म २६ वर्षीय विवाहित पुरुष हुँ । अहिले कतारमा काम गर्दै छु । मेरो ड्युटी राती हुन्छ । लगातार राती काम गर्दा यौनमा कत्तिको असर पर्छ ? असर पर्छ भने यसका समाधान के–के छन् ? यौन पार्टनर नहुँदा हस्तमैथुन गर्ने गरेको छु । यसले पछि कुनै असर गर्छ कि गर्दैन ?
स्वस्थ जीवनका लागि सन्तुलित खाना, पर्याप्त आराम, यौन चाहनाको पूर्ति आवश्यक पर्छन् । तपाईं विदेशमा काम गर्दै हुनुहुन्छ । त्यसमा पनि रातीको ड्युटी छ । तपाईंले आफ्नो स्वास्थ्य मेन्टेन गर्न पर्याप्त आराम पनि गर्नैपर्छ । कम्पनीले तपाईंलाई आरामको समय दिएकै होला । कम समयमै बढी पैसा कमाउने लोभले निद्रा मारेर लामो समय ओभरटाइम गर्नुभयो भने तपाईंको स्वास्थ्यमा गडबडी आउन सक्छ ।
स्वास्थ्य बिग्रन थालेपछि यौन स्वास्थ्य पनि कमजोर हुन थाल्छ । त्यसकारण आरामलाई पनि ध्यान दिनुहोला । राती अबेरसम्म काम गर्दा यौन स्वास्थ्यमा असर पर्छ कि पर्दैन भन्ने तपाईंको जिज्ञासामा यति भन्न सकिन्छ, राती काम गरे पनि दिनभरि आराम गर्नुभएको छ र सुत्नुभएको छ भने यसले तपाईंको यौन स्वास्थ्यमा केही फरक पार्दैन । तर, निद्रा नै नलाग्ने, निद्राको औषधि सेवन गर्नुपर्ने अवस्था छ भने यसले चाहिँ यौन चाहनामा ह्रास ल्याउन सक्छ । यौन पार्टनर नहुँदा हस्तमैथुन गरेर यौन चाहना पूरा गर्नु साह्रै सकारात्मक कुरा हो । यसले एचआईभीजस्ता रोगबाट बचाउनुका साथै तपाईंले विदेशी भूमिमा दुःख गरेर कमाएको पैसा पनि जोगाउँछ ।
विदेशी भूमिमा रगत–पसिना बगाएर कमाएको पैसा यौनकर्मीकहाँ गएर खर्च गर्न थालियो भने घरका लालाबाला भोकै पर्नेछन् । त्यसैले यौन चाहना मेट्न हस्तमैथुन गर्नु सोह्रै आना उपयुक्त हुन्छ । अधिकांश मानिसमा हस्तमैथुनसम्बन्धी भ्रम रहेको हुन्छ । यौन चाहना मेटाउने यो सुरक्षित उपायलाई भ्रमको भुमरीमा पारिएको छ । हस्तमैथुन गर्दा के–के न बिराएँ भनी चिन्ता गर्नुपर्दैन । हस्तमैथुनका नकारात्मक प्रभाव केही पनि छैनन् । पूर्वीय दर्शनमा वीर्यको तुलना रगतसँग गरिन्छ । सय थोपा रगत बराबर एक थोपा वीर्य हुन्छ भन्ने मान्यता छ । यसले गर्दा पनि हस्तमैथुन गर्नेहरूले आफूलाई कमजोर भएको ठान्छन् । यौन चाहना पूरा गर्न गरिने हस्तमैथुनले जो कोहीलाई पनि स्वस्थ र फूर्तिलो बनाउँछ ।
पछिल्लो समयमा चिकित्सकहरूले ‘धात सिन्ड्रोम’ भन्दै हस्तमैथुन गर्न हौसाइरहेका छन् । बढ्दो एचआईभी संक्रमण, यौन रोग, बलात्कार घटाउन युवाहरूलाई हस्तमैथुन गर्न प्ररित गरिएको छ । वीर्य स्खलन हुँदा कमजोर हुन्छु भन्नु थुक्दा मुख सुक्यो भन्नुजस्तै हो । पिच्च–पिच्च थुकिरहे पनि मुख सुक्खा हुने गरी कहिल्यै सुक्दैन । वीर्य स्खलन भएर सकिने चिज पनि होइन । अण्डकोष स्वस्थ रहुञ्जेल यसको निर्माण प्रक्रिया एकदम तीव्र गतिमा हुन्छ । हस्तमैथुनले यौनजीवनलाई कुनै असर गर्दैन ।


0 comments
प्रतिक्रिया दिनुहोस्...