-->
यी हुन् कञ्चनपुरको संगम होटल हत्याकाण्डका मुख्य नाइके, भारतबाट पक्राउ

महेन्द्रनगर, ११ जेठ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित संगम होटलमा दुईजना कामदारको हत्यामा संलग्न मूख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
महेन्द्रनगरको गल्ली नम्बर ४ मा रहेको संगम होटेलमा गत वैशाख २३ गते बिहीबार मध्यराति दुई जना कामदार कृष्णसिंह विष्ट र भीम रोकायाको धारिलो हतियारबाट हत्या भएको थियो भने पदमराज विष्ट गम्भीर घाइते भएका थिए ।
होटेल सञ्चालक मोहनसिंह खत्रीका अनुसार कृष्ण होटेलका कुक हुन् भने भीम र घाइते पदम वेटर थिए । उनीहरू सबै एउटै कोठाभित्र बस्दै आएका थिए । हत्याको घटना घाइते पदमराज चिच्याएपछि थाहा भएको थियो ।
प्रहरी स्रोतका अनुसार हत्यामा संलग्न मूख्य अभियुक्त महेन्द्रसिंह बोहरालाई भारतको उत्तराञ्चलस्थित चण्डिगढको
एक घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरी नेपाल ल्याइएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई)को सहयोगमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट असईको कमाण्डमा खटिएको टोलीले बोहरालाई पक्रेको हो ।
अभियुक्त बोहरालाई पक्राउ गर्न भारतीय प्रहरीले पनि सहयोग गरेको थियो । घटना भएको १८ दिन पक्राउ परेका बोहरालाई कञ्चनपुर प्रहरीले बुधबार (भोली) पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ । पक्राउ परेका बोहरा होटलका पूर्व कामदार रहेको र घटना हुनुभन्दा तीन दिनअगाडि मात्रै काम छाडेको खुल्न आएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता केदार खनालले हत्याका मूख्य अभियुक्त पक्राउ गरिएको पुष्टि गर्दै थप विवरण भोली पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताए ।
उनका अनुसार मूख्य अभियुक्त बोहरामाथि थप अनुसन्धान भइरहेको छ । उनले किन हत्या गरेका हुन् ? कसरी भागेर भारत पुगे भन्ने विषयमा प्रहरीको पछिल्लो अनुसन्धान केन्द्रीत छ ।
घटनाको प्रारम्भिक कारण समेत प्रहरीले खुलाउन मानेको छैन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.