-->
यौन सम्बन्ध राख्ने विषयमा विवाद भएपछि पुरुष साथीको हत्या गर्ने महिला पक्राउ :

सिन्धुपाल्चोक, जेठ ८ - प्रहरीले मादक पदार्थ सेवन गरि यौन सम्बन्ध राख्ने विषयमा विवाद भएपछि पुरुष साथीको हत्या गर्ने एक महिलालाई पक्राउ गरेको छ ।
भक्तपुर सुडाल घर भई सिन्धुपाल्चोक मांखास्थित माइतीमा बस्दै आएकी ४७ वर्षिया माइली कार्कीलाई इलाका प्रहरी कार्यालय बाह्रविसेले पक्राउ गरेको हो।
कार्कीले नाम ठेगाना नखुलेको अन्दाजी ३५ वर्षिय एक पुरुषको आइतबार राति हत्या गरेकी थिइन्। बेबारिसे अवस्थामा पुरूषको शव प्रहरीले मांखास्थित कालो खोल्सोमा फेला पारेको थियो।
उनीहरुबीच यौन सम्बन्ध राख्ने विषयमा विवाद भएपछि पुरुषको हत्या भएको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र केसीले मृतक पुरुषको शव अर्धनग्न अवस्थामा फेला पर्नुले पनि उनीहरुबीच यौनकै कारण विवाद बढेको देखिने र रातको समयमा दुवैले मदिरा पिएकाले विवाद भएको हुन सक्ने बताएका छन् ।
दुवैले खाडीचौर बजारमा रहेको एउटा होटलमा सँगै बसेर रक्सी खाएका थिए। होटलमा रक्सी खाएपछि सँगै निस्केका उनीहरुले थप एक बोतल रक्सी लगेका थिए । मृतक पुरुषले सिंगै बोतल रक्सी घटनास्थलमा खाएको हत्या अभियोग लागेकी महिलाले प्रहरी अनुसन्धानमा बताएकी छिन्।
इलाका प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर राजु पाण्डे भन्छन्, घटना योजनाबद्ध भने होइन, पुरुषले यौन सम्पर्क गर्न आग्रह गरेपछि महिलाले इन्कार गरेकैले यो घटना भएको हुन सक्छ।
प्रहरीले घटनास्थलबाट रगत लागेको दाउराको चिर्पटसमेत फेला पारेको जनाएको छ । घटनास्थल नजिकै दाउराको थुप्रो रहेको र एउटै मात्र चिर्पट प्रयोग भएको बताइएको छ ।
महिलाले पुरुषको टाउकोमा एकचोटी मात्रै हानेको स्वीकार गरेकोले यो घटना योजनाबद्ध होइन। उनले तत्कालको परिस्थितिलाई नियन्त्रणमा लिन खोज्दा घटना भएको बताए।
उनीहरु सँगै रक्सी खाएर निस्केकाले पनि घटना आकस्मिक भएको प्रहरीको भनाई छ। ‘योजना भएको भए एउटी महिलाले मात्रै हत्या गर्ने आँट गर्दैनन्, तेस्रो व्यक्ति पनि संलग्न हुन्छन्,’ इन्सपेक्टर पाण्डे भन्छन्, ‘मदिराको सुरमा पुरूषले यौन सम्पर्क गर्न खोज्दा महिलाले प्रतिकार गरेकी हुन्।’
गाउँमा चाउरे भनेर चिनिने मृतकले गाउँलेलाई आफ्नो घर नुवाकोटको भएको बताएका थिए। प्रहरीले हत्यामा संलग्न कार्कीलाई थप अनुसन्धान र कानुन बमोजिम कारबाही भइरहेको जानकारी दिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.