काठमाडौं, ३० वैशाख । संसदको सार्वजनिक लेखा समितिले भ्रष्टाचार मुद्दामा आइजीपी उपेन्द्रकान्त अर्याललाई दोषी देखाएर हटाउन लागेको भन्दै प्रहरीमा असन्तुष्टि चुलिएको छ । नेपाल प्रहरीमा सुडान घोटला प्रकरण जस्तै भ्रष्टाचार मुद्दा खडा गरी आईजीपी अर्याललाई हटाउने चलखेल शुरु भएको भन्दै अर्याल पक्षले आरोप लगाएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
हालै केहि दिन अगाडिदेखि संसदको लेखा समितिले चालेको कदमबाट तत्कालीन आईजीपी रमेशचन्द्र ठकुरीको जस्तै नियत वर्तमान आईजीपी अर्यालले भोग्नु पर्ने अवस्था देखिएको छ । लेखाले गत मंगलबार पत्र काटी तीन वर्षमा भएको खरिद सम्बन्धि सम्पूर्ण निर्णयको प्रतिलिपी, दर÷रेट र तुलानात्मक विवरण मागेको छ ।
यसअघि पनि लेखा समितिले आइजीपी अर्याललाई बयानका लागि बोलाएको थियो । नेपाल प्रहरीको ज्याकेट खरिद प्रकरणमा अनियमितता भएको भन्दै आइजीपी अर्याललाई बयानका लागि बोलाइएको थियो । प्रहरीको लत्ताकपडा खरिदमा एक करोड ६४ लाख घोटला भएको भन्दै लेखा समितीमा उजुरी परेपछि समिति सक्रिय भएको हो । लेखा समितीमा प्रहरीको पार्का ज्याकेट र स्लिपिङ ब्याग खरिदमा घोटला भएको भन्दै उजुरी परेपछि गत साता अर्याललाई बयानका लागि पत्र काटिएको थियो । यसरी एक सातामा नै लेखा समितिले दुई वटा पत्र पठाएपछि प्रहरीमा आतंक मच्चिएको छ ।
संगठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन प्रयास गर्दै आइका आइजीपी अर्याललाई एकपछि अर्काे गर्दै लेखा समितिले पच्छ्याउन थालेपछि हेडक्वाटरमा भने आइजीपी हटाउने खेल शुरु भएको बहस हुन थालेको छ । तर, खरिदको छानबिनबाट उम्कन अर्याललाई त्यति सजिलो भने छैन ।
किनकि यो छानबिनको पर्दा पछाडी धेरै खेलहरु पनि छन् । लेखा समितिको सभापतिमा एकीकृत माओवादीका सभासद् जनार्दन शर्मा ‘प्रभाकर’ छन् । उनी रुकुमका हुन् । अनि आईजीपी अर्यालले साढे तीन वर्षे कार्यकालका लागि सबैभन्दा चुनौती ठानेका एआईजी सुरेन्द्रबहादुर शाह पनि रुकुमकै हुन् ।
प्रभाकर र शाह एकै जिल्लाका मात्र नभई मन समेत मिल्ने साथी हुँदा अर्याललाई शाहले नै हटाउन सक्ने भए छ । लेखा समितिमा पर्दा पछाडिका खेलाडी एआईजी राजेन्द्रसिंह भण्डारी पनि रहेको हुँदा अर्याल लेखा समितिमात्र नभई एआईजीहरुकै घेराबन्दीमा परेको प्रहरी स्रोत बताउँछ । त्यसो त आईजीपीको दौड हुँदा शाहलाई आईजीपी बनाउन माओवादीभित्र लबिङ गर्ने प्रमुख व्यक्ति जनार्दन नै थिए । राजनीतिक तहमा शाहका उनी सबैभन्दा निकट व्यक्तिका रुपमा चिनिन्छन् ।
प्रहरी महानिरीक्षक अर्यालको कार्यकाल अझै नौ महिना बाँकी छ । त्यसकारण कार्यकाल पूरा गर्न नदिई उनलाई हटाएर आईजीपी हुने दाउमा अन्य एआईजी पनि छन् । जसमा राजेन्द्रसिंह भण्डारी, सुरेन्द्र शाह, बिज्ञानराज शर्मालगायत छन् । उनीहरुमध्ये सबैभन्दा बलिया शाह नै हुन् ।
यसअघि पनि संसदको राज्य व्यवस्था समितिले सुडान भ्रष्टाचार प्रकरणमा छानबिन गर्दा तत्कालीन आईजीपी रमेशचन्द ठकुरी हटेर रविन्द्रप्रताप शाह आईजीपी भएका थिए ।
यसपटक पनि नेपाल प्रहरीमा त्यस्तै प्रकरण दोहोरिने सम्भावना रहेको लेखा समितिका एक सदस्य दावी गर्छन् । यसअघिको सुडान घोटला प्रकरण राज्य व्यवस्था समितिले गरेको थियो भने यो पटक लेखा समितिका सभापति प्रभाकर सक्रिय रुपमा लागेका कारण आईजीपी अर्याल फालिने संभावना रहेको ती सदस्य बताउँछन् ।
त्यसो त आईजीपी अर्यालको व्यक्तिगत हठका कारण प्रहरी संगठन अस्तव्यस्त बन्न पुगेको छ । संगठनको हितमा भन्दा व्यक्तिगत स्वार्थलाई केन्द्रबिन्दुमा राखेर अर्यालले विवादास्पद निर्णयहरु गर्न थालेपछि संगठनमा चरम निराशा छाएको हो । अर्यालविरुद्ध ठाउँ नदिएको भन्दै सर्वोच्चको आदेशमा बढुवा भएका चार डिआईजीहरु पनि मोर्चाबन्दीमा जुटिसकेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...