-->
संसार कतिबेला सुत्छ ?

लन्डन-संसारको सुताइको शैलीलाई वैज्ञानिकहरूको एउटा समूहले तथ्याङ्कमार्फत् संकलन गर्दै विश्लेषण गरेको छ– संसारको निद्रा खजमजिन थालेको छ । साइन्स एडभान्सेज पत्रिकामा प्रकाशित शोधअनुसार सिंगापुरे र जापानीभन्दा पहिले डच (नेदरल्यान्डबासी) सुत्छन् । उनीहरू एक घण्टा पहिले नै ओछ्यानमा ढल्कने र भुसुक्क निदाउने अध्ययनले देखाएको हो ।
सुताइको मामिलामा महिलाहरू पुरुषभन्दा संवेदनशील छन् । उनीहरू संसारभरि नै चाँडो सुत्न ओछ्यानमा पुग्छन् तर अधवैंशे पुरुषहरूको निद्रा सबैभन्दा बढी खजमजिन पुगेको छ । उनीहरूको सुताइको समयावधि कम हुन थालेको छ । यसलाई वैज्ञानिकहरूले 'वैश्विक निद्रा संकट'को अवस्था आइपरेको र यो शोधको निष्कर्ष त्यसको उपचारका लागि उपयोग गर्न सकिने बताएका छन् ।
सन् २०१४ ताका अमेरिकाको मिचिगन विश्वविद्यालयले एनट्रेन नामक मोबाइल एप जारी गरेको थियो । यसको उद्देश्य विमानयात्राका क्रममा हुने निद्राको गडबडीबाट उत्पन्न झ्याउलो रोक्नु थियो । यो एपका प्रयोगकर्ताले आफ्नो सुताइको बानीसमेत शोधकर्ता समूहसँग बाँड्न मञ्जुरी दिएका थिए ।
सो मञ्जुरी अन्तर्गत पाइएका तथ्याङ्कलाई विश्लेषण गर्दै शोधकर्ताले सिंगापुरे र जापानीहरू दैनिक ७ घण्टा २४ मिनेट सुत्ने गरेको तर नेदरल्यान्ड्बासी भने ८ घण्टा १२ मिनेटसम्म सुत्ने गरेको देखिएको हो । बेलायतीहरू आठ घण्टाभन्दा थोरै मात्र कम सुत्ने र फ्रान्सेलीको सुताइभन्दा केही कम रहेको देखिएको छ । खाटमा ढिला जाने व्यक्तिले कम सुत्न पाउने गरेकोसमेत अध्ययनले देखाएको छ ।
अध्ययन समूहका प्राध्यापक ड्यानियल फोर्जरका अनुसार यस किसिमको सुताइले अबेरसम्म बस्ने इच्छा र चाँडै उठ्ने चाहबीच शरीरले नै द्वन्द्व गर्ने गर्छ । 'समाजले अबेरसम्म बस्न दबाब दिइरहेको छ भने हाम्रो शरीरको घडीले भने चाँडै उठ्ने । यस्तो अवस्थामा हाम्रो सुताइ बलि चढिरहेको छ । यसैलाई हामीले वैश्विक निद्रा संकट भन्ने गरेका छौँ,' उनले भने । विश्वभरका ३० देखि ६० वर्षका महिलाहरू पुरुषभन्दा ३० मिनेट चाँडो सुत्ने गर्दछन् । यी तथ्याङ्कले पत्ता लगाएका कुराले दीर्घकालमा हाम्रो शरीरलाई कस्तो प्रभाव पार्छ भन्ने विषयमा भने थाहा हुन नसकेको अध्येता बताउँछन् । तर राम्रो सुताइको अभावले मानिसमा चिनीरोगको समस्या निम्तने केहीको धारणा छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.