-->
बालुवाटारमा एमाले र एमाओवादीबीच वार्ता, ओलीमाथि खनिए माओवादी नेताहरु

काठमाडौं, २१ वैशाख । सत्तारुढ दल नेकपा एमाले र प्रमुख सत्ता साझेदार एकीकृत नेकपा माओवादीबीच बालुवाटारमा वार्ता जारी छ ।
मंगलबार साँझ ७ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको वार्तामा प्रधानमन्त्रीसहित एमाले र एमाओवादीका पदाधिकारी सहभागी छन् ।
वार्ताका क्रममा सरकारले कामै गर्न नसकेको भन्दै माओवादी नेताहरु सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन् । उनीहरुले यही चाला भए एमाओवादी सरकारमा बसिरहन नसक्ने धारणा पनि व्यक्त गरेका छन् ।
अहिले दुबै पार्टीका पदाधिकारी बोल्ने क्रम जारी छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बोलेका छैनन् ।
उसो त सरकारको कार्यशैलीप्रति प्रचण्डले पनि असन्तुष्टि जनाउँदै सहमतिको सरकार गठन गर्नुपर्ने बताउँदै आएका छन् । तर, सरकारै परिवर्तन गर्न नहुने कुरा पनि भन्दै आएका छन् ।
एमाओवादीका महासचिव कृष्ण महरा र सचिव वर्षमान पुन अन्ततले पनि आजै सरकार परिवर्तन गर्नुपर्ने बेला आइसकेको र अब एमालेलाई बोकेर हिड्न नसकिने बताएका थिए । महरा त सरकार परिवर्तनका लागि लविङ नै गरिरहेका छन् ।
बालुवाटारमा रहेका एक माओवादी नेताका अनुसार एमाले र एमाओवादीबीचको वार्तामा राष्ट्रिय सहमतिको सरकार गठन, बजेट अधिवेशन लगायतको बारेमा छलफल भइरहेको छ । प्रचण्डले आज एमालेसँग निर्णायक छलफल गर्ने उनको भनाई छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.