिक्री, सोहि ठाउँकै पासाङ ल्हमु शेर्पाले गलामा लगाएको दुई तोला सुनको लकेट गरि ९ तोला २ आना सुन चोरेका थिए ।
हाटियामा तरकारी लगायतका अन्य सामानहरु किनबेच गर्नेहरुको भिडभाडका कारण आफुहरुले गलामा लगाएको सिक्री चुटाएको पत्तो नपाएको सुनको धनीहरुले बताएका छन् । ‘भिडमा एउटाले कुममा ठेलेको थियो, एक छिनमा छाम्दा गलामा सिक्रि थिएन’ पासाङ ल्हामु शेर्पाले भन्नुभयो, ‘मेरो सुन हरायो भनेर हल्ला गरेपछि मात्र अरु दुई जनाको पनि हराएको थाहा भयो ।’
उनीहरुले चोरेको सुन भने निलेको अवस्थामा फेला परेको डिएसपी केशीले जानकारी गराउनुभयो । ‘अनेक गरेर खोज्यौं तर सुन भेटिएन, उनीहरुको पेटमा हुनसक्ने भनेर एक्स–रे गरेपछि थाहा भयो, सुन त निलेका रहेछन्’ केशीले भन्नुभयो । उक्त सुन उनीहरुले दिसा गरेको बेला निस्कने उहाँको दावी छ । अभियुक्तहरुले पकौडाले डल्लो बनाएर सुन निलेको बताएका छन् । हाल उक्त सुन उनीहरुकै पेटमा छ । अभियुक्तहरुबाट सुन निकालिएपछि मुलुकी ऐन चोरीको महल अनुसार कारवाही हुने डिएसपी केशीले बताउनुभयो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.