काठमाण्डु, ६ जेठ– एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार गिराउन खोजेको भन्दै उत्तर छिमेकी चीन सत्तासाझेदार एकीकृत नेकपा माओवादीसँग नराम्ररी चिढिएको खुलासा भएको छ ।
स्थायी समिति सदस्य चक्रपाणि खनाल ‘बलदेव’ को नेतृत्वमा चीन भ्रमणमा गएको टोलीसमक्ष चीनले एमाओवादीको पछिल्लो भूमिकालाई लिएर आक्रोश पोखेको हो । भ्रमण टोलीमा सहभागी एक नेताका अनुसार एमाओवादी नेतृत्वले भारतीय चासोलाई फाइदा पुग्ने गरी आकस्मिक रुपमा सरकार गिराउने खेलमा लागेको चिनियाँ अधिकारीको आरोप थियो । त्यस क्रममा चिनियाँ अधिकारीले नेपाल विकासमा पछि पर्नुको कारण राजनीतिक अस्थिरता रहेको औंल्याउँदै अस्थिरता निम्त्याउने खेलमा किन लागेको भन्ने प्रश्न गरेका थिए । ‘हामी नेपालमा राजनीतिक स्थिरता र विकास चाहन्छौं’, चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै ती नेताले काठमाण्डु टुडेसँग भने, ‘भारतलाई फाइदा पुग्ने गरी बामपन्थी गठबन्धन तोडेर सरकार बनाउने र गिराउने खेलमा तपाईंहरु किन लाग्नुभयो ?’
शान्ति प्रक्रियामा आएपछि माओवादी नेतृत्वले एकपछि अर्को कमजोरी गर्दै गएको र त्यसको सिलसिला अझै नरोकिएको निष्कर्ष चिनियाँ पक्षको थियो । जनताले पहिलोबाट तेश्रो दलमा झार्दासम्म एमाओवादी नेतृत्वमा चेत नपलाएको आरोप पनि चीनको छ ।
टोलीमा बलदेवसहित केन्द्रीय सदस्यहरु हकिकुल्ला खाँ, प्रकाश पोखरेल, दिलीप साह, अखिल क्रान्तिकारीका अध्यक्ष रशेम मल्ल, तेह्रथुम जिल्ला अध्यक्ष दुर्गा चापागाईं, गोरखाकी सचिव कमला नकर्ही, अछामका सचिव लोकबहादुर बोहरा, मकवानपुरकी कोषाध्यक्ष प्रमिला पुलामीमगर, रुकुमका नेता निशान शर्मा र महिला नेतृ विमला केसीलगायत थिए ।
चीनको बुझाइमा यस्तो थियो भारतीय डिजाइन
त्यस क्रममा चिनियाँ नेताहरुले तेश्रो पार्टीको नेता भएर पनि प्रधानमन्त्रीमा लोभ गरेकामा प्रचण्डप्रति असन्तुष्टि पोखेका थिए । ‘तेश्रो पार्टीको नेता भएर पनि प्रधानमन्त्री खाने लोभ देखाउन तपाईंहरुलाई लाज लागेन ?’ अधिकारीहरुले प्रश्न गरेका थिए । उनीहरुले ओली सरकार ढाल्नका लागि मात्र भारतले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गरेको उल्लेख गर्दै चीन या चार महिनामा प्रचण्डको सरकार गिराएर काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउने भारतीय डिजाइन आफूहरुले चाल पाएको बताए । सरकार गिराउने खेलबाट पछि हटेर प्रचण्डले एमाओवादी र आफ्नै अगाडि आएको खतरनाक चुनौती टारेको निष्कर्ष चीनको छ । प्रचण्डलाई प्रधानमन्त्री चाहिए केपी ओलीले नै भविष्यमा मार्ग प्रसस्त गर्ने पनि उनीहरुले बताए । ‘सरकारबाट केके चाहिने हो, केके लिनुपर्ने हो यही सरबारबाट लिनु’, चिनियाँ अधिकारीले भने, ‘यदि प्रधानमन्त्री हुनै परेको भए केपी ओलीको समर्थनमा हुनु ।’
एमालेसँग एकता गर्न दबाब
चीनले नेपालमा बामपन्थी शक्ति बहुमतमा रहँदारहँदै पनि विभिन्न चिरामा विभक्त भएका कारण काँग्रेससहितका शक्तिले फाइदा उठाएकाले बामपन्थी मिल्नुपर्ने सुझाव टोलीलाई दिएको छ । एमाले र एमाओवादीबीच पार्टी एकता गरेर अर्को चुनावमा बहुमतको सरकार बनाउने अवस्था सिर्जना होस् भन्ने चाहना चिनियाँ अधिकारीले राखेका थिए । ‘नेपालमा कम्युनिष्ट जनमत बलियो हुँदाहुँदै पनि आफूलाई कम्युनिष्ट भन्ने पार्टीहरु विभिन्न टुक्रामा विभाजित भएका कारण अरुले फाइदा उठाएका छन्’, चिनियाँ अधिकारीहरुको भनाइ उद्धृत गर्दै टोलीका सहभागीले भने, ‘नेपालमा बामपन्थी नमिली सुखै छैन, हामी त्यही चाहन्छौं ।’
ओली भ्रमणको सहमति पालनामा जोड
चीनले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भएका सहमति कार्यान्यवनका लागि तीव्र तयारी गरिरहेको छ । सरकार परिवर्तन हुने बित्तिकै सहमति अलपत्र पर्ने भएकाले चीन ओली सरकारको निरन्तरता चाहन्छ । बलदेवको टोलीसमक्ष चिनियाँ अधिकारीले स्पष्ट रुपमा उक्त विषय राखेका थिए । अर्को निर्वाचनसम्म ओली सरकारकै निरन्तरताको पक्षमा चीन रहेको समेत उनीहरुले बताए । ‘हामी नेपालमा राजनीतिक स्थिरता चाहन्छौं’, उनीहरुले भनेका थिए, ‘कम्तिमा नयाँ निर्वाचनसम्म यही गठबन्धन कायम रहोस् भन्ने हाम्रो शुभेच्छा हो ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...