काठमाडौं, २८ वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रमको कडा आलोचना गर्दै ‘म्यादी’ सरकारले ल्याएको बजेट र कार्यक्रम पनि म्यादी हुने आरोप लगाउनुभएको छ ।
संसदको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सभापति देउवाले सत्तापक्षका मन्त्रीहरूले नै सरकारलाई म्यादी भन्ने गरेको बताउनुभयो । सभापति देउवाले भन्नुभयो, ‘सरकारका मन्त्रीहरूले नै म्यादी सरकार भनेपछि मैले म्यादी सरकार नभनेर के भनु सभामुख महोदय ?’
म्यादी सरकारले ल्याएको नीति तथा कार्यक्रम म्यादी हुने भन्दै सभापति देउवाले भन्नुभयो, ‘सत्तापक्षले नै भनेपछि मैले पनि म्यादी सरकार भनेको हुँ ।’
देउवाले ग्लोबल टेन्डरबाट अर्कालाई दिइसकेको फाष्ट ट्रयाकको कुरालाई लत्याउनु नहुने बताउनुभयो । उहाँले सरकारले आफै सडक बनाउने कुरा जायज रहेपनि अन्तर्राष्ट्रिय जगतले त्यसलाई लगानीका हिसाबले गलत रुपमा लिने बताउनुभयो । कतिपय आयोजनाहरू आफ्नै पालामा सुरु भएका विकासका योजनामा अर्बौं रुपियाँ खर्च भइसक्दा पनि पूरा हुन नसकेको उहाँले बताउनुभयो ।
कालोबजारीयहरूलाई कुनै कारबाही हुन नसकेको भन्दै सभापति देउवाले नाकाबन्दी खुली सक्दा पनि ग्यास तेलका लागि अहिले पनि लाइन बस्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नाकाबन्दी खुल्यो अझै पनि कालोबजारी छ । जनता लाइनमा नबस्दासम्म तेल र ग्यास पाउँदैनन् ।’
भूकम्पपीडित जनताले राम्रोसँग बस्न र खान नपाएको भन्दै सभापति देउवाले भन्नुभयो, ‘सरकार बनेको छ महिना भइसक्दा पनि यो सरकारले केही गर्न सकेन । भूकम्पपीडित जनताप्रति सरकार सम्बेदनशील भएको छैन ।’
सरकारले न्यायालयमा राजनीतिक करण गरेको आरोप लगाउँदै देउवाले भन्नुभयो, ‘हुँदाहुँदा सरकारले राजदूतलाई फिर्ता बोलाएर सहमतिको बातावरण बिगार्न थालेको छ ।’ उहाँले न्यायालयमा राजनीतिक हस्तक्षेप नगर्न सरकारलाई कडा चेतावनी दिनुभयो ।
संविधान कार्यान्वयनका लागि सबै पक्ष लाग्नुपर्ने बताउनुभएका सभापति देउवाले आन्दोलनरत आदिवासी जनजाति, मधेसी र थारुहरूसँग वार्ता गर्नुपर्ने बताउनुभयो । उहाँले आन्दोलनकारीहरूसँग वार्ता गर्न आग्रह गर्नुभयो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...