धरान–आफ्नो मिल्ने साथी प्रिति बिकको दुवै मृगौला फेल भएको सुनेदेखि धरान ८ की इन्दु राईलाई पर्नुसम्म पीर पर्यो । साथीलाई के सहयोग गर्ने भनेर उनलाई निक्कै छटपटी भयो।

प्रितिको घरको आर्थिक अवस्था नाजुक थियो। उनलाई स्थानीय समाजसेवी धनबहादुर राईले पढाउँदै थिए। प्रितिको बुबा निर्माण मजदुरी गर्छन् भने आमा परिवार नियोजन संघमा पिएनको जागिरे। प्रितिलाई उपचारको लागि आर्थिक अभाव भएको यथार्थ इन्दु लुक्ने कुरा थिएन। जहाँ इच्छा, त्यहाँ उपाय भन्ने नेपाली उखान झैं उनले साथीलाई सहयोग जुटाउने अठोट गरिन्। व्यक्तिगत रुपमा सहयोग रसिद कटाएर उनले संकलन गरेको २८ हजार ३ सय रुपैयाँ आइतबार प्रितिकी आमा प्रर्मिला बिकलाई बुझाइन्।
इन्दुका अनुसार साथीको स्वास्थ्यबारे थाह पाएपछि केही त गर्नुपर्छ भन्ने भावना जाग्यो। त्यसपछि, आफ्ना साथीभाई, आफन्तजनसँग आर्थिक सहयोग उठाउन थालिन्। ‘हामी एकदमै मिल्ने साथी हौं, प्रितिको मृगौला फेल भएको सुनेर दुःख लाग्यो । मैले साथी भएर मात्रै सहयोग गरेको होइन, मानवीयताको हिसाबले पनि सहयोग गरेकी हुँ’, प्रितिकी आमालाई रकम बुझाएपछि इन्दुले भनिन्। बीस वर्षीय दुवै धरान वडा ८ का बासिन्दा हुन्। दुवैले स्कुल र प्लस टुसम्म धरान ८ स्थित ल्याबोरोटरी उच्चमाविमा अध्ययन गरेका हुन्। इन्दुले संकलन गरेको रकम किरात राई साँस्कृतिक कलाकार संघको समन्वयमा आइतबार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको थियो। इन्दुले व्यक्तिगत पहलमा संकलन गरेको रकम कसरी बुझाउने भनेर सल्लाह लिन आएपछि संघले समन्वय मात्रै गरिदिएको उपाध्यक्ष रामकर राईले बताए।
प्रिति हाल उपचारको क्रममा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा छिन् । उनलाई सातामा २ पटक डाइलाइसिस गराउनुपर्छ । एक पटकमा २ हजार ५ सय रुपैयाँ खर्च हुन्छ भने अन्य पनि थुप्रै खर्च हुने आमा प्रर्मिलाले बताइन् । उपचारमा आर्थिक अभाव भएपछि प्रितिलाई विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग पठाउने क्रम जारी छ । नबिल बैंकमा आमाको नाममा खोलिएको खातामा साढे ३ लाख बढी आर्थिक सहयोग जम्मा भइसकेको छ । ‘हामीले त उपचार गराउनै नसक्ने रहेछौं, तर देश विदेशबाट यसरी नै सहयोग आइरहेकोले आशा जागेको छ’, आमा प्रर्मिलाले भनिन्। उनका अनुसार प्रितिलाई मावली बजुले एउटा मृगौला दिँदैछिन्। अहिले दुवैको विभिन्न परीक्षण पनि भइरहेको छ । चिकित्सकले मृगौला प्रत्यारोपण गर्न १० लाख बढी खर्च लाग्ने बताएको आमा प्रर्मिलाले जानकारी दिइन्। नागरिकन्युजमा समाचार छ |


0 comments
प्रतिक्रिया दिनुहोस्...