
प्योङयाङ, २६ वैशाख । शक्तिशाली आणविक हतियारहरु परिक्षण गरेर संसारभर आतंक मच्चाएका उत्तर कोरियाली नेता किम जोङ उनको भर्खरैको एउटा सम्बोधनले सबैलाई चकित पारेको छ ।
यो सम्बोधनमा उनी नम्र र नरम रुपमा प्रस्तुत भएका छन् । सम्बन्ध सुधारका लागि पहल गर्न दक्षिण कोरियासँग आग्रह गर्दै उनले आफूले निशस्त्रीकरणका लागि संसारमा नै प्रयत्न गर्ने धारणा राखेका छन् ।
राजधानी प्योङयाङमा जारी कोरियाको सत्तारुढ दल वर्कस् पार्टी अफ कोरियाको सातौँ कांग्रेसको सम्बोधनका क्रममा उनले यस्तो नरम धारणा राखेका हुन् ।
गएको जुन महिनादेखि कम्तीमा पनि ६ पटकसम्म क्षेप्यास्त्र परीक्षण गरी विवादमा आएको उत्तर कोरियाका नेताले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै भने- ‘एक आणविक राष्ट्रका हैसियतमा उत्तर कोरियाले जिम्मेवार रुपले संसारमा नै निशस्त्रीकरणका लागि प्रयत्न गर्ने नै छ । आणविक अप्रसार सन्धीको पालनका साथै यस सन्धीको इमान्दार प्रयोगमा पनि उत्तर कोरियाले प्रयत्न गर्नेछ ।’
आणविक परीक्षणका कारण निकै विवादमा तानिएको भनिएको कोरियाको उक्त कदमको संसारमा नै विरोध भइरहेको भएपनि उनले पहिलो पटक यस्तो धारणा सार्वजनिक गरेर सबैलाई चकित पारेका हुन् । उनले आफ्नो देशले यस्तो क्षेप्यास्त्र परीक्षणको काम अरु कसैको खतराका लागि गरेको नभई आफ्नो देशका विरुद्धमा हुनसक्ने सार्वभौमसत्ताको हमलाका विरुद्धमा गरिएको पनि स्पष्ट पारे ।
नेता किमले उत्तर कोरियाले आणविक विकास र आर्थिक विकासको काम एकै पटक गरिरहेको बताए । अहिलेको अवस्थामा र क्रान्तिकारी कारणले गर्दा देशमा आर्थिक विकासलाई पनि साथसाथै अघि बढाउन सजिलो नभएपनि गर्नु परेको उनको भनाई छ ।
उनले देशको आर्थिक विकासलाई अघि बढाउन आफ्नो पार्टीले कडा परिश्रम गरिरहेको पनि बताए ।
राष्ट्रिय पुनःएकीकरण पहिलो एजेण्डा
यसैबीच राष्ट्रिय पुनःएकीकरण आफ्नो पार्टीको पहिलो एजेण्डा भएको धारणा राखेका छन् । राष्ट्रिय रुपमा पुनःएकिकरणका लागि बहस चलाउने र त्यसका लागि आवश्यकता बोध गराउने काम आफ्नो पार्टीले गर्ने स्पष्ट गरे ।
यसका लागि दक्षिण कोरियासँगको सम्बन्धमा पनि जोड दिइने बताए । राष्ट्रिय रुपमा एकीकरणको लागि दक्षिण कोरियासँगको सम्बन्ध आधारभूत रुपमा नै बलियोसँग अघि बढाइने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले भने,‘दुवै राष्ट्रले एक अर्काको सम्मान गर्नुपर्छ र वास्तविक रुपमा सम्बन्ध सुधारका लागि एक आपसमा सम्मानका हात फैलाउन पनि सक्नुपर्छ ।’ यसरी आफ्नो सम्बोधनमार्फत दक्षिण कोरियाका लागि सम्बन्ध विस्तार गर्न आह्वान गर्नुलाई सकारात्मक रुपमा नै लिइएको बताइएको छ ।
दक्षिण कोरियालाई मुठभेडको मानसिकता त्याग्न र कानुनी एवम् अरु धेरै किसीमका बाधा ब्यबधानहरुलाई अघि सारेर एकीकरणका निम्ति पर्नसक्ने अप्ठेराहरुलाई विर्सेर व्यवहारिक रुपमा सम्बन्ध सुधारको मार्गमा लाग्न पनि आग्रह गरेका छन् ।
सम्बन्ध सुधारका लागि वार्ता र सहमतिका माध्यमबाट अघि बढ्न सकिएमा यसले आगामी दिनमा सबैका लागि सहज हुने बताए । दुवै देशका सबै तहमा वार्ता र सहमतिको वातावरणले नै दुवैतर्फको समृद्धिमा सहयोग पुग्ने भन्दै नेता किमले सार्थक वार्ताका माध्यमबाट नै सबै पक्ष सहमतिमा पुग्न सकिने बताए । रासस/सिन्ह्वा/एएफपी


0 comments
प्रतिक्रिया दिनुहोस्...