काठमाडौ, २५ वैशाख । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले राष्ट्रिय हित विपरित काम गरेकोले भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘राजदूत जस्तो ब्यक्तिले अर्को देशमा काम गर्दा आफ्नो देशको अनुहार हेरेर सरकारको नीति, निर्देशन र कुटनीतिक मर्यादा कायम राख्न सक्नुपर्छ । परराष्ट्र मन्त्रालयलाई जानकारी नै नदिई कार्यक्षेत्र छाड्ने, तराई जस्तो आन्दोलन भईरहेको संबेदनशिल क्षेत्रमा अर्को देशका राजदूतसँग कार्यक्रममा संलग्न हुँदै हिड्ने र सरकार फेरबदलको प्रसंगमा उनको संलग्नताको कुरा आएको छ । यस्ता गम्भीर विषयहरु आएपछि फिर्ता बोलाईएको हो ।’
राजदूतले के काम गर्ने भन्ने मान्यता र कुटनीतिक मर्यादा विपरित जान नहुने भन्दै उनले यस्तो संबेदनशिल विषयमा राजदूतलाई फिर्ता बोलाउन स्पष्टीकरण लिनुपर्ने वा सोध्नपर्ने आवश्यक नभएको दावी गरे ।
सञ्चारकर्मीको जिज्ञासामा रावलले राजदूत फिर्ता भारतसँगको सम्बन्धमा फायर खोल्ने भन्दा त्यसलाई रोक्न भएको दावी गर्दै सरकारले भारतसँग सुमधुर सम्बन्ध राख्न चाहेकोले सम्बन्ध र समझदारीलाई अझै राम्रो र विकसित गर्न फिर्ता बोलाउनुपरेको तर्क गरे ।


0 comments
प्रतिक्रिया दिनुहोस्...