काठमाडौं, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार घेर्न पुगेका संघीय गठबन्धनका आन्दोलनकारीलाई झुक्याएका छन् ।
गठबन्धनको घेराउकै बीच प्रधानमन्त्री ओली बालुवाटारबाट सुटुक्क बाहिर निस्केको स्रोतले बतायो । स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिले बबरमहलस्थित एक पार्टी प्यालेसमा अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गरिरहेका छन् ।
त्यसभन्दा पहिला ओली सिंहदरबार पसेका थिए ।
माग पुरा गराउन जेठ १ देखि राजधानी केन्द्रीत आन्दोलन गरिरहेको गठबन्धनले आइतबार र सोमबार सिंहदरबार घेराउ गरेको थियो । आज मंगलबार विहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न आन्दोलकारी पुगेका थिए ।
तर, स्थानीय प्रशासनले निकै लामो स्थानसम्म निषेधित क्षेत्र घोषणा गरेपछि आन्दोलनकारी बालुवाटारको गेटमा पुग्न सकेका छैनन् । प्रहरीले चार घेरामा सुरक्षा दिइरहेको छ ।
त्यही बीचमा बालुवाटारमा ओली निस्केको कसैले पत्तो पाएनन् । बालुवाटार स्रोत भन्छ- ‘रित्तो बालुवाटार बाहिर गठबन्धनको धर्ना जारी छ । प्रधानमन्त्री बबरमहलस्थित एक पार्टी प्यालेसमा अखिल नेपाल महिला संघको कार्यक्रममा छन् । व्यर्थ प्रदर्शन भो ।’
ओली बबरमहल पुगेको थाहा पाएपछि प्रधानमन्त्रीलाई बालुवाटार भित्रै थुन्छौं भन्ने मधेसवादी दलका नेताहरु हिस्स परेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...