जागिर नेपाली सेनामा । तर, उनको लगाव सेनामा मात्र सीमित छैन । सेनाको कडा अनुशासन पालना गर्दै, बँचेखुचेका समय निचोरेर राजनीति शास्त्रमा विद्यावारिधिसम्म गर्न भ्याएका छन् । कलामा उस्तै लगाव छ । कहिले गीतको एल्वम निकाल्छन्, कहिले म्युजिक भिडियो निर्देशन गर्छन् त कहिले लेख रचना, गीत, कविता लेख्छन् । कहिले चित्र कोरेर आर्ट ग्यालरीमा टाँस्छन् त कहिल नेपाल बाहिर विदेशमा आफ्नो लोक कला तथा संस्कृति साथै नृत्य प्रस्तुतिका विभिन्न स्टेज तथा जमघटमा गर्दछन् । किनकी उनको दिलमा सधैँ एउटै कुराले राज गरिरहेको हुन्छ, ‘मेहनत’, ‘मेहनत’ र ‘मेहनत’ साथमा इमान्दारिता ।
लमजुङ परेवाडाँडाको प्रडक्ट हुन्, डा. आशबहादुर तामाङ (बि.सं.२०२४ माघ १८) । २०४२ सालमा भबिष्यको खोजी गर्दै राजधानी छिरेका तामाङ अहिले सेनाको कर्णेलसम्म पुगेका छन् । आमाले गोरु बेचेर पठाइदिएको पैसाले चिरिएको पुरानो कुपन्डोल, ललितपुरको घरमा डेरा बसेर उनले मेहनत गरे । एक सुकामा पाईने एक मुठो सागलाई दुई छाक बनाएर खाए । अनि ल क्याम्पसमा भर्ना भए । निरन्तर पढाईलाई माया गरे । निरन्तर संघर्ष गरे । संघर्षबाट कहिल्यै नथाक्ने नाम हो, आशबहादुर तामाङ ।
धेरै छोरीपछि जन्मिएका एउटा छोराप्रति पक्कै पनि आशा हुने भयो । बाबा चन्द्रबहादुर तामाङले ठूलो आशाको साथ उनको नाम राखिए ‘आशबहादुर’ । चन्द्रबहादुरको पुर्खौली सम्पत्ति पनि केही थिएन । डा. तामाङ भन्छन्, ‘बुवाले मेरो पुर्खौली सम्पत्ति यही हो बाबुु भन्दै एउटा कचौरा देखाउनुहुन्थ्यो । दुखजेलो निभेक गरेर मलाई पढाउनुभयो, मेहेनत र इमान्दारीको पाठ सिकाउनु भयो । त्यसैले मेरो लागि साक्षात भगवान बुवाआमा मान्दछु ।’ पुर्खौली सम्पत्ति नभए पनि उनको बाबा त्यतिबेलाका कहलिएका धुरन्धर गायक थिए । गोर्खा, तनहुँ, लमजुङ लगायतको ठाउँमा उनको नाम सर्वत्र थियो । आमाको स्वर पनि उस्तै तिखो थियो । तामाङ आफ्नो बुबाको सम्झनामा हराउँछन्, ‘०४४ सालदेखि लोक भजन गाउन थाल्नुभयो, पुजामा मेरो बाबा पक्का आउनु भएपछि मात्र पण्डितलाई बोलाइन्थ्यो ।’
बच्पनमा पनि हुने विरुवाको चिल्लो पात जस्तै थिए, तामाङ । माबि पढ्नका लागि एक घण्टाको बाटो छिचोरेर पुग्नुपर्दथ्यो । तर, कुनै दिन स्कुल बिराएनन् । घण्टिलाग्नु अगाबै पुगे । विद्यालय जीवनमा फर्कन्छन्, ‘विहानभर काम गरेर स्कुल जान्थेँ । कहिले खान ढिला हुन्थ्यो, अनि भोकै पुग्थेँ ।’ कति दिन उनको वुवाआमाले स्कुलमै कहिले भात कहिले पुवा बोकेर पुगेका थिए टिफिन टाइममा खुवाउनको लागि । तामाङ भन्छन्,‘धेरै पटक हापछुट्टीमा खाना खाएको छुँ ।’
भनिन्छ, सिपाही हुनका लागि कठोर हृदय चाहिन्छ । तर, डा. आशबहादुरको हकमा यो लागू हुँदैन् । बन्दुक बोक्नेहरुको पनि भाबुक हृदय हुन्छ भन्ने उदाहरण हुन उनी । आशबहादुर भन्छन् –‘एउटा हातले बन्दुक र अर्को हातले कलम चलाउन सम्भव छ’, उनी नेपाली सेनाका महासेनानी हुन् तर, घमण्डको कुनै राग देखिन्दैन् । उनको जीवनकै मुलमन्त्र हो, कर्मलाई पूजा र ‘सादा एवं सन्तुलित जीवन ।’
पढाईको अलवा तामाङले कविता, निवन्ध लेख्थे र भानु जयन्ती लगायत स्कुलका विभिन्न कार्यक्रममा पाठ गर्थे । भन्छन्, ‘स्कुल छँदा कविता, निबन्ध र चित्रकलामा पहिलो भएर धेरै पुरस्कार थापेको छु ।’ उनी चित्र कोर्न पनि सिपालु थिए । थप्छन्, ‘८ कक्षा पढ्दा कोरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको चित्र अहिले पनि स्कुलमै टाँसेर राखिएको रहेछ र त्यसमा लेखिराखेको छ मानिस ठूलो दिलले हुन्छ जातले हुदैन ।’
एउटा दुःखद घटना । जसले उनलाई सँधै झस्काइरहन्छ । तामाङ स्मरणमा हराउँछन्, ‘सात,आठ वर्षको थिएँ । घर नजिकैको लाहुरकाटे दहमा पौडी खेल्न गएको थिएँ । चोरले लाहुरेलाई काटेर मारेकाले त्यसलाई लाहुरकाटे भनिएको किवदन्ती थियो । दह निकै गहिरो थियो । मसँग गाउँनै उल्टिएर नाउदी खोलामा माछा मार्ने क्रममा बहबिष हाल्न गएको थियौं, केही गाउँलेहरु पौडी खेल्दै थिए, पौडदै थिएँ, खुट्टा गाडिएजस्तो आभास भयो । अरु केही थाहा पाइन । ठूला कान्छा दाइ मलाई छोडेर बाहिर निस्कनु भएछ र म चाँहि डुबेछु ।’ तामाङ रोकिँदैनन्, ‘त्यहीबेला भारतिय लाहुरे गोपीचन्द्र अधिकारी माछा मार्न आउनु भएको रहेछ । उहाँले माछाको लागि दहमा नाउगुडी हाल्नु भएछ । मैले त्यसलाई समाएछु । उहाँले तर्सिएर तान्दा म बाँचेछु ।’ पछि तामाङको बाबाआमाले भने, ‘बाबु तँलाई केही भैदिएको भए, हामी कहाँ जान्थ्यौँ थाहा छैन ।’
तामाङले लमजुङको कुन्छास्थित श्री शान्ति माध्यमिक विद्यालय (हाल उच्च मा.वि.) बाट फस्ट डिभिजन ल्याएर २०४१ सालको एसएलसी पास गरे । फस्ट डिभिजनमा एसएलसी पास गर्ने लमजुङ जिल्लाका तीन जना मध्येका एक थिए तामाङ ।
तर, एसएलसीको रिजल्ट आउनुभन्दा चार दिन पहिले उनको बाबा संसारबाट बिदा भए । एसएलसी पासको खुशीयालीमा रमाउने बेला उनी बरखी बारदै थिए । तामाङले आफ्नो त्यो सफलता बाबालाई पनि देखाउन पाएनन् । सम्झन्छन्, ‘साथीहरु पास भएको हर्षउल्लास मनाइरहेका थिए, म भने किरियापुत्री बसेर बाबाको सम्झनामा कविता लेख्दै थिएँ ।’
तामाङको बाबाले सकेजति पढ्ने बातावरण मिलाइदिए । सधैँ सम्झाउने गर्थे, ‘जाँडरक्सी, चुरोट खानु हुँदैन ।’ अहिले पनि तामाङ यी सबै लतबाट टाढा छन् ।
उनी ७ कक्षादेखि एसएलसीसम्म कहिल्यै सेकण्ड भएनन् र पढाईमा सँधै अबल रहे । स्कुल पढ्न फी तिर्नुपथ्र्यौ । उनलाई त्यो पनि तिर्न परेन, इमान्दार, छात्रबृत्तिमै पढे । नौ कक्षामा पढेर, नौ कक्षालाई नै कहिलेकाँही हिसाब पढाउँथे । तामाङ खुल्छन्, ‘त्यतिबेला ट्युसन कोचिङ, गेसपेपर भन्ने त थाहा पनि थिएन, कक्षा शुरु भएको ६ महिनासम्म किताब खोज्दै हिड्थ्यौँ ।’
एसएलसी पासपछि उच्च शिक्षाको लागि २०४२ मा काठमाडौं आए । पहिलोपटक उनको आँखाले मोटरबाटो र गाडि देखेको थियो । उनको धोको त साइन्स पढ्ने थियो । तर, उनको रहरलाई पैसाले बाटो छेक्यो । अनि ल क्याम्पसमा कानून पढ्न थाले ।
कुपण्डोलको एउटा चिरिएको घरमा डेरा बस्थे । एउटा कोठामा तीन जना साथीसँग । जहिल्यै भूँचालोको डरले थर्कमान थिए, उनीहरु । तर, पनि रात काट्न र जीवन धान्न ७५ रुपैँयाकै डेरा पाउनु पनि धन्य थियो । सम्झन्छन्, ‘एक सुकामा एक मुठा साग आउँथ्यो । त्यसैमा पानी हालेर बिहान बेलुकी तिउनको गुजारा चल्दथ्यो ।’
आमाले हलगोरु बेचेर पठाइदिएको पैसा पनि सक्कियो । अब के गर्ने ? उनी छाक टार्न जागिरको खोजीमा लागे । लोकसेवाको परिक्षा दिए र सजिलै पास पनि भए । जागिरको साथसाथै पढाईलाई निरन्तरता समेत दिए ।
सेनाको सेकेण्ड लप्टनमा जागिर खुलेपछि उनी पनि त्यसैको तयारीमा कस्सिए । कानुनमा प्रविणता प्रमाणपत्र तह पास गरिसकेपछि उनको सेकेण्ड लेफ्टेनमा बाटो खुलिसकेको थियो । त्यसमा पनि उनले पहिलो पटकमै नाम निकाले । गाउँमा उकालीओराली गरेकैले उनको फिजिकल पनि पुग्यो । नेपाली सैनिकमा उनले २७ बर्ष व्यतित गरिसकेका छन् ।
सैनिकमा कार्यरत हुँदा पनि आफ्नो सिर्जनशिलतालाई कहिल्यै मारेनन् । न त पढाईलाई नै बेवास्ता गरे । चारपटकसम्म फर्म भर्दा पनि उनले विभिन्न व्यस्तताले गर्दा बिएलको परिक्षा दिन पाएका थिएनन् । आखिर नयाँ कोर्सबाट उनले बीएल पास गरि छाडे । अनि, पोलिटिकल साइन्समा डिग्री र विद्यावारिधि सके । विद्यावारिधि गरेकै बर्ष साइकोलोजी काउन्सेलिङ्गमा पोष्ट ग्रयाजुयेट डिप्लोमा गरे । यसैबीचमा फाइन आर्ट साहित्य तथा संगित सम्बन्धी समेत स्वअध्ययन गरी समय सापेक्ष विभिन्न कृतिहरु पस्किँंदै गए । एक छोरा र एक छोरीका पिता रहेका तामाङ भन्छन्, “चौबिसै घण्टा ड्युटी हुन्छ । तर, रमाइलो गर्ने समय र निद्रा काटेर पढ्ने इच्छा पूरा गरें, अध्ययनमै रमाएँ ।”
नेपाली सैनिकभित्र आफूले गरेका सृजनात्मक कामले तामाङलाई गर्वको अनुभूति गराउँछ । उनले धेरैपटक भिभिआइपीहरुसमक्ष आफ्नै संयोजनमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका पनि छन् । विदेशमा हुँदा अन्तरराष्ट्रिय रंगमञ्चमा उनले आफ्नै निर्देशनमा नृत्य प्रस्तुत गरेका थिए । जहाँ विभिन्न देशका भिभिआइपीको उपस्थिति थियो ।
उनीसँग आफैले कोरेका दर्जनौ चित्रका ठेली छन् । २०५५ मा सिद्धार्थ आर्ट ग्यालरीमा आर्ट प्रदर्शनी नै गरे । तामाङ भन्छन्, ‘अलि अलि वाटर, आयल कलर, चारकोल, पेन्सिल कलर सबै चलाउँछु ।’
तामाङले ५८ सालमा ‘धन’ एल्वम ल्याएका थिए । त्यो पनि ७२ वर्षिय आमा धनमाया तामाङको स्वरको साथमा । उनी चाहन्थे, ‘आमा मरेर गए पनि स्वर बाँचिरहोस् ।’ ठाडो भाका, दाँइको गीत, भजन, तीज गीत, झ्याउरे लगाएतका आठ गीतले सजिएको थियो, ‘धन’ । तामाङले नेपालमा नै पहिलोपटक ठाडो भाका, ढिलो भाका र दाँइको गीतलाई रेकर्ड गराए । पछि म्युजिक भिडियो पनि निर्माण गरे । सो एल्वमले ५१ हजार राशीको मधुरिमा फुलकुमारी महतो पुरस्कारसमेत पाउने हैसियत बनायो र उक्त रकम नेपालको लोकउन्मुख लोक संस्कृतिको जर्गेनामा खर्चेका छन् । आमाको देहवशान लगत्तै तामाङले आफ्नी आमाको आत्मकथा “धन” पनि प्रकाशन गरेका छन् ।
अहिले पनि उनको कलम रोकिएका छैन । भूकम्पको पीडाले उनलाई निद्रा पर्न दिएन । रातको १२ बजे उठेर दुई गीत र, दुई कविता लेखे । कविता पत्रिकामा प्रकाशन भयो । गीत भने हालका लोकप्रिय गायकहरु स्वरुपराज र रामकृष्ण ढकालले गाएका छन् । जसको म्युजिक भिडियो तामाङ स्वयंले निर्देशन गरेका छन्, संगीत अमुल कार्की ढली र किरण कंडेलले दिएका छन् । सोही “हाम्रो साहस…..” गीत यस वर्र्ष म्युजिक खबर डटकमले आयोजना गरेको सांगितिक प्रतियोगितामा सर्वोत्कृष्ट भूकम्प गीत हुन सफल भयो । उनी भन्छन्, ‘कर्तव्य र सृजना कहिल्यै मर्दैन । र, मार्नु पनि हुँदैन ।’ थप्छन्, ‘एउटा हातले बन्दुक र अर्को हातले कलम चलाउन पनि सकिन्छ ।’ तामाङले चौकी भन्सार, क्याम्प फायर लगायतका एल्वम सार्वजनिक गरेका छन् भने, उनकै शव्दमा चार दर्जनभन्दा बढी गीत रेकर्ड भईसकेका छन् ।
तामाङ अप्ठ्याराका खुट्कीला त धेरै उक्लीसके । तर, एउटा अविस्मरणिय अनुभव दैनिक नेपालसँग साट्छन्, ‘द्वन्द्वको बेला बिकट जिल्लामा ड्युटीमा जानुपर्ने थियो । आमा सिकिस्त बिरामी भई अस्पताल भएपनि जिम्मेवारी निर्वाह गर्न गएँ । ड्युटीमै आमालाई सम्झेर धेरै आँशु बगाएँ । भावुक हुँदै भन्छन्, “म फर्कदा आमा बोल्न नसक्ने भैसक्नुभएको थियो । तीन दिनपछि उहाँ पनि रहनुभएन । भेण्टिलेटरले गर्दा मात्र उनले आमालाई जीवित देख्न पाए । कहिलेकाँही जन्म दिने आमालाई भन्दा कर्म दिने आमा अर्थात देशप्रतिको जिम्मेवारी निर्वाह गर्न पर्ने कुरामा जोड दिन्छन् जसबाट जन्म दिने आमाको समेत सम्मान हुन जान्छ ।
डा. तामाङले नेपालका दुई पूर्वराजा र दुई पूर्व प्रधानमन्त्रीको सुरक्षा गार्डको रुपमा काम गरिसकेका छन् । जुन इतिहासमा बिरलै भेटिने गर्छ । नेपालको चौध अञ्चल चहारिसकेका तामाङ विश्वका १५ भन्दा बढी देश पुगिसकेका छन् । कंगोमा हुँदा नेपाललाई सम्झेर कविता कोरेको याद उनीमा अझै ताजा छ, ‘नसोच्नु है कहिल्यै माया मारेछ….. ।’ उनी अमेरिका, इटली, हंगेरी, टर्की, सर्वीया, कंगो, केन्या, जापान, थाइल्याण्ड, मालदिभ्स, भारतका विभिन्न स्थानमा पुगेका छन् । स्वदेश तथा विदेशबाट दर्जनौँ पुरस्कार र १३ वटा मेडल पाइसकेका छन् ।
डा. तामाङले जीवनलाई हांसीखुसी, मौका र चुनौतीको रुपमा लिनु पर्ने बताउँछन् । जीवनले उनलाई इमान्दारी, कर्तव्यनिष्ठ, बफादारी, जिम्मेवारी हुन सिकाएको छ । त्यसैले त तामाङ भन्छन्, ‘सक्छौ भने अरुको उपकार गरौँ, सक्दैनौँ भने अपकार नगरौं । सन्तुलित जीवन आत्मसन्तुष्टि र आत्मसम्मानसहित बिताउँ ।’ तामाङ समुदायबाट पीएचडी गर्ने र नेपाली समुदायको उच्च ओहोदामा पुग्ने विरलैमध्ये एक हुन् डा. आशबहादुर ।
भनिन्छ, सिपाही हुनका लागि कठोर हृदय चाहिन्छ । तर, डा. आशबहादुरको हकमा यो लागू हुँदैन् । बन्दुक बोक्नेहरुको पनि भाबुक हृदय हुन्छ भन्ने उदाहरण हुन उनी । त्यसैले त उनले भूकम्पपछि अरुको दुःख देखेर नयाँ गीत ल्याएका थिए, ‘म सिपाहीको पनि तिम्रो जस्तै मन छ, रातै रगत बग्ने, कहिल्यै नथाक्ने तन छ ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...