काठमाडौं, १ जेठ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी औपचारिक रुपमै फुटेको छ ।
माओवादीको माउ पार्टी एकीकृत नेकपा माओवादीसँग एकता गर्न वैद्यले नमानेपछि रामबहादुर थापा ‘बादल’ समूहले वैद्य नेतृत्वबाट अलग भएको घोषणा गरेको हो ।
शनिबार माओवादी नेवा राज्य समितिको कार्यालय कुपण्डोलमा बसेको केन्द्रीय समिति बैठकले बादललाई अध्यक्ष घोषित गरेको छ । उक्त बैठकमा वैद्य उपस्थित भएनन् ।
वैद्य माओवादीकी प्रवक्ता पम्फा भुसालले १९९ केन्द्रीय समितिमध्ये १३० जना केन्द्रीय सदस्यको बहुमत समर्थनमा बादललाई अध्यक्ष घोषणा गरिएको जानकारी दिइन् ।
उनले भनिन्– माउ पार्टीसँग एकताका लागि वैद्यले नमानेपछि हामी विभाजित हुन बाध्य भएका हौं । १३० जना केन्द्रीय सदस्यहरुको समर्थनमा बादललाई अध्यक्ष घोषित गरिएको छ । सबै माओवादीसँग एकता गर्नकै लागि हामी मोहन वैद्यबाट अलग भएका हौं ।’
उनका अनुसार बादलको नेतृत्वमा वार्ता टोली बनाएर नयाँ समूहले एमाओवादीसँग छिट्टै एकता गर्नेछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...