काठमाडौं, ४ जेठ । ललितपुरका सांसद चन्द्र महर्जनले जेनेरेटर टहरो निर्माणका क्रममा करिब ९५ लाख रुपैयाँ अनियमितता गरेको छानबिनका क्रममा देखिएको छ ।
अर्का सांसद मदन अमात्यको सिफारिसमा सञ्चालित ज्यापु समाजको भवन निर्माणमा १ लाख ६८ हजार रुपैयाँ भ्रष्टाचार गरिएको भेटियो । उक्त योजनामा खरिद नै नगरेको रडलाई प्रयोग गरेको भनी मूल्यांकन गरिएको फेला पर्यो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
सांसद सिद्धिलाल सिंहको सिफारिसमा ललितपुरकै सातदोबाटोमा मनमोहन स्मृति भवन निर्माणाधीन छ । भवनमा १० फिट गाह्रो हुनुपर्ने भनी रकम भुक्तानी भएकामा छानबिनका क्रममा उचाइ करिब साढे ८ फिट मात्रै भेटियो ।
उचाइमा भएको गडबडले मात्रै ४९ हजार ९ सय रुपैयाँ अनियमितता देखियो । सोही भवन निर्माणमा सांसद सुशीला नेपालको सिफारिसमा भएको भुक्तानीमा २० एमएम उल्लेख गरे पनि १६ एमएमको मात्रै रड प्रयोग गरेर अनियमितता गरेको देखियो ।
हरेक वर्ष सरकारले बजेट तयारी थाल्दा सांसदहरूले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढाउन लबिङ गरिरहेका हुन्छन् । उनीहरूले बजेट नै पारित हुन नदिने धम्की दिएर आफ्ना माग सम्बोधन गर्न बाध्य पार्छन् । हरेक वर्ष निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेटको आकार मात्रै बढाइएको छैन, अनियमितताको ग्राफ पनि बढ्दो छ ।
योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्मा राजनीतिक कार्यक्रमहरू कार्यकर्तामुखी हुने भएकाले कतिपय अवस्थामा प्रतिफल खोज्नसमेत कठिन हुने ठान्छन् । ‘यस्ता कार्यक्रम कार्यकर्तामुखी हुने भएकाले धेरै सर्त र मापदण्ड राख्न गाह्रो हुन्छ,’ उनले कान्तिपुरसित भने, ‘बरु सांसदहरूका योजनाको प्राथमिकता निर्धारण गरेर समस्यालाई नीतिगत तहमै सम्बोधन गर्नु राम्रो हो ।’
सांसदहरूको सिफारिसमा सञ्चालित अधिकांश कार्यक्रमको बजेट उपभोक्ता समितिमार्फत खर्च हुन्छ । साइकल, बाल्टी, सिलाइकल जस्ता वितरणमुखी योजनादेखि पार्टी निकटका नेताका नाममा बन्ने स्मृति भवनले बजेट पाइरहेका छन् ।
अर्घाखाँचीमा जिविस कर्मचारीकै मिलेमतोमा उपभोक्ता समितिलाई रकम ट्रान्सफर गरेर खाता रोक्का गरिएको छ । बजेट फ्रिज हुनबाट रोक्न खातामा रकम पठाउने र पछि अनुकूलतामा खाता सञ्चालन फुकुवा गर्ने प्रवृत्ति देखिएको छ ।
बीपी स्मृतिदेखि मदन आश्रित भवनका नाममा यसरी १० लाख रुपैयाँ अनियमित ढंगले निकासा दिइएको हो । अर्घाखाँची क्षेत्र नम्बर १ मा खानेपानी योजनाका नाममा विभिन्न साइजका २० किलोमिटर पाइप बाँडेर १२ लाख ६८ हजार रुपैयाँ खर्च देखाइएको छ ।
दैनिक नेपाल बाट


0 comments
प्रतिक्रिया दिनुहोस्...