-->
आङ्काजी शेर्पाको यसरी आयो कडा चेतावनी, दमन भए प्रतिकार गर्ने

काठमाडौं, ३ जेठ । संघीय समाजवादी फोरम नेपालका नेता तथा आन्दोलन परिचालन उपसमितिका संयोजक आङ्काजी शेर्पाले सरकार संघीय गठबन्धनको आन्दोलनबाट आत्तिएको आरोप लगाउँदै दमन भए प्रतिकार गर्ने चेतावनी दिनुभएको छ ।
गठबन्धनको आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक रहेको भन्दै शेर्पाले भन्नुभयो, ‘आन्दोलन शान्तिपूर्ण हो । यसमा सरकारले भिजिलान्त प्रयोग गरेर दमन गर्न चाहन्छ । सरकाले दमनको तयारी गरेको सुक्ष्म रुपले थाहा पाएका छौँ ।’
आन्दोलनमा झण्डा बोक्न प्रयोग गरिएका बाँसका लठ्ठी पनि प्रहरीले खोसेको आरोप लगाउँदै उपसमितिका संयोजक शेर्पाले भन्नुभयो, ‘सिंहदरबार घेराउको कार्यक्रममा सहभागी हुन आउने हाम्रा कार्यकर्तालाई विभिन्न बहानामा दुःख दिने कार्य भइरहेको छ ।’
नागढुङ्गामा द्वन्द्वकालमा जस्तै गरेर यात्रुलाई बसबाट उतारेर चेकजाँच गर्ने गरिएको भन्दै नेता शेर्पाले धेरै ठाउँबाट कार्यकर्तालाई आउन नदिन राज्यले ठूलो योजना बनाएको आरोप लगाउनुभयो ।
‘सरकार संघीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमबाट कति आतंकित छ भन्ने कुरा गृह मन्त्रालयको अभिव्यक्तिबाट पुष्टि भएको छ’, उहाँले भन्नुभयो, ‘हामी आन्दोलनकारी हौँ । हाम्रा सबै गतिविधि शान्तिपूर्ण हुन्छ । तर, राज्य दमनमा उत्रियो भने त्यसको प्रतिकार अवश्य हुन्छ ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.