-->
आजको सर्वदलीय बैठकमा के-के भयो ? ठाकुरले प्रधानमन्त्रीलाई यसरी दिए धोका

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाउनु भएको सत्तापक्ष, प्रमुख प्रतिपक्ष र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज प्रधानमन्त्री कार्यालयमा बस्यो । बैठकमा मोर्चाका नेताहरु अनुपस्थित रहनुभयो । प्रधानमन्त्रीले बैठक सुरु गर्नुहुँदै हिजो जेठ १० गते मोर्चाका नेताहरुसँग आफूृले फोनमा परामर्श गरेर नै आज विहान बैठक बोलाइएको जानकारी दिनुभयो । हिजो तराइ मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग फोनमा कुरा भएअनुसार नै उहाँले भन्नुभएको समय आज विहान १०.३० बजेका लागि बैठक तय भएको थियो ।
प्रधानमन्त्रीले आज विहान ९ बजे बैठक बोलाउन खोज्नु भएकोमा तमलोपाका अध्यक्ष ठाकुरले ९ बजे आफ्नो आँखा जाँच गराउनुपर्ने भएकोले १० बजेपछि बैठक राख्न दिनुभएको सुझाव अनुसार नै आज १०.३० बजे प्रधानमन्त्रीले बैठक बोलाउनुभएको हो । तर आज विहान ९.३० बजेपछि अध्यक्ष ठाकुरले प्रधानमन्त्रीलाई फोन गरी आफुहरुको बैठक बसेर मात्र वार्तामा आउने वा नआउने जानकारी गराउने बताउनु भएको थियो । प्रधानमन्त्रीले हिजो नै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सम्बोधन गरी ६ बुँदे लिखित पत्र पठाउनु भएको थियो । मोर्चाका तर्फबाट वैशाख ३० गते सरकारलाई पठाइएको ध्यानाकर्षण पत्रको जवाफमा प्रधानमन्त्रीले मोर्चालाई नै सम्बोधन गरी हिजो पत्र पठाउनुभएको हो ।
आजको बैठकमा मोर्चाका नेताहरु सहभागी नभएपनि प्रधानमन्त्रीले सरकार वार्ता र संवादबाटै समस्याको राजनीतिक समाधान खोज्ने पक्षमा दृढ रहेको र मोर्चासँग अनौपचारिक र औपचारिक वार्तालाई जारी राख्न तयार रहेको बताउनुभयो । प्रधानमन्त्रीले राष्ट्रिय समस्यालाई समाधान गर्न छोडेर राजनीतिको खेल नबनाउन आग्रह गर्नुभयो ।
बैठकमा सहभागी नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजय गच्छदार, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी, राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनी, नेकपा मालेका महासचिव एवं उपप्रधानमन्त्री सिपी मैनाली, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्च्छे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रधानमन्त्रीले मोर्चासँग गरिरहनुभएको अनौपचारिक र औपचारिक वार्ता प्रयास र उनीहरुलाई लिखित पत्राचार गर्नुले सरकार वार्ताप्रति गम्भीर रहेको प्रष्ट भएको बताउनुभयो ।
उहाँहरुले सरकारकासाथै प्रमुख राजनीतिक दलहरुले समस्याको राजनीतिक समाधान खोज्न आ–आफ्नो ठाउँबाट अनौपचारिक र औपचारिक पहल जारी राख्नुपर्नेमा जोड दिनुभयो । बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी रहनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.