-->
सहजै निकाल्न सक्ने अवस्थामा भएको तामाखानी अलपत्र

सदरमुकाम गमगढी देखि तीन दिनको पैदल यात्रा पछि पुगिने डोल्फु गाविसमा पर्ने तामा खानी उत्खननको पर्खाईमा छ । तिब्बत र डोल्पा जिल्लासंग सीमा जोडिएको डोल्फु गाविसका विभिन्न तीन स्थानमा तामा खानी र एक स्थानमा फलाम खानी रहे पनि सरकारले प्रतिबन्ध लगाए पछि खानीबाट तामा निकाल्न नसकिएको स्थानीयवासीको गुनासो छ ।
खानीबाट बाजेको पालामा र आफ्नै पालामा समेत तामा निकालेर भाँडा बनाएको भए पनि से फोक्सुण्डो राष्ट्रिय निकुञ्जको आवादी भित्र परे पछि खानीबाट तामा निकाल्न सरकारले रोक लगाएको डोल्फु गाउँका स्थानीयवासी ६५ वर्षीय कार्मा छेवाङ्ग लामा बताउनु हुन्छ । समुन्द्री सतहबाट ३ हजार ९ सय मिटरको उचाईमा रहेको खानी डोल्फु गाउँ देखि पैदल यात्रामा २ दिन लाग्छ ।
डोल्फु गाविसमा पर्ने ट्याङ्ग ट्याङ्ग खोला, पुजाङ्ग खोला, कान्जीरोवा हिमालको फेद र वाङ्गरी रोमन भन्ने स्थानमा तामा खानी रहेको तथा गोले लेक भन्ने स्थानमा फलाम खानी रहेको स्थानीयको भनाई छ । खानीबाट ल्याईएका ढुंगा आगोमा पगालेर बनाईएका भाँडा कुडा जुम्ला बाजुरासम्म पुगेर बेचेको भए पनि राष्ट्रिय निकुञ्ज घोषणा पछि तामा निकाल्न छोडेको छेवाङ्ग बताउनु हुन्छ । खानी भएको हिमालको भिर अहिले फुटेको र तामा सजिलै टिपेर ल्याउन सकिने अवस्थामा रहेको भए पनि सरकारी प्रतिबन्धका कारण तामा ल्याउन नसकिएको स्थानीय बताउँछन ।
यो क्षेत्रमा तामा खानी, जंगली जनावर, हिउ चितुवा, भालु, कस्तुरी, नावर झारल, लगायतका बन्य जन्तु सहीत डाँफे, कालीज मुनाल, च्याखुरा पाईन्छन । यो स्थानबाट मनमोहक हिमाल देखिने भए पनि कठिन भुगोल र प्रचार प्रसारको अभावले ओझेलमा परेको छ । यस क्षेत्रको प्रसार प्रचार, सरकारी चासो बढाएमा खानी उत्खननसंगै पर्यटकको मुख्य आकर्षण र गन्तव्य बन्न सक्ने स्थानीय बासीको निष्कर्ष छ । डोल्फु गाविसका विभिन्न स्थानमा खानीहरु ,बन्यजन्तु, छायानाथ धाम रहे पनि भौगोलिक कठिनता, भिरको साँगुरो बाटोका कारण यात्रा जोखिम र असहज हुने गरेको डोल्फु चितै गाउका सुनाम तामाङ्गको भनाई छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.