-->
मधेसवादी दलले ल्याए आन्दोलनको अनौठो कार्यक्रम, काठमाडौंमै देखाउने

काठमाडौं, १७ जेठ । जेठ १ देखि राजधानी केन्द्रीत आन्दोलन सुरु गरेको मधेसवादी दलहरुको एकीकृत संस्था संघीय गठबन्धनले आन्दोलनको नयाँ कार्यक्रम ल्याएको छ ।
सिंहदरबार घेराउदेखि लिएर बालुवाटार घेराउ तथा राजधानीका विभिन्न सहरहरुमा प्रदर्शन गर्दासमेत राज्यले नसुनेपछि गठबन्धनले जेठ २५ गतेदेखि लागुहुने गरी अनसन बस्ने कार्यक्रम ल्याएको हो ।
गठबन्धनका संयोजक उपेन्द्र यादवद्धारा जारी विज्ञप्तिमा अधिकार नपाएसम्म निरन्तर संघर्ष गर्ने उल्लेख गर्दै प्रत्येक दिन विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौंको शहिद मञ्चमा रिले अनसन बस्ने उल्लेख छ ।
विज्ञप्तिमा वर्तमान सरकार त्यसै नमान्ने भन्दै अझै ठूलो संघर्षको तयारी गठबन्धनले गरिरहेको उल्लेख छ ।
हेर्नुस् विज्ञप्ति जस्ताको तस्तैः
प्रेस विज्ञप्ति
सङ्घीय गठबन्धनको संयुक्त राष्ट्रिय आन्दोलनका कार्यक्रमहरू,
प्रतिगामी तथा विभेदकारी संविधान विरुद्धकोसंयुक्त राष्ट्रिय आन्दोलन निरन्तर जारी छ । २०७३ जेठ १ गतेबाट सुरु भएको राजधानी केन्द्रित आन्दोलनले राष्ट्रिय एकता र जनताको विजयको आधार निर्माणका साथै नयाँ इतिहासको सुरुआत गरेको छ । यसले सिंहदरवारको नश्लीय सत्ताको जग हल्लाइ सकेको छ । तर, सत्ता पक्ष अझै गम्भीर नदेखिएको मात्र होइन देशमा पटक पटक भएका क्रान्ति, विद्रोह र आन्दोलनका जनादेश, आन्दोलनकारीहरूसँग राज्यले गरेका सम्झौता र सहमतिहरूलाई समेत उल्ट्याएर एक पक्षीय रूपमा अगाडी बढ्यो र अहिले पनि बढिरहेको छ । हामीले उठाउँदै आएको सङ्घीयता, समानुपातिक प्रतिनिधित्व, समावेशी लोकतन्त्र, प्रादेशिक स्वायत्तता, स्वशासन, धर्म निरपेक्षता तथा सबै उत्पीडित समुदायहरूको पहिचान स्थापित हुने गरी सङ्घीय संरचना निर्माण तर्फ लाग्नु भन्दा सरकार आफ्नो सत्ता सुदृढ गर्न नै लागी परेको छ । त्यसैले, न्याय, समानता र उत्पीडनबाट मुक्तिका लागि हामी आदिवासी जनजाति, मधेशी, थारु, खस, शिल्पी÷दलित, मुश्लिम, पिछडावर्ग लगायत सबै उत्पीडित समुदायहरू अझै ठूलो सङ्घर्षको लागि अगाडि बढ्नु आवश्यक छ । सरकारी नीति तथा कार्यक्रम र बजेट भाषणमा उत्पीडित समुदायहरूको पहिचानलाई बेवास्ता गर्नु तथा स्थानीय निकायको पुनर्संरचना नै नगरी प्रदेशको क्षेत्राधिकारभित्र पर्ने स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गर्नुले सङ्घीयता समाप्त गर्ने तिनीहरूको षड्यन्त्र स्पष्ट भएको छ । त्यसैले, वर्तमान प्रतिगामी तथा विभेदकारी संविधान पुुनर्लेखन र आन्दोलनरत दलहरूले उठाएका मागहरू सम्बोधन नगरुञ्जेल हाम्रो सङ्घर्ष निरन्तर रूपमा जारी नै रहने छ ।
संयुक्त राष्ट्रिय आन्दोलनका कार्यक्रमहरू निम्नानुसार तय गरिएको छ ः
१. २०७३ जेष्ठ २५ गतेदेखि असार मसान्तसम्म प्रत्येक दिन बिहान७ बजेदेखि बेलुका ७ बजेसम्म
काठमाडौँको शहीद मञ्चमा रिले अनसन ।
२. गठबन्धनका प्रत्येक घटकबाट आ–आफ्ना भातृ सङ्गठनहरूलाई पनि सहभागी गराएर प्रत्येक दिन
१÷/१ जना अनसन बस्ने ।
३. आन्दोलनलाई प्रभावकारी बनाउन प्रत्येक दिन ३ बजे पश्चात् अनसन स्थलमा साहित्यिक कार्यक्रम,
सांस्कृतिक सभा र जनसभाको आयोजना गर्ने ।
४. प्रदेश तथा जिल्लाहरूले पनि गठबन्धनका घटक दलहरूको बैठक बसी यस्तै प्रकृतिका आन्दोलनका
कार्यक्रमहरू तय गर्न सकिने ।
५. अन्य कार्यक्रमहरू आवश्यकता अनुसार गठबन्धनले सार्वजनिक गर्ने ।
…………………..
उपेन्द्र यादव
संयोजक
सङ्घीय गठबन्धन


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.