-->
वातावरण यसैगरि बन्दै गयो भने सत्ता सेनाले हातमा लिएरै छाड्छ

बिहीबार दिउँसो साढे चारबजे भारत उडेका पूर्वराजा ज्ञानेन्द्र शाह ३६ घण्टा नबित्दै शुक्रबार बेलुका नेपाल फर्किए । सञ्चारमाध्यमहरुमा भारतको निम्तो मान्न उनी त्यता गएको चर्चा छ । पूर्वराजा भारत किन गए, के सल्लाह गरे भन्ने जस्ता कुराहरु अहिले अनुमान गर्न सकिने मात्रै हुन् । एकिन भन्न सकिँदैन । पूर्वराजा तत्काल कुनै गडबड गरेर सत्तामा पुग्ने अभिलाषा राख्छन् भन्ने मलाई लाग्दैन । उनको नियत त्यस्तो छ जस्तो पनि लाग्दैन । तर राजालाई अन्यायपूर्वक दलहरुले हटाएका चाहिँ हुन् । यो सत्य हो ।
जनआन्दोलनमा राजा संयम थिए । सेना संयम थियो । जनताले आन्दोलन गरे, निरंकुश राजतन्त्र चाहिँदैन भने । तर राजा नै चाहिन्न भनेका थिएनन् । मध्यकालदेखिको नेपालको अटुट संस्थाको विषयमा निर्णय गर्ने अधिकार जनतालाई दिइएन । दलहरुले दिएनन् । उनीहरुले प्रजातान्त्रिक अभ्यासलाई वेवास्ता गरे । एउटा जनमत संग्रहसमेत गराउने आँट गरेनन् । यदि हामीले यो तथ्य विचार गर्यौं भने भन्नैपर्छ राजालाई अन्यायपूर्ण तरिकाले हटाइएको थियो । राजाले जुन बेला सत्ता हातमा लिए त्यो बेला पनि उनको मनमा यो मुलुकलाई तहस नहस पारौं, सत्ताको मोजमस्ती गरौं भन्ने थिएन होला ।
मानिसहरुले यस्तो पनि कल्पना गरिरहेका छन् कि यदि यो मुलुकमा यस्तै उथलपुथल भइरह्यो भने सेनाले सत्ता हातमा लिन्छ । सेनाले सत्ता हातमा लिने एउटा अवस्था सिर्जना हुनुपर्छ । त्यसको लागि समय लाग्न सक्छ । तर यो असम्भव कुरा चाहिँ होइन । सेनाको विषय आवश्यकताको सिद्धान्तमा पनि भर पर्छ । आवश्यक भयो, जनतामा दलहरुप्रतिको वितृष्णाले पराकाष्ठा नाध्यो भने त्यो दिन आउन सक्छ । तर यसका लागि राजनीतिक दलहरुले आफ्नो धन्दा कायम राख्नु पर्छ । जसरी अहिले राजनीतिलाई दोकान बनाइएका छ, व्यापार बनाइएको छ, त्यो कायम हुनुपर्छ । जनतामा वितृष्णको हद नाध्नु पर्छ । राजनीति भनेको समाज सेवा, राष्ट्र सेवा हो । तर यहाँ त कमाउने माध्यम बनेको छ । व्यवसाय बनेको छ । यसकारण यो व्यवसायले जति उचाई लिन्छ, सेनाले सत्ता हातमा लिने सम्भावना उति नै बढेर जान्छ ।
भारतले नेपालमा माइक्रो म्यानेजमेन्ट गर्न खोज्छ । नेपालका नेताहरु सबै कुरा भारतले नै गरिदिन्छ भन्ने ठानेर भारतको शरणमा जान्छन् । कहिले श्रीमतीको उपचार, कहिले धर्मकर्म, कहिले आफ्नै उपचार जस्ता वहाना बनाएर नेपालका नेताहरु भारतमा लम्पसार पर्न जान्छन् । यसलाई दरिद्रपन भन्नुपर्छ । भारतले पनि नेपाललाई सानो भाइ ठान्छ, र उसैले भनेअनुसार संविधान जारी होस् भन्ने ठान्छ, उसलै भनेअनुसार सरकार बनोस् भन्ने ठान्छ । भारतले यस्तो ठान्नु पछाडि नेपालका नेताहरु नै कारण हुन् । दोस्रो कारण चाहिँ भारत आफै पनि गुलामी गर्न र गराउन मन पराउने राष्ट्र हो । तर नेपालका नेता र भारतीय संस्थापनले नेपालका जनता राजनीतिक हिसाबले धेरै सचेत भइसकेका छन् भन्ने भुल्ने गर्छन् ।
जनताको चाहना बमोजिम राजनीति गर्ने प्रयास राजनीतिक दलहरुले कहिले गरेनन् । संविधान जारी अघि पनि त जनताले हिन्दु राष्ट्रका पक्षमा सुझाव दिएका थिए । थ्रेस होल्ड राख्नु पर्छ भनेका थिए । प्रत्यक्ष निर्वाचित कार्यकारीभनेका थिए । ती कुनै पनि पूरा भएनन् । जनताले सुझाव विपरीत संविधान लादियो । मधेसीको हकमा पनि त्यही भएको छ । मधेसी आखिर उपेक्षित त हुन् नी । यो सत्य नै हो । उनीहरुको भावनाको सम्मान पनि भएन । यसकारण यो प्रणाली प्रजातन्त्र होइन, यो त नेतातन्त्र मात्रै हो । यसले जनताको होइन नेताको मात्रै पक्षपोषण गर्छ ।
केही मानिसहरुले मुलुक असफल राष्ट्र भइसक्यो भनेका छन् । हुन पनि राज्यको आयले कर्मचारी पाल्न पनि मुस्किल हुन थालेपछि त्यस्तो राष्ट्र कसरी सफल मान्न सकिन्छ र ? राज्यको आय, व्ययका कुरा त नियमित विषय हुन् । हाम्रा नेताले त भूकम्पपीडितका नाममा पनि राजनीति गरिदिए । पुनर्निर्माण प्राधिकरणको सिइयो छनोटमा हानाथाप हुनु भनेको राजनीति नै त हो । पुनर्निर्माण प्राधिकरण गठन हुन पनि लामो महिनौ लाग्यो । त्यो पनि राजनीति नै थियो ।
संविधान त जारी भयो, तर कार्यान्वयन गर्ने अवस्था छैन । तराईमा ३८ प्रतिशत मधेसी मुलका नागरिकहरुको बसोबास छ । उनीहरुले संविधानमा अपनत्व महशुस गर्न सकेनन् भने के अर्थ नयाँ भए पनि पुरानो भए पनि संविधानको । यसकारण मधेसीलाई सरकारले सम्बोधन गर्नुपर्छ । भारतले नेपालमा बेपत्ता नागरिक, सत्य निरुपण तथा मेलमिलाप, समावेशीता आदिका विषयमा कुरा उठाउँने गरेका छ । संयुक्त राष्ट्र संघमा पनि त्यही कुरा भारतले उठाएको छ । भारतमा समावेशी छैन, उसले नेपालका विषयमा यस्तो बोल्ने अधिकार राख्दैन भनेर मात्रै पनि हुँदैन । किनभने भारतमा जे सुकै होस, हामीले चाहीँ हाम्रा सबै नागरिकलाई समान अवसर दिनु पर्छ । सबै जातजाति, भाषा, समुदायको विकास हुने प्रणाली अवलम्वन गर्नुपर्छ । त्यसो गर्न सकियो भने राष्ट्रियता बलियो हुन्छ । संविधानमा सबैले अपनत्व महशुस गर्न सक्छन् ।
(कुराकानीमा आधारित)


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.