काठमाण्डु, ७ जेठ– विश्व शान्ति केन्द्र (अलान्दी) र महाराष्ट्र इन्स्टिच्यूट अफ टेक्नोलोजी पुने, भारतले काठमाण्डुको तारकेश्वर नगरपालिकामा निर्माण गरेका १२० वटा भुकम्पप्रतिरोधी घरहरु शनिवार स्थानीय भुकम्पपीडितहरुलाई हस्तान्तरण गरिने भएको छ ।
केन्द्रले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो ।
काठमाण्डुको तारकेश्वर नगरपालिका र नेपाल सरकारसँगको समन्वयमा निर्माण गरिएका ती भुकम्प प्रतिरोधी भवनहरु शनिवार विशेष कार्यक्रमका भूकम्प पीडितहरुलाई हस्तान्तरण गरिने जनाइएको छ ।
उपपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख ओनसरी घर्ती मगर, मानव एकता मिसन भारतका संस्थापक अध्यक्ष महायोगी श्री एम र रामजन्म भूमिन्यास भारतका कार्यकारी अध्यक्ष डा. रामविलास बेदान्तीले ती घरहरु हस्तान्तरण गर्नेछन् ।
पत्रकार सम्मेलनमा विश्व शान्ति केन्द्र (आलन्दी) माइर्स एमआइटी पुनेका संस्थापक अध्यक्ष प्रा.डा. विश्वनाथ दा.कराडले नेपाल र भारतबीच दाई–भाईको सम्बन्धमात्रै नभई सांस्कृतिकसहित विभिन्न क्षेत्रमा समान संस्कृति र परम्परा रहेको बताए ।
ती सम्बन्धहरुलाई अझै बलियो र समृद्ध बनाउने उद्देश्यले भूकम्पपीडितहरुको पीडामा थोरै भएपनि मल्हम लगाउन आएको भन्दै आफूहरुले निर्माण गरेका भवन ३० देखि ४० वर्षसम्म चल्ने बताए ।
आफुहरुले प्राकृतिक विपत्तिको समयमा विभिन्न मुलुकहरुमा सहयोग गर्दै आएको उल्लेख गर्दै उनले तरकेश्वर नगरपालिकामा सन्त श्री ज्ञानेश्वर विश्वशान्ति नगरको नाममा ४५, सन्त श्री तुकाराम विश्वशान्ति नगरको नाममा ४२ र भगवान गौतम बुद्ध विश्वशान्ति नगरको नाममा ३३ वटा घर बनाएको जानकारी दिए ।
शौचालय र खानेपानीको व्यवस्थासहितका ती घर निर्माण गर्न दुई करोडभन्दा बढी रकम संस्थाले खर्च गरेको जानकारी दिइएको थियो ।
काठमाडौं टुडेबाट साभार


0 comments
प्रतिक्रिया दिनुहोस्...