काठमाडौं, २३ वैशाख । सत्ता साझेदार एकीकृत माओवादीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेपछि केपी ओली नेतृत्वको सरकारमा एक साता अघि मात्र नियुक्त भएका एक विवादास्पद मन्त्रीको विजोग भएको छ ।
कुनै सयम काभ्रेली समूहका नाइके गणेश लामाका गुरुका रुपमा चिनिने रेशम लामाले बैशाख १५ मा स्थानीय विकास सहायक मन्त्रीको सपथ खाएका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
डनको रुपमा छवि बनाएका लामाले एक सातामा नै पद छाड्नुपर्ने स्थिति आएपछि उनी तनाबा परेका छन् । लामा मन्त्री बनेपछि ओली सरकार थप विवादमा तानिएको थियो ।
राप्रपा नेपालले स्थानीय विकास सहायक मन्त्री विराज विष्टलाई आन्तरिक शक्ति संघर्षका कारण फिर्ता बोलाएर डनका गुरु लामालाई मन्त्री बनाएको थियो ।
तर, एक सातामै मन्त्रीबाट हट्नुपर्ने अवस्था आएपछि लामालाई साँढे सातको दशाले छोएको उनी निकट एक कार्यकर्ता बताए । राप्रपा नेपालका समानुपातिक सांसद रहेका लामा पार्टीको केन्द्रीय सदस्य समेत हुन् ।
मैतीदेवीदेखि बत्तीसपुतलीसम्मलाई आधार क्षेत्र बनाएर अबैध ढुकुटीको कारोबार गर्ने, फसेको पैसा उठाउने तथा टेण्डरमा गुण्डागर्दी गर्ने काममा लामा जोडिदै आएका छन् ।
उनी गुण्डागर्दी गरेको आरोपमा केही वर्ष अघि पटक–पटक पक्राउ परि छुट्दै आएका थिए । ढुकुटी खेलाएर अरुलाई लुट्ने धन्दा चलाउँदै आएकी बत्तिसपुतलीकी मिना राईलाई लामाले संरक्षण दिंदै आएका छन् ।
राईसँग अवैध सम्बन्धमा मुछिएका लामाले राइको टक्सन गाडी बेचेर रकम नदिएपछि उनीहरुबीच विवाद भएको थियो ।
काठमाडौं प्रहरी परिसरमा राजेन्द्र श्रेष्ठ एसएसपी छँदा लामाले गुण्डा नाइके रमेश बाहुनका सहयोगीहरुलाई हातमा लिएर ढुकुटीमा फसेका महिलाहरुको पैसा उठाउने काम गर्दा प्रहरीले लामामाथि निगरानी समेत गरेको थियो ।
लामा मन्त्रीमा सिफारिस भएपछि काभ्रेली समूहका सदस्यहरु खुसी भएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...