काठमाडौं- टेलिया (साबिकको टेलियासोनेरा) कम्पनीले एनसेल सेयर किनबेचको पुँजीगत लाभकर नेपालमा नभएर नर्वेमा तिर्ने जनाएको छ। ठूला करदाता कार्यालयले गत साता जारी गरेको प्रेस विज्ञप्तिको जवाफमा टेलियाले त्यस्तो प्रतिक्रिया दिएको हो। आफ्नो कम्पनी (टेलियासोनेरा नर्वे होल्डिङ नेपाल, टिएसएनएस) नर्वेमा दर्ता भएको भन्दै उसले नेपाल र नर्वेबीच भएको कर सन्धि (डिटिए) लाई आधार बनाएर उतै कर तिर्ने जनाएको हो।
टेलियाले गत बुधबार आफ्नो पुरानो अडान दोहोर्यानउँदै नेपाललाई कर नतिर्ने बताएको हो। 'टेलियासोनेराले एनसेलमा रहेको आफ्नो सेयर विनिवेश गर्दा नेपालमा कर तिर्नु पर्दैन,' उसले विज्ञप्तिमा भनेको छ, 'नेपाली, नर्वेली र अन्य करविज्ञसहितको परामर्शका आधारमा कर नर्वेमा तिर्ने निर्णयमा पुगिएको हो।'
उसले विज्ञप्तिमा नेपाल र नर्वेबीच कर सन्धि भएकोले कर लिने अधिकार नर्वेलाई भएको तर्क गरेको छ। टेलियासोनेराले नर्वेको कर कानुनअनुसार कारोबारको कर नर्वेमै तिर्ने उल्लेख गरेको छ। उसले नेपालमा कर तिर्न नपर्ने भन्दै कारोबार डकुमेन्टलाई आधार बनाएर नर्वेमै उपयुक्त कर तिर्ने जनाएको छ।
एनसेलले ठूला करदाता कार्यालयमा टेलियासोनेराको तर्फबाट भन्दै नौ खर्ब ९६ करोड ९५ लाख ७१ हजार ४० रुपैयाँ राजस्व बुझाएपछि कार्यालयले विज्ञप्तिमार्फत कर तिर्न थप प्रस्ट पारेको थियो।
टेलियासोनेरा र एक्जिएटा ग्रुपबीच सेयर किनबेच भएपछि चैत ३० गते ठूला करदाता कार्यालयले विज्ञप्तिमार्फत एनसेलको सेयर कारोबारमा बिक्रेतालाई भएको लाभमा आयकर ऐन, २०५८ बमोजिम पुँजीगत लाभकर लाग्ने र आयकर ऐनको दफा ९५क बमोजिम सो कर एनसेलले असुल गरी दाखिला गर्नुपर्ने भन्दै कर असुलीतर्फ आवश्यक कारबाही गर्न निर्देशन गरिएको उल्लेख गरेको थियो। सो सम्बन्धमा ठूला करदाता कार्यालयले गत चैत ३० गते टेलियासोनेरा ग्रुपको स्विडेन, स्टकहोमस्थित मुख्यालयलाई एनसेलमार्फत आय विवरण एवं कर दाखिला विषयमा पत्र लेखिएको र सोही मितिमा एनसेलका प्रमुख कार्यकारी अधिकृतलाई र एनसेललाई आयकर ऐन, २०५८ को दफा ९५क अनुसार अग्रिम कर असुल गरी दाखिला गर्न पत्र लेखिएको जनाएको थियो।
कम्पनीका सम्पूर्ण सेयरधनीले उक्त कम्पनीमा रहेको सेयर हित निःसर्ग गरेको भनी जानकारीमा आएको भन्दै आयकर ऐन, २०५८ को दफा ९५(क) को उपदफा २(ख) अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण नभएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा जुन निकायको हित निःसर्ग भएको हो सोही निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको १० प्रतिशत र अन्यको हकमा लाभ रकमको १५ प्रतिशतका दरले अग्रिम कर असुल गरी दाखिला गर्नुपर्ने दायित्व एनसेलको भएको बेहोरा उल्लेख गरी पत्राचार गरेको विज्ञप्तिमा उल्लेख गरेको थियो।
गत पुसमा युरोपको टेलियासोनेराले मलेसियाको एक्जियटालाई एनसेल एक खर्ब ४० अर्ब रुपैयाँमा बिक्री गरेको थियो।


0 comments
प्रतिक्रिया दिनुहोस्...