काठमाडौं, २१ वैशाख । १० वर्षको उमेरमै भारतीय प्रहरीको पुलिस कमिश्नर बन्न सफल गिरीश शर्माको निधन भएको छ ।
हरियाणको सिरसाका ११ वर्षीय गिरीशले दुबै मृगौला फेल(खराब) भएपछि मंगलबार दिल्लीको एम्स अस्पतालमा अन्तिम साँस लिएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार एक दिनका लागि राजस्थान राज्यको पुलिस कमिश्नर बनेका गिरीश विगत एकदेखि उपचाररत थिए ।
जब साकार भयो सपना
गिरीश शर्माको सपना थियो पुलिस कमिश्नर बन्ने । ‘मेक अ विश’ फाउण्डेशनको सहयोगमा पछिल्लो वर्ष गिरीशले एक दिनका लागि जयपुर पुलिस कमिश्नर बन्ने अवसर पाएका थिए । त्यो समयमा उनको उपचार जयपुरकै सवाई मान सिंह अस्पतालमा चलिरहेको थियो ।
एक दिनका लागि पुलिस कमिश्नर बनेका गिरीश त्यो दिन अफिस पुगे, त्यहाँ तैनाथ सिपाहीहरुले उनलाई सलामी ठोके । गिरीशले त्यहाँका पुलिस कमिश्नर जंग रावको आग्रह स्वीकार गरे र उनको कुर्सीमा बसे । त्यसपछि उनले केही पुलिस थानाहरुको निरीक्षण पनि गर्न भ्याएका थिए ।
हरियाणाका पूर्व गृह राज्यमन्त्री एवं हलोपा प्रमुख गोपाल कांडाले गिरीशको किड्नी ट्रान्सप्लान्ट (मृगौला फेर्नु)को सबै खर्च व्यहोरेका थिए । गुडगाउँस्थित मेदान्त अस्पतालमा मृगौला फेरिएको थियो । गिरीशलाई उनकी आमाले किड्नी दिएकी थिइन् । तर, बाच्न सकेनन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...